काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सोमबार अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ ।
बिसब्रेन क्रिकेट मैदानमा अस्ट्रेलियाले १७९ रनको योगफल खडा गरेको थियो । १८० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।
आयरल्यान्डलाई कम योगफलमै रोक्न अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कुमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । मार्कुस स्टोइनिसको नाममा एक विकेट रह्यो ।
आयरल्यान्डका लोर्कान टकरले अविजित ७१ रन बनाएपनि टिमलाई जितसम्म डोहोर्याउन सकेनन् । उनले ४८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । ग्यारेथ डेलनीले १४ रन बनाउँदा ओपनर पाउल स्टर्लिङ र मार्क अडाइरले समान ११ रन जोडे ।
यअसघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो ।
अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ६३ रन बनाएका थिए । उनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले ३५, मिचेल मार्सले २८ र ग्लेन म्याक्सवेलले १३ रन बनाउँदा टिम डेविड १५ रनमा अविजित थिए ।
आयरल्यान्डका बेरी म्याककेर्थीले तीन र जस लिटिलले दुई विकेट लिएका थिए ।
जितसँगै चार खेलबाट पाँच अंक जोडेको अस्ट्रेलिया सुपर–१२ समूह–१ दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक जोडेको आयरल्यान्ड चौथो स्थानमा छ । ६ टिम रहेको समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।