मनमा कोही पर्खिएर बसेको हुन्छ भनेर
देश फर्किन्छन् प्रत्येक दसैँ सम्झेर
घर छाडेर लाहुर हिँडेकाहरू ।
उसको पनि अधुरो घर छ
उसकी जहान र छोरी छन् घरमा
न उसलाई दसैँ लाग्छ
न महामारी ।
एकै घर छोडेर सदरमुकाम जाँदा
घर एक्लो हुन्छ
बेसहरा भयो
अब घरलाई कसले ढाडस दिन्छ ? भनेको सम्झिन्थ्यो
धेरै गुमाएर केही कमाउन गएको लाहुरे ।
जवानीमै बूढो भएको
बेलुका पाकेको आकाशको बादल देखेर
एक बिहान तन्नेरी बन्न खोज्दै छ
खोइ किन हो,
कसको आगमन कुरेर बसेको हुन्छ घाम
अब त जिन्दगीका पाँचौँ पाँच वर्ष घामले पोले पनि
अघाएन पैसाको मन लाहुरेको ।
अनुहारमा खुलेका स्पष्ट चाउरी छामेर
मुलुक फर्किन मन त लाग्दो हो
परानमै बसेका प्याराहरूलाई सम्झेर
गाउँ पस्न रहर लाग्दो हो
फेरि बेलाबेला याद पनि आउँदो हो
एक धुरीको छानो फेर्न
चार वर्ष कुरेको
थप एक वर्षदेखि
हावापानी छेक्न
झ्यालढोका राख्न नसकेको अस्थिपञ्जर घर ।
कसैले नांगो खुट्टामा एकजोर चप्पल राखिदिएर
अचाक्ली खुसी भएका खुट्टाहरू
जिउभरि लुगा लगाएर
हुरुक्कै हुन सकेको छैन
धेरै समयदेखि ।
वर्षका वर्ष दिन थपिँदै गए
दिनको दिन रिन थपिँदै गए
रिनले ‘एक छिन’ भनेर सुत्न दिएको छैन
अब ऊ नीदलाई
दराजको सानो खोपामा राखेर चाबी लुकाइएको छ तमसुकसँगै ।
उसलाई अब लाग्न थालेको छ–
ट्रकपछाडि लेखिएका अक्षरहरूजस्तो
हुँदैन रहेछ जिन्दगी
कमाउने देशमा हो, बरू घुम्न पो विदेश जाने हो भनेर ।
घरबाट जहानको फोन आएको छ
मथिंगल हल्लिएको छ बेस्मारी
लर्बराएको छ जिब्रो
आवाज मधुरो छ
छ वर्षकी छोरीले उत्तर मागेकी छे–
आमा, नयाँपुराना मान्छेहरू गाउँ आएका छन्
फेरि रोग फैलियो र ?
थुक निल्दै फर्काएकी छे जवाफ–
होइन लाटी, यसपालाचाहिँ दसैँ आयो !
(कैलाली)