काठमाडौं । कोहलपुरस्थित साहित्यक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले सम्मान कार्यक्रमको आयोजना गर्दै सुर्खेतका लोकसंस्कृतिकर्मी तथा कलाकार प्रेमदेव गिरी र थारु भाषाका आख्यानकार शेखर दहितलाई पुरस्कृत गरेको छ ।
सोमबार कोहलपुरमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार — २०७९’ कलाकार गिरी तथा ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार — २०७९’ आख्यानकार दहितलाई प्रदान गरे । दुवै स्रष्टाहरूलाई पुरस्कारकासाथ जनही नगद २० हजार ५ रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले कलाकार प्रेमदेव गिरी र शेखर दहितको साहित्यक सक्रियताको चर्चा गर्दै पुरस्कार संस्थापक कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोहालपुरसम्म आएर पुरस्कारको व्यवस्था गरेकोमा खुशी व्यक्त गरे । गुठीको यो कार्य सदा अविस्मरणीय रहेको उनले उल्लेख गरे ।
आख्यानकार सनत रेग्मीले बद्रीविक्रम थापाको शैक्षिक सामाजिक क्रियाशीलताको चर्चा गर्दै थापा प्रेरक व्यक्ति भएको बताए ।
बद्रीविक्रम थापाका छाेरा एवं गुठीका कोषाध्यक्ष किरण थापाले आफ्ना पिताले बडाहाकिम र अंचलाधीश भइ काम गरेका १२ स्थानमा शिक्षा, स्वास्थ्य तथा साहित्यका क्षेत्रमा पुरस्कार तथा सम्मानको व्यवस्था गर्न लागिएको बताउँदै त्यसको सुरुवात बाँकेको कोहलपुरबाट भएको उल्लेख गरे ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरू प्रेमदेव गिरी, शेखर दहित, श्रीओम रोदन, कपिल अञ्जान, सुमित्रा न्यौपानेलगायतले बोलेका थिए ।
उक्त अवसरमा युवा गजलकार कमल संघर्षले २० वटा गजल वाचन गरेका थिए ।