लन्डन । असफल कर–कटौती बजेटका कारण बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहिबार पदबाट राजीनामा दिएकी छन् । उनले ल्याएको बजेटले बेलायतको वित्तीय बजारमा तहल्का मच्चाएको थियो ।
त्यसपछि उनको आफ्नै कन्जरभेटिभ पार्टीबाट उनको कडा आलोचना भएको थियो । पार्टीको आन्तरिक विद्रोहलाई थेग्न सकिने नदेपछि उनले पदबाट पार्टीको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी हुन् ।
बिहीबार साँझ डाउनिङ स्ट्रिट बाहिर ट्रसले एक विज्ञप्तिमार्फत भनेकी छन्, "हामीले कम कर र उच्च आर्थिक वृद्धिका लागि परिकल्पना तय गरेका थियौँ । यसले ब्रेक्जिटको स्वतन्त्रताको फाइदा उठाउन सकिन्थ्यो । तर यस सम्बन्धमा मैले आफूलाई निर्वाचित गर्ने कन्जरभेटिभ पार्टीबाटै म्यान्डेट जुटाउन सकिन । त्यसकारण मैले बेलायतका राजासमक्ष कन्जरभेटिभ पार्टीको अध्यक्ष पदबाट राजीनामा दिन लागेको घोषणा गरेकी छु ।"
अब पार्टीले आगामी एक साता भित्रै नयाँ नेतृत्वका लागि चुनाव सम्पन्न गराउने छ । सामान्यतया यस्तो चुनावका लागि दुई महिना लामो समय सीमा दिइने गरिन्थ्यो ।
ट्रसले ४५ दिनसम्म मात्र आफ्नो कार्यालय सम्हाल्न पाएकी छन् । बेलायती महारानी एलिबेवेथ द्वितीयाको निधनको कारण सरकारी कामकाज ठप्प हुन पुगेको थियो ।
१९२२ समितिका अध्यक्ष सर ग्राहम ब्राडीसँगको छलफलपछि प्रधानमन्त्री ट्रसले राजीनामा दिएकी हुन् । १९२२ समितिले कन्जरभेटिभ पार्टीले कसरी नयाँ नेता छनौट गर्ने भन्नेबारे नियमहरू तयार गर्छ । साथै यस समितिले प्रधानमन्त्रीप्रति पार्टीको विश्वास छ वा छैन भन्ने पनि यकिन गर्ने गर्छ ।
वर्तमान नियम अनुसार ट्रसको प्रधानमन्त्री कार्यकालको पहिलो १२ महिनासम्म उनलाई औपचारिक रूपमा चुनौती दिन सकिन्न । यद्यपि कार्यकारिणी निकाय १९२२ समितिले यो अवस्थालाई परिवर्तन गर्न सक्ने प्रावधान रहेको छ ।
त्यसअघि बेलायतको एकजना वरिष्ठ कन्जरभेटिभ विधायकले प्रधानमन्त्री लिज ट्रसको पदीय स्थिति नाजुक रहेको अभिव्यक्ति दिएकी थिइन् । प्रभाबशाली १९२२ समितिका कार्यकारिणी सदस्य मिरियम केट्सले ट्रसको पद जोगिन असम्भवै नभए पनि परिस्थति भने कठिन रहेको बताएकी थिइन् ।
हुन त एक दर्जन भन्दा टोरी विधायकले खुल्लै रूपमा ट्रसलाई पदबाट राजीनामा दिन आह्वान गरेका थिए ।
बीबीसी रेडियो फोज वर्ल्डसँग कुराकानी गर्दै केट्सले भनेकी थिइन्, "मेरो विचारमा अहिले प्रधानमन्त्री ट्रसको स्थिति कमजोर रहेको छ । साथै उनीप्रति विधायकहरूको विश्वास गुमेको जस्तो पनि देखिछ । स्थिति कसरी सामान्य स्वरूपमा फर्किन्छ भन्न सक्तिनँ ।"
यसअघि यातायात मन्त्री एन्ने–म्यारी ट्रेभेल्यानले समेत अझैपनि मन्त्रीमन्डलको उनीप्रति विश्वास रहेको बताएकी थिइन् ।
तर ट्रसले आफ्नो पद जोगाउन संघर्ष गरिरहने देखिन्थ्यो । ब्राडीसँगको ट्रसको बैठक सुरुहुनु अघि डाउनिङ स्ट्रिटका प्रवक्ताले उनले पदमा टिकिरहन चाहेको जानकारी दिएका थिए ।
उनले आफ्नो वरिष्ठ सहयोगी ज्यासन स्टेनलाई पनि निलम्बन गरेकी थिइन् । स्टेनविरुद्ध अहिले सञ्चार माध्यमसमक्ष सूचना चुहाएको आरोपमा छानबिन भइरहेको छ ।
यसैगरी तथ्यांक चुहावट र ट्रसको आप्रवास नीतिलाई लिएर गृहमन्त्री सुएल्ला ब्रेभम्यानले पनि राजीनामा दिएकी थिइन् । आफ्नो राजीनामा पत्रमा उनले ट्रसको नेतृत्वमाथि नै आक्रमण गरेकी थिइन् । ट्रस र ब्राडीबीच वार्ता चलिरहेका बेला ट्रससँग खुला रूपमा राजीनामा माग्ने विधायकको सङ्ख्या १७ पुगेको थियो ।
यसैगरी बिहीबार ब्राडीलाई आफूहरूको ट्रसप्रति विश्वास नरहेको भन्दै लिखित रूपमा जानकारी दिने विधायकको सङ्ख्या एक सय नाघेको बताइएको छ ।
यस अप्रत्यासित राजनीतिक घटनाका लगत्तै पाउन्डको मूल्य एक अमेरिकी डलरको तुलनामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भई एक पाउन्ड बराबर १ दशमलब १२७३ डलरमा कारोबार भएको छ ।
यसैबीच बिहीबार अपराह्न विपक्षी पार्टीहरू लेबर, दि स्कटिस नेसनल पार्टी र लिबरल डेमोक्रेट्सले तत्काल आम निर्वाचनका लागि आग्रह गरेका छन् । लेबर नेता केइर स्टार्मरले कन्जरभेटिभ पार्टीले अब आफूसँग सरकार चलाउने वैधानिकता नरहेको देखाएको टिप्पणी गरेका छन् ।
गत २३ सेप्टेम्बरमा ट्रसका अर्थमन्त्री क्वासी क्वार्टेंगले स्व–घोषित 'मिनी बजेट' घोषणा गरेदेखि नै बेलायतको राजनीतिक वृत्तमा विचलन सुरु भएको हो । यस कर कटौती बजेटले बेलायतको बोन्ड बजारलाई हलचल गरेको थियो । यद्यपि तीन सातापछि दोस्रो अर्थमन्त्री जेरेमी हन्टले अधिकांश अर्थनीतिलाई पुरानै स्वरूपमा फर्काएका थिए ।
गत ७ जुलाईमा प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस रिसी सुनाकलाई पराजित गरेर कन्जरभेटिभ पार्टीका अध्यक्ष बनेकी थिइन् ।
सुनाक अहिले ट्रसको स्थान लिन सक्ने लोकप्रिय नेताहरूमध्ये एक बनेका छन् । हुन त यसका लागि अन्य सम्भावित व्यक्तित्वहरूमा पेन्नी मोर्डाउन्ट, रक्षामन्त्री बेन वाल्लेस र पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पनि रहेका छन् ।
ट्रसको राजीनामाको कारण आगामी ३१ अक्टोबरमा बजेट अद्यावधिकका लागि कन्जरभेटिभहरूबाट अपेक्षित पहल अनिश्चित देखिएको छ ।
तर ट्रसले भनेकी छन्, "नेतृत्व हस्तान्तरणले हामी हाम्रो वित्तीय योजनाहरू प्रदान गर्ने पथमा रहने सुनिश्चत गर्नेछ ।"
नैतिकताका आधारमा भन्दा पनि उनले पार्टीभित्रको व्यापक दबाबका कारण राजीनामा दिएको देखिन्छ ।
युरोप पोलिटिक्सबाट ।