पोखरा । फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको स्थगित भएको महिलातर्फको ४० किलो तौल समूहको स्वर्ण पदक आयोजक प्रदेश गण्डकीकी पुष्पा कुवँरले जितेकी छन् ।
शनिबार खेलका दौरान भएको विवाद आइतबार साँझ समाधान भएपछि फाइनल खेल खेलाउँदै उक्त स्पर्धाको स्वर्ण पदकको टुङ्गो लगाइएकाे हो ।
पोखराको रंगशालामा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीको चुनौतीलाई पाखा लगाउँदै गण्डकी प्रदेशकी पुष्पा कुवँरले स्वर्ण जितेकी हुन् । पार्कीले रजत पदकमै चित्त बुझाइन् ।
४० किलो तौलसमूहको फाइनल खेल भएसँगै फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको सबै स्पर्धा सम्पन्न हुँदा आयोजक गण्डकी प्रदेश ४ स्वर्ण, २ रजत र ३ कास्यसहित प्रथम स्थानमा उक्लिएकाे छ भने आर्मी दोस्रो स्थानमा झरेको छ । आर्मीले ३ स्वर्ण ४ रजत र १ कास्यसहित ८ पदक जितेको थियो ।
३ स्वर्ण १ रजत र ४ कास्यसहित वाग्मती तेस्रोमै सीमित रह्यो । प्रतियोगितामा नेपाल प्रहरी र मधेस प्रदेशले समान १/१ स्वर्ण पदक हात पारेका थिए ।
फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा ७ वटै प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टोलीका कुल १ सय ३२ महिला/पुरुष खेलाडीहरूले ४८ पदकका लागि प्रतिस्पर्धा गरेका फुलकन्ट्याक्ट कराँतेका प्रमुख प्रशिक्षक एवं फुलकन्ट्याक्ट कराँते प्रतियोगिताका संयोजक प्रेमनाथ श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए ।