काठमाडौं । लजको कोठाभित्र गोप्य भिडियो बनाउने क्याफे म्यानेजर पक्राउ परेका छन् । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा ती व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का ४२ वर्षीय मुकेश माली रहेका छन् । उनी बाँसबारीस्थित बाँसबारी रेष्ट्रो एन्ड क्याफेको म्यानेजर हुन् ।
क्याफे एण्ड लजका म्यानेजर मालीले लजमा बस्न आउने पाहुनाहरुको अश्लिल भिडियो रेकर्ड गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले अश्लिल भिडियो खिच्ने मालीको आइफोन मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका मालीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।