site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
दसैँ मातृप्रधान बहुआयामिक पर्व हो !

हामी नेपालीहरू यतिबेला दसैँ मनाइरहेका छौँ । दसैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड  मानिन्छ । दसैँ युद्ध, शान्ति, शक्ति पृथकीकरण र विस्तृत कार्यविभाजनको अनुपम उदाहरण हो । वास्तवमा यो दसैँ पर्व सामान्य टीकाटालोमा सीमित चाड होइन । 

असोज शुक्ल प्रतिपदाको बिहानदेखि नवदुर्गा प्रारम्भ हुन्छ । सबै समुद्र र सरिताको जल मानेर भरिएको चिटिक्क सिँगारिएको घडालाई पूजा कोठा या मन्दिरमा स्थापित गरिन्छ । यसलाई घटस्थापना भनिन्छ । पूर्णताको प्रतीक यस घडा (घट) मा मूलतः नवदुर्गा र अन्य देवीदेवताको आवाहन गरी नौ दिन पूजा गरिन्छ । 

यसै दिन बेलुकाको अस्ताचलमा देखिने चन्द्रमा हेरेपछि नवधान्य (नौ प्रकारका अन्न)को जमरा राखिन्छ । नौ दिनसम्म पूजा गरिएको घडासँगै उमारिएको जमरा नै देवीको मुख्य प्रसादका रूपमा दसैँको टीकाको दिन शिर, कानमा सिउरिदिने प्रचलन छ । यो पनि नेपाल समाजमा मात्र प्रचलति छ । अन्य ‘हिन्दुहरू’मा यस्तो हुँदैन । दसैँको सारसंक्षेप यही हो । 

KFC Island Ad
NIC Asia

दसैँलाई नेपालका कुनै जातविशेषसँग जोड्नुपर्ने देखिँदैन । मानव समाज विकासको कुनै कालखण्डमा मातृयुग थियो भनेर स्वीकार गर्न कुनै जात, धर्म, सम्प्रदाय आवश्यक पर्दैन । यो वास्तविकतालाई कथानक ढंगले प्रस्तुत गर्दा कतिपय अतिशयोक्ति होलान्, कतिपय बिम्बात्मक होलान् । इतिहास पनि पुरानिँदै जाँदा यसका सकारात्मक पक्षहरू मान्यतामा परिणत हुँदै जान्छ । त्यसैले, हाम्रो संस्कृतिमा तथ्य र कथ्यको सम्मिश्रण पाइन्छ । ‘संस्कृति’ शब्दबाहेक संस्कृतिका अरू कुनै कुरा स्थायी हुँदैनन् । संस्कृति निरन्तर परिमार्जन र रूपान्तरण हुँदै अघि बढिरहने विषय हो । यो अमूर्त विषय हो । अमूर्तमा मान्यता प्रबल हुन सक्दछ । केही तथ्य, केही सत्य, केही कथ्य, केही तर्क र केही मान्यता नमिसाई संस्कृति बनेको र भनेको पाइँदैन । 

दसैँमा धर्मको प्रभाव नै छैन भन्न सकिँदैन तर यो पर्व धर्म प्रधान होइन । नेपालको सन्दर्भमा त यसलाई धर्मसँग, जातसँग जोड्नुपर्ने अवस्था नै छैन । दसैँसँग जोडिने धर्म हिन्दु हो । 

Royal Enfield Island Ad

यस भूखण्डमा विकसित भएका सबै विषय हिन्दु भएजस्तै यो भूभाग विश्वको पूर्वी भूभाग हो । यहाँको प्राकृतिक वातावरणीय विविधताका कारण रमाइलोपन, उत्पादनको प्रचुरताले धेरै मानिसहरूको रोजाइको स्थल बन्न पुग्यो । सामाजिक व्यवस्था, राज्य आदि बन्नु अघिदेखि यहाँका मानव पुर्खाले आफूलाई व्यवस्थित पार्ने प्रयत्नहरू गरेका प्रमाणका रूपमा प्राचीन वेद, पुराण, उपनिषद्, स्मृति ग्रन्थहरू लगायत साहित्य पढ्दा थाहा पाइन्छ । यो सबै यही भूभागमा भएको हो । पूर्व भनिनुको एउटा कारणमध्ये यो सबैभन्दा पहिले विकसित हुनु पनि हो भन्ने देखिन्छ । अहिले पनि पहिले भएकोलाई पूर्व नै भनिन्छ, दिशाका हिसाबले त्यो पश्चिम नै किन नहोस् । 

शक्ति पृथकीकरण र कामका क्षेत्र बाँडफाँटका दृष्टिले पूर्व वास्तवमा बेजोड नै देखिन्छ । यस सन्दर्भमा अन्य कुराका अतिरिक्त नवदुर्गाको प्रसंग अत्यन्त महत्त्वपूर्ण देखिन्छ । आफ्नोमात्र  सन्तानको सुरक्षा प्रतिरक्षाको विषय त छँदैछ मातृयुगमा माताहरूले नै सबैको रक्षा प्रतिरक्षा गर्नुपथ्र्याे । यस्तो कार्य कार्यविभाजन नगरी गर्न संभव हुँदैथ्यो । अतः यहाँ त्यस अनुसारको विस्तृत कार्यविभाजन पनि गरेको देखिन्छ ।  

यहाँ मूल रूपमा शक्तिलाई तीन भागमा बाँडिएको (छुट्याइएको—पृथक गरिएको) छ— सृष्टि, स्थिति र लय । यो विभाजनलाई अधिष्ठान (कामका मुख्य क्षेत्र) भन्न सकिन्छ । यी तीनै अधिष्ठानका अधिष्ठाता (मुख्य सञ्चालक—नियन्त्रक) तीनजना छन् । ती तीनजना मातृशक्ति (महिला) भएको हुनाले अधिष्ठात्री भनिएको छ । ती हुन्— महासरस्वती(सिर्जना), महालक्ष्मी(पालनपोषण), महाकाली (संहार) । यी तीनका कार्य सञ्चालनका लागि शैलपुत्री आदि नौवटी  देवीहरूको सशक्त समूह छ जसलाई नवदुर्गा भनिएको छ । 

दुर्ग शब्दको अर्थ दुःखपूर्वक पुग्न सकिने ठाउँ हो । युद्धको किल्लालाई पनि दुर्ग भनिन्छ । यहीँ बसेर युद्ध सञ्चालन, रेखदेख गर्ने देवीलाई दुर्गा भनियो । युद्धलाई संग्राम, लडाइँ, संघर्ष आदि पनि भन्न सकिन्छ । जीवनका लागि हरेकले यस्तो संघर्ष गरेको छ । जीवन पनि युद्ध नै हो, संघर्ष नै हो । जीवनयुद्धका लागि नयाँ नयाँ क्षेत्र, विधि, रणनीति अवलम्बन गरिएको हुन्छ । यात्रामा कोशेढुंगा जस्तै जीवनका पनि कोशेढुंगा हुन्छन् । यो दसैँ आफैँमा जीवन यात्राको वार्षिक कोशेढुंगा हो । जीवन युद्धका लागि शरीर महत्त्वपूर्ण छ । आफूलाई सुरक्षित राखेको छ । यहाँ प्रारम्भमा कठिनतम संघर्ष गरेर सन्तानलाई जोगाउने र आफू सुरक्षित रहने काम आमाबाट नै हुने गरेको हामी सबैले देखे भोगे जानेकै विषय हो । रोग, व्याध, अनिकाल, हिंसात्मक आक्रमण, प्राकृतिक विपत्ति र प्रतिकूलता आदि अनेकौँ कष्टबाट आमाले जोगाएको स्मरण गर्न आवश्यक छ । 

यस पर्वमा गरिने पूजापाठको प्रारम्भमा ‘न्यास’ गरिन्छ । न्यास भनेको स्थापना, सुनिश्चितता र विश्वास हो । शरीरप्रतिको विश्वासका लागि गरिने न्यास शरीर विज्ञान र सुरक्षा विज्ञान दुवै दृष्टिले महत्त्वपूर्ण छ । त्यसपछि भौतिक अवस्थाको महत्त्व हुन्छ । पाठ प्रारम्भ गर्नुपूर्व गरिने दिङ् (दिशा) न्यास, अङ्गुष्ठादि कर(हात)न्यास, हृदयादि अङ्गन्यास आदि शरीर विज्ञान महत्त्वपूर्ण छन् । 

नवदुर्गा पूजा र महात्म्य पाठमा पाइने जानकारी साह्रै महत्त्वपूर्ण छ । यस क्रममा कवच, अर्गला, कीलक पाठ गरिन्छ । कवच (काँधसहित छाती ढाकेर सुरक्षित गर्ने ढाल), अर्गला (घरभित्र बस्दा सुरक्षित हुन ढोकामा लगाउने आग्लो), कीलक (सुरक्षाको लागि, निर्माणलाई बलियो पार्ने कीला) हो । यसरी सुरक्षाका यी विषय पनि ‘रक्षा विज्ञान’का दृष्टिले महत्त्वपूर्ण छन् । 

आधुनिक चिकित्सा विज्ञानले के कति प्रगति गरेको छ र विषय विज्ञता प्राप्त गरेको छ भन्ने अज्ञात छैन । रक्षा विज्ञानको प्रगतिको विषय पनि थाहा पाउन सकिन्छ । मातृयुगमा सुरक्षा तथा स्वास्थ्य रक्षाका लागि गरिएको व्यवस्थाबारे कमैलाई थाहा होला । हरेक वर्ष मनाउने दसैँ र यसमा अन्तनिर्हित विषयलाई ध्यान दिने हो भने दसैँको महत्त्व अझ बढ्नेछ र हामी थप लाभान्वित हुन सक्नेछौँ । 

दुर्गाकवचमा ‘प्राच्यां रक्षतु मामैन्द्री.........अधस्ताद् वैष्णवी तथा’ लेखिएको छ । जसअनुसार पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान, माथि, तल रक्षा गर्ने जिम्मेवारी क्रमशः ऐन्द्री, अग्नि, वाराही, खड्गधारिणी, वारुणी, मृगवाहिनी, कौमारी, शूलधारिणी, ब्रह्माणि, वैष्णवीले र दसै दिशाको समग्र रक्षा ‘शववाहना’ (शत्रुको शवको थुप्रोमाथि उभिएर होला) देवीले गरून् भनिएको छ । यसरी सबै दिशाको रक्षाको सुनिश्चितता गर्नुपर्ने बुझ्न सकिन्छ । 

त्यस्तै, दुर्गाकवचकै ‘जया मे चाग्रतः पातु........जयन्ती पापानाशिनी’ सम्मका श्लोक         (मन्त्र) हरूमा हाम्रो शरीरको अंग—प्रत्यंगको रक्षाको लागि माताहरूले यस प्रकार जिम्मेवारी वहन गर्ने उल्लेख गरिएको छ : अघिल्तिर जयाले, विजयाले पछिल्तिर, देब्रेतिर अजिताले, दाहिनेतर्फ अपराजिताले, उद्योतिनीले शिखाको, उमाले टाउकाको, निधारको मालाधरीले, यशस्विनीले आँखीभौँको, आँखीभौँको बीचमा त्रिनेत्राले, नाकको यमघण्टाले, दुई आँखाको बीचमा शंखिनीले, कानको द्वारवासिनीले, कालिकाले गालाको, कानका जराको शांकरीले, नाकभित्र सुगन्धाले, माथिल्लो ओँठको चर्चिकाले, तल्लो ओँठमा अमृतकलाले र जिब्रोमा सरस्वतीले रक्षा गरून् । कौमारीले दाँतको, चण्डिकाले समग्र कण्ठको, चित्रघण्टाले घाँटीको, महामायाले तालुको, कामाक्षीले चिउँडोको, सर्वमंगलाले बोलीको, भद्रकालीले गर्धनको, धनुर्धरीको पिठ्यूँको, कण्ठको बाहिरी भागको नीलग्रवाले र कण्ठनलीको नलकूबरीले, दुईवटै काँधको खड्गिनीले, दुबै पाखुराको वज्रधारिणीले, दुबै हत्केलाको दण्डिनीले, औँलाहरूको अम्बिकाले, शूलेश्वरीले नङको, कुलेश्वरीले पेटको रक्षा गरून् । महादेवीले स्तनहरूको, शोकविनाशिनीले मनको, कामिनीले नाभीको, गुह्येश्वरीले गुह्यको,  पूतना र कामिकाले लिङ्गको, महिषवाहिनीले गुदाको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले घुँडाहरूको, महबलाले दुबै पिडुँलाको, नारसिंहीले गोलीगाँठाको, तैजसीले गोडाको पछिल्लो भागको, श्रीदेवीले गोडाका औँलाहरूको, तलवासिनीले पैतलाको, दंष्ट्राकरालीले नङको, ऊध्र्वकेशिनीले (मास्तिर रौँ ठडिएकी) केशको, कौबेरीले रौँका प्वालहरूको, वागीश्वरीले छालाको, पार्वतीदेवीले रक्त, मज्जा, बोसो, मासु, हाड र मेदको, कालरात्रिले आन्दाको,  मुकुटेश्वरीले पित्तको, पद्मावतीले मूलाधार र कमलकोशहरूको, चूडामणिले कफको,  ज्वालामुखीले नङको जेजिलोपनको, अभेद्याले जोर्नीहरूको, ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाको, धर्मधारिणीले अहंकारको, वज्रहस्ताले प्राण, अपान, व्यान, उदान, समान वायुको, कल्याणशोभनाले प्राणको, योगिनीले रस, रूप, गन्ध, शब्द र स्पर्श तन्मात्राको, नारायणीले सत्व, रज, तम गुणधर्मको, वाराहीले आयुको, वैष्णवीले धर्मको, चक्रिणीले यश, धन, विद्याको, इन्द्राणिले गोत्रको, चण्डिकाले पशुहरूको, महालक्ष्मीले सन्तानको, भैरवीले पति—पत्नीको,  सुपथा र क्षेमकरीले बाटो र जीवनपथको, महालक्ष्मीले दरबारको(प्रशासनिक केन्द्रको), विजयाले सबै डरहरूबाट जोगाउने जिम्मेवारी लिएका छन् । यसरी सम्पूर्ण सुरक्षाको विषय उल्लेख गरिएको छ । यहाँ उल्लेख नगरिएका अन्य क्षेत्र र विषयको रक्षा नवदुर्गाले समग्रतामा रक्षा गर्ने प्रावधान छ । 

यति मात्र होइन, मातृयुगमा शान्तिकर्मणि सर्वत्र तथा दुःस्वदर्शने । ग्रहपीडासु चोग्रासु महात्म्यं शृणुयान्मम । (सबैतिरको शान्ति कार्यका लागि, नराम्रो सपना देख्दा, ग्रहहरूका कारण अत्यन्त पीडाको अवस्था आउँदा मेरो महात्म्य सुन्नू ।) यसरी जस्तो सुकै असहजताको स्थितिबाट पार लगाउन सक्ने शक्तिका रूपमा देवी/मातृशक्तिलाई स्वीकार गरिएको छ । यसको तात्पर्य स्पष्ट छ, अरु दुःख छोडौँ सपना पनि नराम्रो देख्न पर्दैन थियो, सबै सुखको भरपर्दो व्यवस्थामा ध्यान दिइएको थियो । देवीको कथा सुन्दा संघर्षशील हुने प्रेरणा पाइन्छ । आमाहरू कति बलिया, कति दूरदर्शी, कति ज्ञानसम्पन्न, कति कार्यकुशल र कति प्रतिबद्ध थिए भन्ने थाहा पाइन्छ । यी विषय बिर्सन नदिन पनि नवदुर्गा पूजा र दसैँको ठूलो महत्व छ । 

अहिले सरकारी सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिनेलिने गरिन्छ । र, वर्षमा एकपटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिएजस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री । वर्षा (साउन) र शिशिर(पुस)को नवरात्रलाई गोप्य मानिन्छ । वर्षा र शिशिरको तुलनामा वसन्त(चैत)को नवरात्र(चैते दसैँ)मा अलि बढी र शरद ऋतु (असोज) मा पर्ने यस नवरात्रलाई वर्षको ठूलो नवरात्रको रूपमा वार्षिक महामहोत्सवको रूपमा मनाउने प्रचलन विद्यमान छ । समग्रमा नेपाली विशिष्ठतामा हेर्दा दसैँ कृषि जीवनसँग बढी सम्बन्धित देखिन्छ । नवधान्यको प्रयोग होस्, दूधगोरसको प्रयोग होस्, फूल र फलको उपयोग होस्, फूलपातीको प्रचलन होस् या अन्य, यस पर्वसँग कृषिको प्राधान्यता स्पष्ट हुन्छ । 

नवदुर्गा पूजा र त्यससँग सम्बन्धित अन्य कर्मकाण्ड अन्यत्रका हिन्दूहरूमा र नेपालीहरूमा उस्तैउस्तै हुन्छ । सप्तमीको दिनलाई भने हामी फूलपाती भनेर मनाउछौँ । फूलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, फूल, नयाँ फलेका सब्जी, उँखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँघर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फल–पूmल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यो सबैले बुझिन्छ, तर यसको अर्को पाटो पनि छ । माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घर घरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलफूल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा  बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ । 

दस दिनको पर्व भएको र दशमीमा समापन हुने भएकोले दसैँ भनिएको हो । यसका दसै दिन उत्तिकै महत्त्वपूर्ण छन् ।

व्यावहारिक कारणहरूले दसै दिन सहभागी हुन नसकिने भएकोले समापनलाई बढी महत्त्व दिइएको हो । दसैँलाई ‘दसौं दिनको’ मात्र ठान्नु सही हुँदैन । संयोगले दशरथ पुत्र रामले लंका विजय गरी रावण वध गरेको दिन पनि यही भएको थाहा हुन्छ । यो एउटा संयोग हो । दसैँको एकमात्र विषय यो हुँदै होइन । शास्त्रमाथि विश्वास नगर्ने हो भने न राम, न नवदुर्गा ! तर, शास्त्रमाथि विश्वास गर्दा नवदुर्गाको प्रसंग सत्ययुगको हो भने रामको जन्म र कर्मको समय त्रेतायुग हो । त्यसैले यस पर्वलाई रावण वधसँग मात्र जोडेर मनाउनु वा निष्कर्ष निकाल्नु तर्कसंगत देखिँदैन ।

यी देवीहरू शक्तिशाली विजयी योध्दा थिए भन्ने जान्न र मनन गर्नका लागि सातसय श्लोक भएको(सप्तशती, चण्डी) देवीको महिमागानका रूपमा पाठ गरिन्छ, देवीशास्त्र (देवीभागवत) को कथा सुन्ने गरिन्छ । नारीशक्ति, मातृशक्तिको वर्णनसँग जोडिएको यस पर्वलाई अनेकौं बहानामा कमजोर पार्ने, बिथोल्ने, हाम्रो हो र होइनको वहस गरेर बिर्साउन प्रयत्न गरिनु हुँदैन । बरु नारीशक्तिको महिमासँग जोडिएको यो पर्वलाई महिला सशक्तीकरणको इतिहाससँग जोड्दै, थप सशक्तीकरणका लागि प्रेरणापर्वका रूपमा मनाउन सकिन्छ ।

केही मानिसहरू विजया दशमीमात्र मान्दछन् । भारतमा यस दिन रावणको पुतला बनाएर हर्षोल्लासपूर्वक दहन गर्ने चलन छ ।  रामको युद्धको सन्दर्भलाई नस्लीय युद्धको रूपमा व्याख्या गरी आर्य र अनार्य बीचको युद्ध भएको आर्य रामद्वारा अनार्य रावण मारिएको हुनाले अनार्य भनिनेहरूले दसैँ मान्न नहुने तर्क पनि अघि सार्न भ्याएका छन् । रावण ब्राह्मण थिए र राम क्षत्रिय ! युद्धका दुई पक्ष यिनै हुन् । के ब्राह्मण अनार्य र क्षत्रिय आर्य हुन मिल्छ र ? दुई राज्यका शासकहरूको बीचमा भएको युद्ध, फेरि युद्धको विषय पनि नितान्तै फरक भएको विषयलाई बुझ पचाएको कुरा कसरी सही मान्न सकिन्छ र ? यस्ता अनेकौं विषय ध्यान दिन आवश्यक छ, भ्रममा रहनु हुँदैन । 

महिषासुर र देवीको बीचमा भएको युद्धमा महिषासुरहरू मारिन्छन् । महिष भनेको राँगो हो । राँगोको रूपमा युद्ध गर्न आएको असुरलाई महिषासुर भनिएको छ । के यो पत्यार नलाग्ने विषय हो र ? राँगोबाट आक्रमण गराउन सकिँदैन र ? यसलाई असुरका तर्फबाट देवीलाई आक्रमण गर्न अघि सारिएको राँगो भनेर बुझ्न सकिँदैन र ? जहिले पनि युद्ध दुई शक्तिका बीचमा हुन्छ । त्यस्तो युद्धमा होमिएकाहरू कुन जातका मारिन्छन्, कुन जातकाले मार्छन्  भन्ने कुरा सामान्य हो । जातीय युद्धमा मार्ने र मारिने जातको कुरा भिन्नै हो । चाहे देवीले गरेको युद्ध होस् वा रामले गरेको, यी युद्ध कुनै जातीय आधारमा भएका युद्ध होइनन् । त्यसैले यो दसैँलाई कुनै जातविशेषसँग जोड्न र छुट्याउन उचित देखिँदैन । 

दसैँलाई हामीले ‘बडा दसैँ’ भन्दैआएका छौँ । यस विषयमा माथि नै चर्चा भइसकेको छ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ । यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आफूभन्दा ठूलाबडासँग टीकाजमरा थापी आशीष लिने भएको हुलाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्ठतासँग सम्बन्ध राख्दछन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दूहरूको’ भनेर सीमित गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमी मात्र पनि होइन । यो ‘बडा दसैँ’ हो । नेपाली नसमाजले दसैँलाई कुनै खास युद्धको विजय दिवसका रूपमा स्वीकार गरेको छैन भन्ने विषयको चर्चा माथि नै गरिसकिएको छ ।  

अन्यत्रका हिन्दुहरूमा हुँदै नभएको प्रचलन नेपाली समाज छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मिठोचोखो खाने, रमाउने, ज्येष्ठ श्रेष्ठ बूढापाकाहरूलाई सम्मान गरी आशिर्वाद थाप्ने हो; साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनःताजगी प्राप्त गर्नु हो । नारीशक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बूढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको ज्ञान आशीर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँ वास्तवमा ठूलो चाड हो । यसलाई ‘विजया दशमी’ मात्र भनेर हुँदैन; यो अनेकौँ ठूल्ठूला विशेषता समेटिएको, ठूलो महत्त्व दिइएको नेपाली मौलिकता र विशेषताको चाड हो । बडा दसैँ मातृशक्तिको महिमा आत्मसात गरिएको ठूलो सांस्कृतिक पर्व हो । यसमा युद्ध, शान्ति, शक्ति पृथकीकरण र विस्तृत कार्यविभाजनको अनुपम उदाहरण समेटिएको छ ! यो पर्व ज्ञान, भक्ति, शक्ति र योगका लागि महत्त्वपूर्ण छ । शक्ति पृथकीकरण र कार्यविभाजनको महत्त्वबारे बुझ्न उपयोगी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro