काठमाडौं । उमेरले ९० वर्ष नाघिसक्दा पनि उनी लमकलमक लम्किन्थे, गन्तव्यतिर । ललितपुर क्षेत्रमा हुने गरेका प्रायः साहित्यिक, सांस्कृतिक कार्यक्रममा उनी हिँडेरै कार्यक्रमस्थलसम्म पुग्थे ।
नौ दशककोे उमेरमा पनि पैदलै लम्किएर ललितपुरदेखि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानसम्म पुग्थे । उनै साहित्यिक, सांस्कृतिक विषयका ज्ञाता, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी अब हामीमाझ रहेनन् ।
१०३ वर्षको उमेरमा आइतबार बिहान उनको स्वर्गारोहण भयो । उनी केही समययता अस्वस्थ थिए । जोशीमा पछिल्लो समय डेंगी संक्रमण भएको थियो ।
एक वर्षअघिसम्म पनि उनी कार्यक्रमहरूमा आफैँ उपस्थित भएर साहित्यकारहरूलाई हौसला प्रदान गर्थे । केही महिनायता भने स्वास्थ्य अवस्थाका कारण कार्यक्रमहरूमा कमै उपस्थित हुन थालेका थिए ।
सो समयमा शताब्दी पुरुषकै हातबाट उद्घाटन वा विमोचन गराउनुपरे उनको निवासस्थानमा रहेको सांस्कृतिक भवन र घर परिसरमै कार्यक्रमको आयोजन गर्ने गरिएको थियो ।
जोशीले नेपाली साहित्य र संस्कृतिका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । वि.सं. २०१३ सालमा उनको कृति ‘लोक संस्कृति’ले पहिलोपटक मदन पुरस्कार पाएको थियो । ‘नेपाल राष्ट्रिय मुद्रा’का लागि उनले ०१७ सालमा दोस्रोपटक मदन पुरस्कार पाए । ०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ पुस्तकमार्फत उनले तेस्रोपटक मदन पुरस्कार प्राप्त गरेका थिए । तीनपटक यो पुरस्कार प्राप्त गर्ने उनी एक्लो व्यक्ति हुन् ।
संस्कृतिबाहेक उनका अरू पनि थुप्रै कृतिहरू प्रकाशित छन् । जोशीका नाट्यकृतिहरू प्रकाशित छन् । केही कथासंग्रह समेत प्रकाशित छन् ।
पुरातत्त्व विभागको पहिलो निर्देशकका रूपमा कार्यभार सम्हालेका जोशीले नियात्रा विधामा पनि कलम चलाएका छन् ।
माता राजकुमारी र पिता शंकरराज जोशीका ज्येष्ठ सुपुत्र सत्यमोहनको जन्म वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो ।
१०० वर्षको उमेरमा पनि उनको साहित्य र संस्कृतिप्रतिको उत्साह उत्तिकै लोभलाग्दो थियो । देहत्याग गर्नुभन्दा केही साताअघिसम्म समेत उनले साहित्यकारहरूलाई प्रत्यक्ष रूपमा प्रेरणा दिँदै आएका थिए ।
करिब महिना दिनअघि अभिव्यक्ति द्वैमासिक पत्रिकाको निमन्त्रणामा बंगलादेशबाट नेपाल भ्रमणमा आएका सर्जकहरूसँग भेटघाट गरेका थिए । त्यसक्रममा उनले सर्जकहरूसँग कुराकानी र बंगलादेशको साहित्यका विषयमा आफ्ना भनाइ राखेका थिए ।
थुप्रै पुरस्कार तथा प्रसिद्ध पदकहरूबाट सम्मानित जोशीलाई काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त थियो ।
संस्कृतिविद् जोशी लेखपढ मात्र नभई लामो समय भाषण गर्न पनि सक्थे । कार्यक्रममा कार्यक्रमसँग जोडिएका स्वदेशी–विदेशी विषयमा धाराप्रवाह अभिव्यक्ति दिन्थे ।
पछिल्ला वर्षहरूमा उनले नेपाली साहित्यकारले नोबेल पुरस्कार प्राप्त गरेको देख्न चाहेका थिए । थुप्रै कार्यक्रमका क्रममा उनले यसबारे बोलेका थिए । नेपाली साहित्य र संस्कृतिको समृद्धिमा जोशी आफू लाग्ने मात्र नभई नयाँ पुस्तालाई पनि उत्प्रेरित गरिरहन्थे ।