काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वका बेलामा खानपानमा विशेष ध्यान दिन आग्रह गरेको छ । स्वच्छ र स्वस्थ खानेकुरा खान मन्त्रालयको जोड छ ।
मन्त्रालयले चिल्लो एवं बोसोयुक्त खानेकुरा, गुलियो खानेकुरा, चिसो पेयपदार्थ र नुन कम मात्रामा खान पनि आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार खानपानसम्बन्धी ध्यान दिनुपर्ने कुरा–
१. बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखाऔँ,
२. खानेकुरा राम्रोसँग पकाएर मात्र खाने गरौँ र पकाएका खानेकुरालाई छोपेर राख्ने गरौँ,
३. चिल्लो एवं बोसोयुक्त खानेकुरा कम खाऔँ,
४. गुलियो खानेकुरा, चिसो पेयपदार्थ तथा नुन कम मात्रामा खाऔँ,
५. पोसिलो, ताजा तथा स्वस्थ खानेकुरा जस्तै, हरिया सागपात, फलफूल, अन्न, दाल तथा गेडागुडी, पशुपक्षीजन्य तथा दूधजन्य खानेकुरा खाने गरौँ, ६. मदिरा सेवन नगरौँ,
७. पाकेको र काँचो खानेकुरालाई छुट्टाछुट्टै भन्डार गरौँ,
८. खाना पकाउनु, खुवाउनु र खानुअघि साबुनपानीले मिचीमिची हात धोऔँ ।
मन्त्रालयले दसैँ मनाउँदा कोभिड–१९ विरुद्धका जनस्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।
यस्तै, डेंगी रोगबाट जोगिनका लागि लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउन समेत सचेत गराइएको छ ।