काठमाडौं । सुन्धाराको हलमा आफूसमेत निर्माता रहेको र आफैँ हिरो रहेको चलचित्र ‘स्केप’को अन्तिम शो हेरिरहँदा प्रदीप खड्काको मनमा खेलिरहेको थियो, ‘यो हलमा जसरी यो अन्तिम शो चलिरहेको छ, मेरा लागि सिनेमा क्षेत्र पनि यति नै हो ।’
कामबिना लेटनाइट प्रदीप बाहिर बस्दैनथे । स्कुल, कलेजमा डिस्टिङसन ल्याउने छोरो आवारा भएर बिग्रिएको छैन भन्नेमा प्रदीपका बुवा–आमा ढुक्क थिए । तर, छोराले दिगो काम गरोस् भन्ने उनीहरूको भित्री चाह थियो । प्रदीपले हरदिन आमाबुवाको अनुहारमा यही पढिरहेका थिए । त्यसले उनलाई बेचैन बनाइहेको थियो ।
त्यसपछि प्रदीपले निर्णय गरे परदेशिने । अष्ट्रेलिया उनको रोजाइको देश बन्यो । प्रक्रिया सुरु गरे, स्टुडेन्ट भिसाको प्रोसेस सुरु भयो ।
जुन/जुलाईको इनटेक थियो । अप्रिलमा बैंक प्रोसेस गर्नुपर्ने प्रदीपको क्यालेन्डर थियो । मार्चमा भूकम्प आयो । भूकम्पले अष्ट्रेलिया जान रोकिरहेको थियो ।
प्रदीपलाई पत्रकार र प्रोडुसरको फोन आइरहेको थियो । तर, प्रदीप कसैलाई रेस्पोन्स नै गर्दैनथे । म्यासेज पनि फर्काउँदैनथे । कारण, उनलाई अब चलचित्र खेल्नु नै थिएन । ‘निर्माता सन्तोष सेनले चलचित्र बनाउँदै छन् रे, खेल्ने ?’ भनेर कसैले उनीसामु प्रस्ताव ल्याए । तर, उनले भनिदिए, ‘म फिल्म खेल्दिनँ । विदेश जाँदै छु ।’
‘अन्तिम सर्को’, ‘मैदान’ लगायत चलचित्रबाट उनलाई अफर आएको थियो । तर, प्रदीपले त्यो पनि इग्नोर गरिसकेका थिए ।
भूकम्पका कारण घरको बैंक प्रोसेसका लागि घरको भ्यालुएसन भएको थिएन । एक दिन उनले कतै देखे– ‘प्रेम गीत’का लागि नयाँ कलाकार चाहिएकाले अडिसन आह्वान गरिएको छ ।
न्युज पोर्टल कलिउड अपडेटका दयाराम घिमिरेसँग उनको राम्रो चिनजान थियो । प्रदीपले फोन गरेर भने, ‘म नयाँ त होइन, तर अडिसन दिन तयार छु भनेर एउटा समाचार छपाउनुपर्यो ।’
‘न्युज होइन, इन्टरभ्यु नै देऊ आएर । अहिले मेरो अफिसमा आऊ,’ दयारामले भने ।
“म गएँ । उहाँले तिमी आफैँ न्युज लेख, म पोस्ट गर्दिन्छु भन्नुभयो । म आफैँले न्युज लेखेँ । उहाँले पोस्ट गरिदिनुभयो,” प्रदीप भन्छन्, “काम गर्ने सोच भएर मैले यो गरेको थिइनँ । टाइमपास मात्रै गरेको थिएँ । चलचित्रमा काम गर्ने हो भने अफर आउँदा गइहाल्थेँ नि !”
सन्तोष सेनले समाचार देखेछन् । उनलाई अचम्म लागेछ । “यत्रो दिनदेखि बोलाउँदा यो मान्छे काम गर्दिनँ भनेर भागेको भाग्यै छ । आज अडिसन दिन तयार छु भन्ने समाचार आइरहेको छ भन्दै सन्तोष दाइको फोन आयो,” प्रदीप नोस्टाल्जिक हुन्छन्, “उहाँले आफ्नो अफिसमा बोलाउनुभयो । आउँदा डान्स गरेको भिडियो पनि लिएर आउनु भन्नुभयो ।”
गम्भीर विष्टको स्टुडियोमा पुगेर डान्सको क्लिप बनाएर त्यही बोकेर सन्तोषको अफिसमा पुगे प्रदीप ।
तर, जब प्रदीप सन्तोषकोमा पुगे, सन्तोष र निर्देशक सुदर्शन थापाले भने, ‘यदि, तिमी इन्ट्रेस्टेड हो भने अडिसन दिनु पर्दैन । हामीले तिमीलाई नै खोजिरहेको हो । सिधै सेलेक्ट गर्छौँ ।’
सन्तोषको ‘चंखे संखे पंखे’ र प्रदीपको ‘स्केप’ एउटै स्टुडियोमा काम गर्दा सन्तोषले प्रदीपलाई नोटिस गरेका रहेछन् ।
सन्तोषले सर्त तेर्स्याए, ‘तिमी बाहिर जान लागेको रै’छौ । बाहिर जाने हो भनेचाहिँ तिमीलाई लिन सकिँदैन । किनभने, तिमी बाहिर गएपछि उतै हराउँछौ । यहाँ बस्नेले यो अवसर पायो भने नेपाली फिल्म इन्डस्ट्रीमा केही गर्छ । तिमी क्यामेरा फेस गरिसकेको भएकाले अफर गरेको हो ।’
प्रदीपको मनले भन्यो, ‘फिल्म यसरी डुबिरहेको समय छ, तपाईं स्वयं एउटा फिल्म डुबेपछि अर्को बनाउने होइन । मैले अर्को फिल्म खेल्न त तपाईंले बनाउनु पनि पर्यो नि ।’
प्रदीपले सन्तोषलाई भने, ‘भइहाल्छ नि दाइ, म तपाईंका दुइटा सिनेमा खेल्छु । विदेश जान्नँ ।’
तर, प्रदीपलाई चंखे संखे पंखे डुब्छ, प्रेम गीत पनि डुबेपछि कसरी अर्को सिनेमा बन्नु, म विदेश गइहाल्छु भन्ने नै थियो । मनमा जे भए पनि प्रदीपले कमिटमेन्ट गरे । सन्तोषले विश्वास गरे । प्रेम गीत निर्माण भयो । हिरो भए, प्रदीप ।
‘प्रेम गीत’को गीत ‘म यस्तो गीत गाउँछु’ र टिजर रिलिज भएपछि प्रदीप धेरै मेकरमाझ नोटिस भए । उनलाई सिनेमाबाट अफर आउन थाल्यो ।
“तर, त्यो बेला पनि मेरो मनमा प्रेम गीत रिलिज भएपछि डुब्छ र म अष्ट्रेलिया उडिहाल्छु भन्ने नै थियो,” प्रदीप आफ्नो गुप्त कुरा खोल्छन्, “अब त मैले मेरो भविष्य सोच्नुपर्छ, करिअर बनाउनुपर्छ भन्ने थियो । त्यसैले मैले जति अफर आए पनि फिल्म साइन नै गरिनँ ।”
सन्तोष ‘२० वटा सिनेमा बनाउन पैसा पुग्छ, एउटा न एउटा सिनेमा त हिट बनाएरै छाड्ने हो’ भन्थे । प्रदीप सुनिरहन्थे ।
जब फिल्म रिलिज भयो, फिल्म त उनले सोचेभन्दा फरक भइदियो । सिनेमा रुचाइयो । जब हलमा दर्शकको भीड बढ्यो, प्रदीपले खोजेको पहिचान (पपुलारिटी) उनले पाए । जब सेलिब्रिटीको स्वाद चाखे, तब उनले अनुभूत गरे– मैले खोजेको कुरा त यही त हो । विदेश जाने सोच त मेरो बाध्यताको बाटोले देखाएको विकल्प पो थियो त ।
दर्शकले माया दिए । प्रदीपलाई लाग्न थाल्यो– यो मायालाई लत्याएर म विदेश पलायन हुनु हुन्न । दर्शकको माया मलाई दिएको जिम्मेवारी पनि हो । यसलाई मैले सँगालेर राख्नुपर्छ । र, निभाउनुपर्छ । हैन भने म गैरजिम्मेवार हुनेछु ।
साइन्स नपढी कमर्स पढेका, पहिलो सिनेमा आफैँ गरेका प्रदीपलाई मनमौजी भन्दा सायद उनलाई त्यति धेरै अन्याय हुँदैन । तर, अरूको सिनेमामा अरूकै हैकम । एक्सनभन्दा सुरु, कटभन्दा बन्द । सहज किन हुन्थ्यो र ! सोचेजस्तो भएन नै ।
डान्सको वर्कसप भइरहेको थियो । वर्कसप सकेर आएका प्रदीपलाई छायाकार राजेश श्रेष्ठ र निर्देशकले सोधे, ‘वर्कसप कस्तो चलिरहेको छ ?’
‘मलाई त नाच्न खासै आउँदैन । कटिङ गरेर यताउता गर्दा मिल्छ होला,’ प्रदीपले जवाफ मात्रै के दिन भ्याएका थिए, राजेशले भने, ‘कटिङको कुरा तिमीले गर्ने ? तिम्रो काम के हो थाहा छ तिमीलाई ? तिमी आफ्नो काम सिरयसस्ली गर ।’
प्रदीप झस्किए ।
प्रेम गीतको डे–१ को छायांकन थियो । हिरोइनको ड्रिम सिक्वेन्समा बेडमा सुतेर हाँस्नुपर्ने सिन थियो । क्लोज सर्ट खिचिरहेको देखेका प्रदीपलाई लाग्यो, ‘क्लोज फ्रेम लागिरहेको छ, खुट्टा देखिने होइन । जुत्ता लगाएर सुत्दा पनि हुन्छ होला । तर, यही सिनले भोलि काममा समस्या हुनु हुँदैन ।’ त्यसैले प्रदीपले सोधे– जुत्ता लगाएर सुतौँ कि खोलेर ?
राजेश झनक्क रिसाएर चर्को स्वरमा भने, ‘जुत्ता लगाएर पनि कोही सुत्छ ?’
५०/६० जनाको बीचमा गरेको त्यो गालीले प्रदीपको मोरल डाउन भयो । हाँस्नुपर्ने सिनमा नमुस्कुराउने । तीन घण्टा लगाएर बल्लबल्ल सिन सकाए ।
साँझ सुदर्शनले सन्तोषलाई फोन गरे, ‘हिरोले एक्टिङ गर्न सक्लाजस्तो छैन । आज हाँस्ने सिनमै हाँस्न सकेन । बर्बाद हुने भयो के गर्ने होला ?
‘गाली खाएर काम कसले गर्छ, जान्नँ ।’ भोलिपल्ट प्रदीप सुटिङ सेटमै गएनन् । सुटिङ छोडेर म्युजिक भिडियो निर्देशन गर्न गोदावरी पुगे । साँझ सन्तोषको फोन आयो । भने, ‘प्रदीप, तिमीले केही चिन्ता लिनु पर्दैन । तिमीलाई भोलिबाट कसैले गाली गर्दैन । तिमी सेटमा आऊ मात्रै, सिनेमा प्रमोसन गरेरै हिट बनाउँछु ।’
फिल्म लिएर सन्तोष र प्रदीप खुब घुमे । यसले उनीहरूको बोन्डिङ बलियो बनायो । जिम्मेवारी थपिएको अनुभूत भएपछि राम्रो काम गरौँ भन्ने हुँदै गयो । ‘प्रेम गीत–२’ थाइल्यान्ड, म्यानमार र रारामा सुट गर्ने निर्णय गरे । पैसाभन्दा पनि काम राम्रो गर्नुपर्छ भन्ने दुईजनाकै विचार मिल्यो । प्रदीपले पारिश्रमिक नै नलिने भए ।
तर, सन्तोषले वचन दिए, ‘प्रेम गीत–२ बाट नाफा भयो भने म तिमीलाई गाडी किन्दिन्छु ।’
यद्यपि, सिनेमा सकिँदासम्म प्रदीप र सन्तोष प्रोडुसर र नायकभन्दा पनि दाजुभाइजस्तो नजिक भइसकेका थिए । त्यो घनिष्टतामा पैसाको के मूल्य ?
‘तिमीलाई धेरैले चिन्ने भइसके । तिमीले आफ्नो स्ट्यान्डर मेन्टेन गर्न पनि गाडी चढ्नुपर्छ । म तिमीलाई गाडी किन्दिन्छु,’ सन्तोषले भनेका थिए । नभन्दै सन्तोषले ५२ लाखको गाडी उपहार भने पनि पारिश्रमिक भने पनि प्रदीपलाई दिए ।
'प्रेम गीत–२' रिलिज भयो । राम्रो नाफा कमाएपछि उनीहरू भन्थे– यो पैसा अर्को राम्रो चलचित्र बनाउन खर्चिनुपर्छ । त्यही बेला हो प्रदीपले सन्तोषलाई भनेको, ‘साउथका कति कमजोर सिनेमा भारतका टेलिभिजनले लिन्छन् । यतिका चलचित्र त हाम्रोमा पनि छन् । हामी पनि हिन्दीमा डब गरेर ट्राई त गरौँ ।’
त्यही आइडियामा ‘प्रेम गीत–३’ मुम्बईका गल्लीहरू चाहरेर अन्ततः हिन्दीमा डब गरे । अहिले हलमा यही चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल र भारतसहित विश्वका धेरै देशमा प्रदर्शन भइरहेको छ ।