काठमाडौं । यही असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ निर्णय गर्यो । तीमध्ये अन्तिम अर्थात् १३औँ निर्णय थियो, राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने । उनलाई त्यसअघि मासिक २५ हजार भत्ता दिइन्थ्यो । त्यसमा वृद्धि गरी ५० हजार पु¥याइएको हो ।
सरकारको यो निर्णय जब सार्वजनिक भयो, त्यसपछि यसको विरोध हुन थाल्यो । सरकारको भन्दा पनि व्याकुल माइलाको विरोध हुन थाल्यो । विरोध गर्नेमध्ये धेरैको आशय थियो– सुरुमै राष्ट्रियगान लेखेबापत एकमुस्ट पाँच लाख रुपैयाँ लिइसकेपछि किन पटक–पटक राज्यसँग सुविधा लिइरहनुपर्यो ? उनले मासिक रूपमा पाउँदै आएको २५ हजारप्रति धेरैको असन्तुष्टि देखिएन । उक्त रकम बढाइएकोमा भने असन्तुष्टि जनाए ।
एउटै सिर्जनामा आश्रित हुनेभन्दा पनि अरू सिर्जना गरेर त्यसबाट आफूलाई सक्रिय बनाइरहन सुझाव दिइएको थियो । फेसबुक प्रयोगकर्ता दिव्य गिरीले लेखेका छन्, “राष्ट्रगानका लेखक व्याकुल माइलालाई सरकारले उपलब्ध गराएको भत्ता सन्दर्भमा निकै बहस चलेको छ । राष्ट्रगान लेखेबापत उनलाई सरकारले एकमुस्ट पुरस्कार दिइसक्यो । त्यो नै उनलाई देशले गरेको सबैभन्दा ठूलो सम्मान हो । एउटा स्रष्टा एउटै रचनामा कतिपटक सम्मानित भइरहने ? के एउटा स्रष्टा जीवनभर सरकारले दिने भत्ता लिएर परजीवीजस्तो भएर बाँचिरहनु आफ्नै स्वाभिमानमा धक्का लाग्नु होइन र ? उनी दिनदिनै हरेक सभा–समारोहमा गुञ्जिरहन्छन् । यो नै उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । उनले यो उपलब्धिलाई जोगाइरहन आफैँ सक्रिय भएर अरू उदाहरणीय काम गर्नुपर्छ । र, सधैँको विवादबाट अलग हुनुपर्छ ।”
तर, व्याकुल माइला आफूले सरकारसँग मागेर सुविधा नलिएको बताउँछन् । राज्यले सम्मानस्वरूप दिएको सुविधा मात्र लिएको उनको भनाइ छ ।
अहिलेसम्म कुनै पनि सुविधा नमागेको जिकिर गर्ने उनी राज्यले दिने सुविधा आफूलाई स्वीकार्य रहेको बताउँछन् । आफ्नो सिर्जना राज्यको भइसकेको अवस्थामा रचनाकारलाई कसरी व्यवहार गर्ने राज्यकै दायित्व भएको उनी सुनाउँछन् ।
अर्का फेसबुक प्रयोगकर्ता लभ गाउँलेले ‘व्याकुल माइलाको बारेमा दश थरी खलबल गरिरहनुभन्दा साहित्यकार हुँ, मलाई देशले हेर्नुपर्छ भन्नेहरूले खगेन्द्र संग्रौलाको यो सानु अनुच्छेद पढौँ’ भन्दै पुस्तकका केही हरफ पोस्ट गरेका छन् ।
उनले पोस्ट गरेको अनुच्छेदमा खगेन्द्रले लेखेका छन्, “मैले भाषा र साहित्यको उत्पात सेवा गरेँ, तर मजस्तो राष्ट्रको अनमोल मणिको उचित कदर भएन भनी गनगन गर्ने र रुनेहरूको यहाँ कमी छैन । कसैलाई पनि समाज वा राष्ट्रले भाषासाहित्यको सेवाबापत पछि मेवा टक्र्याउँला भनेर भर्ती गरेको हुँदैन । लेखक बन्नु स्वेच्छिक कुरा हो । व्यक्तिको नितान्त निजी र रोजाइको कुरा हो यो । गनगन र रोदनको बासीपथको पार्थिव हुनुभन्दा त बरू लेखक नहुनु नै बेस् !”
सरकारको उक्त निर्णय कोही व्यक्ति विशेषलाई भन्दा पनि राष्ट्रियगानका रचनाकारलाई सम्मानस्वरूप गरिएको प्रदीपको बुझाइ छ । त्यसैले यसमा विरोध वा असन्तुष्टि जनाउनु नपर्ने उनी बताउँछन् ।
“संस्कृतिविद् सत्यमोहन जोशीलाई उपचार र स्वास्थ्य हेरचाहका लागि सरकारले एकजना नर्स उपलब्ध गराउने निर्णय गर्दा राष्ट्रियगानका रचयितालाई पनि सुविधा बढाऔँ भनेर सरकारले यो निर्णय गरेको हो भन्ने मलाई लाग्छ,” प्रदीप भन्छन्, “मैले सरकारसँग अनुनयविनय गरेर मेरो सुविधा बढाउन लगाएको होइन । केही समयअगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग एउटा कार्यक्रममा भेट भएको थियो । त्यअघि उहाँसँग मेरो भेट पनि भएको थिएन । त्यही भेटलाई लिएर मन्त्रीमार्फत आफ्नो सुविधा बढाएको भन्ने धेरैले सोचेजस्तो मलाई लाग्छ । उहाँसँग यस विषयमा मेरो केही कुरा भएको पनि थिएन ।”
राष्ट्रिय व्यक्तित्वहरूलाई राज्यले सुविधा नदिँदा विरोध गर्ने र सुविधा दिँदा पनि विरोध गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । “संस्कृतिविद् जोशीलाई सुविधा नदिँदा पनि यहाँ विरोध हुन्छ । दिँदा पनि किन दिएको भनेर विरोध हुन्छ,” प्रदीप अगाडि थप्छन्, “सामाजिक सञ्जालमा केही व्यक्तिले असन्तुष्टि जनाए भन्दैमा आमनागरिकले विरोध गरे भनेर बुझिनु पनि गलत हो ।”
अन्तर्राष्ट्रिय अभ्यास हेरेर विरोध या समर्थन गरिनुपर्ने उनको धारणा छ । अरू देशका राष्ट्रियगानका रचनाकारलाई देशले कस्तो व्यवहार गरिरहेको छ, त्यो हेरे पुग्ने उनी बताउँछन् । कुनै पनि कुरामा धारणा बनाउनु र टिप्पणी गर्नुअघि त्यसमा अरूतिरको अभ्यास हेर्नुपर्नेमा उनी जोड दिन्छन् ।
साहित्यकार अमर न्यौपाने राष्ट्रियगानका रचनाकारलाई सरकारले सेवा–सुविधा दिनु गलत नभएको भन्दै विधि र प्रक्रियाअनुसार दिँदा राम्रो हुने बताउँछन् । हरेक सिर्जनाको प्रतिलिपि अधिकार हुने र त्यसबापत उसले रोयल्टी पाउने तथ्यलाई कसैले पनि भुल्न नहुने उनको भनाइ छ । कुनै पनि गीत–संगीतको रोयल्टी जसरी वितरण गरिन्छ, त्यसैगरी राष्ट्रियगानका रचनाकारलाई पनि प्रदान गरिनुपर्ने उनको धारणा छ ।
“मेरो गीत छ भने त्यो अरूले प्रयोग गरेबापत मैले रोयल्टीबापत पैसा पाउँछु । राष्ट्रगान भएकाले त्यो राज्यको हुन्छ । र, राज्यले आफूले प्रयोग गरेबापत सर्जकलाई रोयल्टी दिनुपर्छ,” अमर भन्छन्, “राष्ट्रगान हरेक स्कुल र कलेजमा हरेक दिन बज्छ । सरकारी कार्यक्रममा बजाइन्छ । यसरी बजाएबापत रचयिता मात्रै होइन, यसका गायक र संगीतकारलाई पनि रोयल्टी प्रदान गरिनुपर्छ ।”
सामान्यतः राष्ट्रियगान महिनामा कतिपटक बज्छ भन्ने रेकर्ड राज्यले राखेर त्यहीअनुसार सुविधा उपलब्ध गराउनुपर्ने उनी बताउँछन् । सरकारले अनुमान र लहडका भरमा भन्दा पनि मापदण्ड बनाएर त्यसानुसार रोयल्टीस्वरूप पैसा वा सुविधा दिन सकिने उनको भनाइ छ ।
राष्ट्रियगान राज्यको पुँजी भएकाले यसको रोयल्टी व्यक्तिसँग नभएर सरकारसँग हुन्छ । त्यसैले व्याकुल माइला आफूले ‘सयौँ थुँगा फूलका हामी...’ बाट आफूले रोयल्टी नलिएको उनी स्पष्ट पार्छन् । “मेरा अरू सिर्जनाको कपिराइट मसँग छ । तर, राष्ट्रगान राज्यको भएकाले त्यो राज्यको सम्पत्ति हो,” प्रदीप स्पष्ट पार्छन् ।
जसको सम्पत्ति हो, ऊसँगै त्यसको प्रतिलिपि अधिकार रहन्छ । तर, राष्ट्रियगानको प्रतिलिपि अधिकार व्यक्तिसँग नभई सरकारसँग रहने संगीत रोयल्टी संकलन समाजले जनाएको छ । राष्ट्रियगानको प्रतिलिपि अधिकार व्यक्तिसँग नरहने र त्यसका रचनाकारलाई सरकार स्वयंले सुविधा उपलब्ध गराउनुपर्ने उक्त समाजका अध्यक्ष सुरेश अधिकारी बताउँछन् ।
प्रतिलिपि अधिकार ऐन, २०५९ मा नेपाल सरकारद्वारा तयार गरिएको रचनाको प्रतिलिपि अधिकार नेपाल सरकारसँग रहने व्यवस्था छ ।
बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारमा काम गर्दै आएकी अधिवक्ता प्रियन्जना भट्टराई यससम्बन्धी नेपालको कानुन अस्पष्ट रहेको जिकिर गर्छिन् । राष्ट्रियगानमा प्रतिलिपि अधिकार सर्जकमा हुने वा नेपाल सरकारमा हुने भन्ने विषय अलमलमै रहेको उनी बताउँछिन् । यद्यपि, प्रदीपले आफूले प्रतिलिपि अधिकार दाबी नगरेको बताएका छन् ।
“नेपाल सरकारले रचनाकारसँग कुनै लिखित करार गरी त्यसबाट प्रतिलिपि अधिकार सरकारमा हस्तान्तरण गरेको हुनुपर्ने हो । तर, राष्ट्रियगानलाई नेपाल सरकारद्वारा तयार गरिएको रचना भन्ने वा अधिकार हस्तान्तरण गरेको भन्ने कुरा स्पष्ट छैन” उनले भनिन्, “यसमा अदालतको व्याख्या आवश्यक हुन्छ, जुन आजसम्म भएको छैन ।”
राष्ट्रियगानको अर्थ र महत्त्व बुझ्नेले सर्जकलाई सुविधा दिएकामा विरोध नगर्ने सुरेश बताउँछन् । उनी भन्छन्, “राष्ट्रगान भनेको सामान्य गीत होइन । व्यक्तिले लेख्यो होला, तर यो राष्ट्रको गीत हो । राष्ट्रलाई चिनाउने र विदेशमा आफ्नो देशको प्रतिनिधित्व गराउने गीत हो । यसको अर्थ र महिमा नबुझ्नेले विरोध गर्ने हो ।”
कोही व्यक्ति सिर्जनशील छ, तर कमजोर आर्थिक अवस्थाका कारण ऊ सिर्जनामा केन्द्रित हुन सकेको छैन भने राज्यले उसलाई सुविधा दिने गरेको अमर बताउँछन् । त्यसैले कोही सर्जकलाई सरकारले सुविधा दिन चाहेको खण्डमा दिन सक्ने तर मापदण्डबाहिर गएर निर्णय गर्दा भने अहिलेको जस्तो विरोध हुने अमरको भनाइ छ । राष्ट्रियगानका रचनाकारका सन्दर्भमा रोयल्टीका हिसाबले सरकारले सुविधा वा पैसा दिनुपर्नेमा उनी जोड दिन्छन् ।