site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिउँदमा उद्योगको विद्युत् कटौती हुने, अन्य ग्राहकको नहुने !

काठमाडौं । माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ ।

हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गरेको छ । पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ ।

चिसोका कारण यही समयमा विद्युत्‌को माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्छ ।

Argakhachi Cement Island Ad

यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको घिसिङको भनाइ छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोसीका संरचनामा क्षति पुर्‍याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोसीको मर्मतसम्भार भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिकरूपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।

तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१ देखि १६ असार २०८२ सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसी पनि बन्द रहेको र पिक समयमा चार घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

"पिक समयमा आयात अनुमति पाएका छैनौँ । माथिल्लो तामाकोसी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोसीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो । माथिल्लो तामाकोसीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ," उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्