बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अंगीकार गरेको गलत नीति र सत्ता सञ्चालन गर्ने अक्षमताका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर निजी क्षेत्रले भोगेका समस्याहरूलाई समाधान गरी सही बाटोमा लैजाने क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरूसँग नभएको जिकिर गरे ।
शनिबार बुटवलमा रुपन्देही व्यापार संघको २१औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले आउँसो मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रलाई नेतृत्व दिन नसक्ने र अर्थतन्त्र धराशायी बनाउने शक्ति पहिचान गरी मतदान गर्न आग्रह गरे ।
उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी वहन गर्दा नाकाबन्दी, भूकम्प तथा कोरानाजस्ता असहज परिस्थितिको समाना गरेको भए पनि आर्थिक अवस्थालाई बिग्रन नदिएको स्मरण गराए । राष्ट्रहितमा काम गर्ने सोच भए परिणाम पनि राम्रो आउने उनले बताए ।
गठबन्धनको नाममा राजनीतिलाई विकृत बनाउने काम भएको भन्दै उनले त्यसबाट मुलुक निर्माण सम्भव नभएको तर्क गरे ।