काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन् । राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ ।
बिहीबार काठमाडौंमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पीटीसी नेपाल डटकम’ सार्वजनिक गर्दै मन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए ।
मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरु बाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनै पनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि दाबी गरे ।
उनले सहमति नजुटेका बुँदाहरुलाई (विषयलाई) छुट्टै राखेर सहमति जुटेका विषयहरु र अघिल्लो सरकारले अध्यादेशमा ल्याएका विषयहरुलाई राखेर नागरिकता विधेयक सदनमा पेश गरिएको स्पष्ट पारे ।
मन्त्री खापुङले डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुखहरुको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिए ।