site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
के हो चलचित्र क्षेत्रको आरोप–प्रत्यारोप ?
SkywellSkywell

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ आउँदो शुक्रबारदेखि रिलिज हुँदै छ । फ्राइडे रिलिजअन्तर्गत प्रेम गीत–३ नेपालमा प्रदर्शन हुनेछ । यसको हिन्दी भर्सन भारतमा रिलिज हुनेछ । यसअर्थमा यो चलचित्र प्रतीक्षित बनेको छ । 

यसको हिन्दी भर्सन भारतमा मात्र होइन, नेपालमा पनि रिलिज हुनेछ । प्रेम गीत–३ हिन्दीको सेन्सर सम्भवतः आज हुने बताइएको छ । यही विषयलाई लिएर चलचित्रवृत्तमा हल्लीखल्ली छ । चलचित्रकर्मीहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

चलचित्र विकास बोर्डले हिन्दी भाषामा स्वरांकन हुने प्रेम गीत–३ को सेन्सरमा उल्झन झिकेको यसका निर्माता सन्तोष सेनले आरोप लगाए । ‘हिन्दी भाषामा स्वरांकन भएको चलचित्र सेन्सरको छुट्टै प्रक्रिया हुने भए त्यसको जानकारी आफूहरूलाई किन गराइएन ?’ भन्ने सन्तोषको असन्तुष्टि हो ।

Dabur Nepal
NIC Asia

चलचित्र विकास बोर्डका सदस्य अर्जुनकुमार भने कोही व्यक्तिविशेषका घरमा बोर्डले डकुमेन्ट बुझाउँदै नहिँड्ने बताउँछन् । कुनै पनि कामका लागि प्रक्रिया पुर्‍याएर आए कसैले कसैलाई रोक्न नसक्ने उनको भनाइ छ । “ऐन, कानुनानुसार प्रक्रिया पुर्‍याएर आए बोर्डले कसैलाई रोक्दैन र रोक्नुपर्ने कारण पनि छैन,” अर्जुन भन्छन्, “हरेक शुक्रबार हिन्दी, नेपाली, अंग्रेजी चलचित्र रिलिज हुन्छन् । त्यही प्रक्रियाअनुसार प्रेम गीत पनि आउनुपर्छ । हरेक चलचित्र बोर्डका लागि समान हन् ।”

आफू हिन्दी चलचित्रले सरह हिन्दी भर्सनको प्रेम गीत–३ को १५ प्रतिशत विकास शुल्क तिर्न तयार रहेको सन्तोष बताउँछन् । तर, आफ्नो चलचित्रलाई ‘देशद्रोही’ करार गर्न खोजिएकोप्रति उनको आपत्ति छ । “मलाई १५ प्रतिशत कर तिर्न समस्या होइन । तर, जसरी प्रेम गीत–३ लाई देशद्रोही सिनेमा करार गर्न खोजिँदै छ, यसमा हाम्रो आपत्ति हो,” मुम्बईमा रहेका सन्तोषले बाह्रखरीसँग भने ।

आफूले सेन्सरका लागि बोर्डमा निवेदन दिँदा त्यसबारे छलफल गर्न निर्माता संघलगायत संस्थालाई बोलाइएको भन्दै सन्तोषले आपत्ति जनाए । ऐन, कानुनमा टेकेर निर्णय गर्नुपर्नेमा विषयलाई अनावश्यक उचालेर विवादमा तान्न बोर्डले संघलगायत चलचित्रसम्बन्धी संस्थालाई उक्त छलफलमा बोलाएको उनको भनाइ छ ।

“हामीले त्यस्तो ठूलो माग गरेका छैनौँ । हामीलाई अन्याय भयो, न्याय देऊ भनेको मात्रै हो,” सन्तोष भन्छन्, “रातिको समयमा शो चलाउन दिइयोस् भन्ने हो । शो सञ्चालनका लागि बोर्डले सहजीकरण गरोस् भन्ने हाम्रो माग हो ।”

गएको शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सन्तोषले चलचित्र रिलिजको समयमा ‘राजनीति भएको’ भन्दै असन्तुष्टि जनाएका थिए । प्रेम गीत–३ का मुख्य कलाकार प्रदीप खड्काले विकास बोर्डले राजनीति गरेको भन्दै अध्यक्ष भुवन केसीले राजीनामा दिनुपर्ने बताएका थिए ।

आफ्नो चलचित्रको व्यापार खुम्च्याउने नियतले बोर्डले राति ११ बजेसम्म सिनेमा उतारिसक्नुपर्ने सूचना जारी गरेको प्रदीपको आरोप थियो । मदिरा सेवन गरेर बिहानसम्म डान्सबार, होटेल रेस्टुराँ चलाउन दिने तर सिनेमालाई साँझ पर्दा नपर्दै किन उतार्नुपर्ने भन्ने उनको प्रश्न थियो ।

बोर्ड अध्यक्षको राजीनामा माग, राति अबेरसम्म शो सञ्चालन गर्न पाउनुपर्ने र हिन्दी भर्सनलाई पनि नेपालीसरह कर छुटको माग सन्तोष र प्रदीपले गरेपछि अहिले नेपाली चलचित्र उद्योग दुई समूहमा विभाजित भएको छ । केहीले सन्तोष र प्रदीपको पक्षमा वकालत गरेका छन् । केहीले विपक्षमा अभिमत राखेका छन् ।

चलचित्र निर्माता संघले नेपाली भाषा र यसमा बनेको चलचित्रलाई मात्र प्रवद्र्धन गर्ने भन्दै विज्ञप्ति जारी गर्‍यो । “त्यसो भए अब नेवारी, गुरुङ, राई, लिम्बू, मगर भाषामा बनेका सिनेमा हाम्रा होइनन् । हो भने ०.२९ प्रतिशत नेपालीले बोल्ने हिन्दी भाषामा स्वरांकन हुँदैमा हाम्रो चलचित्रलाई हिन्दी भन्न पाइन्छ ? विश्व बजारमा नेपाली चलचित्रले दरिलो उपस्थिति जनाउँदै गर्दा राज्यले सहयोग नगरे कसले गर्छ ?,” सन्तोषको प्रश्न छ, “संविधानले नै राष्ट्र भाषाको मान्यता दिएको भाषामा स्वरांकन गर्दैमा विदेशी फिल्म भनेर करार गर्न पाइन्छ ?”

त्यसमाथि स्वयं निर्माता संघले नै ‘देशद्रोही फिल्म’ भनेको भन्दै सन्तोषले असन्तुष्टि जनाए । “नेपथ्यको स्वार्थका लागि विदेशी बजारमा ढोका खोल्न लागेको चलचित्रलाई नै असहयोग गरेपछि कसरी हुन्छ नेपाली चलचित्र क्षेत्रको विकास र विस्तार ?,” उनको प्रश्न छ ।

“भारतमा प्रेम गीत–३ नेपालको चलचित्र भनेर प्रचारित छ । हिमालयको चलचित्र भनेर उनीहरू स्वयंले प्रचार गरिरहेका छन् । त्यहाँ सन्तोष सेनको चलचित्र भनेर कसैले चिन्दैन, नेपालको सिनेमा भनेर चिनिरहेका छन्,” सन्तोष अगाडि थप्छन्, “यहाँ विकास बोर्डको बैठकमा तिम्रो सिनेमा भारतमा रिलिज भएर हामीलाई के फाइदा भनेर मलाई प्रश्न गरिन्छ । उता, नेपालको हिमालय भीएफएक्स गरेजस्तो सिन भनेर तारिफ गरिरहेका छन् । हिन्दी सिनेमा यो चलचित्र हेरेर छायांकन गर्न नेपाल आउँदा, पर्यटक नेपाल आउँदा त्यसको फाइदा कसलाई हुन्छ ?”

नेपाल पर्यटन बोर्डले आफूले अर्बौँ रुपैयाँ खर्च गरेर पाउन नसकेको पब्लिसिटी प्रेम गीत–३ ले भारतमा गरिदिएको भनिरहेका बेला चलचित्र विकास बोर्डको यो प्रश्नले उनी आफ्नो चित्त दुखेको बताउँछन् ।

बोर्डले प्रेम गीत–३ हिन्दी भर्सनलाई नेपालीसरह कर छुटको सुविधा नदिने देखेपछि सन्तोष हिन्दी चलचित्रसरह १५ प्रतिशत कर तिर्न तयार भइसकेका छन् । तर, चलचित्र क्षेत्रमा आरोप–प्रत्यारोपको शृंखला अझै रोकिएको छैन ।

हास्यकलाकार दीपकराज गिरी ‘माग्न मिल्नेजति अधिकार मात्रै मागौँ’ भन्दै सन्तोषलाई व्यंग्य गर्छन् । दिनेले पनि दिन मिल्ने जति दिनुपर्ने उनको आग्रह छ ।

तर, जब सन्तोषले सरोज खनाललाई ‘कलाकार विदेशमा लुक्ने ट्रेन्ड तपाईंले नै बसालेको’ भनेर आलोचना गरे । त्यसपछि दीपक सन्तोषप्रति आक्रामक रूपमा प्रस्तुत भए ।

सरोजले प्रेम गीत निर्माणको समयमा ‘प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्तैनन् होला, अरूलाई ल्याउनुपर्छ भनेर सन्तोषले भन्दा उनलाई आफूले रोकेको’ बताएका थिए । सरोजको उक्त भनाइ आएपछि सन्तोषले आफूसँग प्रेम गीत निर्माणको समयमा दोहोरो बोलचाल समेत नभएको भन्दै ‘यस्तो कुरा गर्न सरोजजस्तो अग्रज कलाकारलाई नसुहाउने’ अभिव्यक्ति दिएका थिए ।

सोही विषयमा दीपक सन्तोषविरुद्ध कडा रूपमा प्रस्तुत भए । दीपकले भुवन केसी, अनमोल केसी, झरना थापासँगै अब सरोजलगायत अरू कलाकारलाई पनि सन्तोषले गाली गरेको भन्दै असन्तुष्टि जनाए ।

“...अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ ! यो लिस्ट निक्कै लामो हुँदै छ, दिनप्रतिदिन । सबैलाइ गाली गरेरै फिल्म चलाउने हो ?,” दीपकले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, “यति राम्रो हाइप हुँदाहुँदै के गरेको यो ?”

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका चलचित्रकर्मीलाई गाली गर्न लगाएको उनको आरोप छ । “सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि, आफू मात्रै राज गर्ने हो ?,” दीपक सन्तोषलाई प्रश्न गर्छन्, “घर नै नरहे कहाँ बस्छौ साथी ?”

आफूलाई पनि गाली गर्ने सम्भावना रहेको भन्दै दीपकले अन्याय सहेर नबस्ने बताएका छन् । उनले भनेका छन्, “हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔँ । तपाईंको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन । तपाईंको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ । सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौँ, होइन भने एकले अर्कोलाई नसकौँ ।”

विरोध मात्र होइन, सन्तोषको मागमा समर्थन गर्ने पनि छन् । नायिका करिष्मा मानन्धरले कानुन परिवर्तन गरेर भए पनि विदेशी बजारमा नेपाली चलचित्रको ढोका खोल्न लागेको प्रेम गीत–३ लाई सहयोग गर्नुपर्ने बताएकी छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले सहयोगका लागि कानुन बाधक भए त्यसलाई परिवर्तन गर्न सकिने उल्लेख गरेकी छन् ।

उनले बोर्डको काम चलचित्र क्षेत्रको विकासमा सहयोग गर्ने भएको स्मरण गरेकी छन् । प्रेम गीत–३ को प्रदर्शनमा सहजीकरण गर्नु पनि बोर्डको कर्तव्य भएको उनको भनाइ छ । भाषाको विषयलाई लिएर अवरोध सिर्जना गर्न नहुनेमा करिष्माको जोड छ । नियम व्यक्ति तथा संस्थाले नै बनाएकाले त्यसलाई आवश्यकताअनुसार परिमार्जन गदै लैजानुपर्ने उनको धारणा छ ।

“नियमहरू हामीले नै निर्माण गरेका हौँ । र, अफ्नो क्षेत्रको विस्तार गर्न र समृद्ध बनाउन नियमहरूलाई परिमार्जन गर्न पनि सक्नुपर्छ,” उनले भनेकी छन् ।

चलचित्रकर्मीले निजी स्वार्थबाट उठेर यो क्षेत्रलाई अगाडि लैजानुपर्ने उनी बताउँछिन् । “तर, विदेशी लगानी र विदेशी चलचित्रलाई पक्कै पनि त्यहीअनुरूपको कानुन निर्माण गरिनुपर्छ, ताकि नेपाली चलचित्र अन्यायमा नपरोस्,” उनले लेखेकी छन्, “हिन्दी या विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने तर नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा स्वरांकन हुँदैमा किन यस्तो जटिल ?” 

प्रेम गीत–३ स्तरीय चलचित्र बनेको भए यसलाई हिन्दी मात्र होइन, अंग्रेजी, चिनियाँ, इटालियन, जापानी, कोरियन भाषामा डबिङ गर्नुपर्ने र यसका लागि बोर्डले आर्थिक सहयोेग गर्नुपर्नेमा उनको जोड छ ।

निर्देशक आकाश अधिकारी आफूले लामो समयदेखि खोजेको उपलब्धि बल्ल महसुस गरिरहेको बताएका छन् । “सात दिनसम्म न्युयोर्कको ज्याक्सन हाइट हलमा चलचित्र काठमाण्डू प्रदर्शन गर्दा अब सुरुआत भयो कि भन्ने लागेको थियो । तर, त्यो पनि मैले खोजेको जस्तो हुन सकेन,” आकाश भन्छन्, “मैले खोजेको यही हो, जुन प्रेम गीत–३ ले गर्‍यो । डिस्टिब्युटरले नै प्रदर्शनको जिम्मा लिएर एकैसाथ धेरै हलमा प्रदर्शन हुँदै छ ।”

प्रेम गीत–३ विदेशमा समेत चर्चाको शिखरमा रहेको भन्दै उनी विदेशी बजारमा नेपाली चलचित्रका लागि ढोका खोल्न पनि यसलाई सफल बनाउनुपर्ने बताउँछन् । चलचित्रकर्मी, सम्बन्धित संघ–संस्था, सरकारी निकाय र स्वदेश तथा विदेशमा रहने सबै नेपालीले आ–आफ्नो स्थानबाट प्रेम गीत–३ लाई सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

गायक राजेशपायल राई पनि यो विषयमा आफ्नो मत जाहेर गर्न आइपुगे । उनले आफू प्रेम गीत–३ को हिन्दी भर्सन हेर्ने तयारीमा रहेको बताएका छन् । “नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको प्रेम गीत–३ पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बडादसैँको समय नजिकिएको र अरू ठूला चलचित्र पनि आइरहेको अवस्थामा पर्याप्त शो नहुने भन्दै रातिको समयमा शो लगाउन पाउनुपर्ने सन्तोष र प्रदीपले माग गरे । विकास बोर्डले बिहान ६ देखि सुरु भएर राति ११ बजेसम्म चलचित्र हलबाट उतारिसक्नुपर्ने भन्दै सूचना जारी गरेपछि उनीहरूले यसलाई आफूलक्षित कदम भने । तर, यो निर्णय दयाराम दाहाल अध्यक्ष हुँदा नै भएको थियो । ‘केजीएफ–२’ मध्यरातमा हलले चलाए पनि बोर्डले ११ बजेको समयसीमा तोकेको थियो । त्यसलाई कार्यान्वयन गर्न बोर्डले पछिल्लोपटक सूचना जारी गरेको थियो ।

प्रदीप र सन्तोषले उठाएको माग चलचित्र संघले पनि गरेको छ । संघले राति १ बजेसम्म सिनेमा चल्न दिनुपर्ने भन्दै बोर्डमा निवदेन नै पेस गरिएको छ । “रातिको समयमा पनि सिनेमा लगाउन पाउनुपर्ने माग गर्दै तीन दिन अगाडि संघले बोर्डमा निवेदन दिएको छ,” चलचित्र विकास बोर्डका सदस्य राज कटुवाल भन्छन्, “यसमा के गर्ने भन्ने विषयमा बोर्डले केही दिनमै निर्णय गर्छ ।”

अहिले पनि रातको समयमा सिनेमा चलाउन नपाइने भने होइन । तर, यसका लागि सिनेमा लगाउन चाहने हलले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ । यसबारेमा नबुझी बोर्डप्रति टिप्पणी गरेको भन्दै सन्तोष र प्रदीपको आलोचना भइरहेको छ ।

हिन्दी भाषामा डबिङ भएर भारतमा थिएटरमा प्रदर्शन हुन लागेको प्रेम गीत–३ पहिलो नेपाली चलचित्र हो । अहिले यो चलचित्रको ट्रेलर भारतका १७ सय हलमा बजिरहेको छ । चलचित्र भारतमा ७०० हलमा रिलिज हुनेछ । भारतकै सिनेमा वितरकले लिएर यो चलचित्र भारतमा प्रदर्शन हुन लागेको हो । यही शुक्रबार यो चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनेछ ।

सन्तोष सेन निर्माता रहेको चलचित्रमा प्रदीप खड्कासँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापालगायत कलाकारको अभिनय छ । सन्तोष स्वयं र छेतेन गुरुङ संयुक्त निर्देशक हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro