
नेता
कति छिटो फेर्न सक्छु म
आफ्नो अनुहार
आफ्नो सोच
आफ्नो चाल
आफ्नो चलन
समयसँगै
किनकि म नेता ।
००
सावधान ! उनीहरूसँग
सावधान उनीहरूसँग
जो टाउको निहुराएर हिँड्छन्
जो बोलीमा चिनी घोलेर बोल्छन्
सुन्न त उसलाई सुन्नु
जो केही बोल्दैन,
हिँड्न त ऊसँग हिँड्नु
जो रोकिँदैन,
ऊ भाँच्चिनेछ एक दिन
जो निहुरिँदैन,
ऊ निस्सासिनेछ
जो कसैसँग जोडिँदैन ।
०००
सत्य
सत्य दुइटा मात्र छन्
तिम्रो सौन्दर्य
र मेरो पीडा
बाँकी सब असत्य हुन् ।
०००
ऐना
या त ऐनाले झुटो बोल्न थाल्यो
या त मान्छेले ऐना हेर्नै छोडे
मैले त यो पूरै सहरमा
कसैको पनि टाउको
लाजले नुहेको भेटेको छैन ।
०००
अन्तः पीडा
कालो–गोरो
ठूलो–सानो
धनी–गरिब
राम्रो–नराम्रो
सबै मान्छेमा
समान रूपले
उज्यालो छर्ने
रस बर्साउने
सौन्दर्य बाँड्ने
म पनि कुनै
सूर्य, बादल या फूल
किन हुन नसकेको होला ?
(डा. रावतको कविताकृति ‘उपहार’ बाट ।)