काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहमा भन्दा गठबन्धन थप बलियो बनेको बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले विगतमा पर्याप्त तयारी नहुँदा फरक विचारका भन्दै गठबन्धनमा आउनुपर्ने जति भोट नआएको तर अहिले गठबन्धनको स्वीकार्यता बढेको बताए ।
“निर्वाचनको संघारमा छौँ । उमेदवार तयार छन् । अभियानमा जान साथीहरू तयार हुनुहुन्छ, गृहकार्य भइरहेको छ । गत साल निर्माण भएको सरकारले देशलाई अर्डरमा ल्याएको छ, विदेश नितिमा सन्तुलन कायम गरेको छ र जनताको विषय प्राथमिकतामा छ,” महतले भने, “संविधान मिच्ने शासन सत्ता चलेको थियो त्यसलाई छोडेर सम्पूर्ण नागरिकहरूको अधिकार, स्थानीय तहको निर्वाचन स्वतन्त्र र भयरहित ढंगबाट सम्पन्न भयो मंसिर ४ मा पनि यही अनुसार जानेछौँ । छोटो समयमा यो सम्भव थिएन फरक विचारधाराका गठबन्धन थियो । तर शेरबहादुर देउवाको नेतृत्वमा सम्भव भयो, गठबन्धनको स्वीकार्यता बढेको छ ।”
उनले यी सबै कारण गठबन्धनको भोट उत्साहजनक आउने दाबी गरे ।
उनले कांग्रेस उदार भएर जसपालाई साथ राखेपनि अहिले छोडेर एमालेसँग गएको भन्दै त्यसले गठबन्धनलाई खास असर नगर्ने बताए ।
“पहिले जसपा हामीसँग थियो, हामी उदार भएका हौँ । अहिले गठबन्धन छोडेर गएको छ, उहाँको स्वतन्त्रता हो,” महतले भने, “नेपाली जनताले मूल्यांकन गर्नेछन् । अहिले लोसपा हामीकहाँ गठबन्धन गर्न आएको छ ।”
उनले गठबन्धनका कारण थुप्रै योग्य नेताहरूलाई टिकट दिन नसकेको भन्दै लोकतन्त्र संस्थागत गर्न एकपटकका लागि त्यस्तो गर्नुपरेको बताए । “योग्य साथीहरू कतिपयलाई टिकट दिन सकिएन गठबन्धनका कारणले तर, लोकतन्त्र संस्थागत गर्न र संविधान बचाउन तथा त्यसको कार्यान्वयन गराउन हामी लागि परेका छौँ,” महतले भने, “सबै ठाउँमा उमेदवार नहुँदा मतदाता उमेदवार नभएको ठाउँमा हामी कार्यकरता परिचालन गर्छौं । गठबन्धनको कारण परिस्थिति त्यस्तै बन्यो ।”
उनले धेरै सिटमा उमेदवार उठाउने भन्दा धेरै ठाउँमा जित्ने लक्ष्य राखेको भन्दै व्यक्तिगत आकांक्षा पन्छाएर लाग्न कार्यकर्तालाई आह्वान गरे ।