site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले निःशुल्क वितरण गर्न उत्पादन गरेको सिटामोल निजी मेडिकलमा छ्याप्छ्याप्ती

काठमाडौं । पाटन अस्पतालको फार्मेसीमा बिहीबार साँझ सिटामोल किन्न खोज्दा त्यहाँका कर्मचारीले भने, “हाम्रोमा सिटामोल सकिएको छ, बाहिरै लिनु ।” 

अस्पताल आसपासकै एक निजी फार्मेसीमा पोलार नामको पारासिटामोल पाइयो । तर, बिक्रेताले १० ट्याब्लेटको ३० रुपैयाँ मूल्य बताए । 

साबिक मूल्य १० रुपैयाँप्रति १० ट्याब्लेट अर्थात् एक रुपैयाँ प्रतिचक्की रहेको सिटामोलको मूल्य किन बढी ? विक्रेताले भने, “अहिले बजारमा सिटामोलको अभाव छ, हामीलाई होलसेलबाटै बढेर आएको छ । थानकोटको केमिड्रग इन्डस्ट्रीज प्रालीबाट उत्पादित २३९ ब्याचको सो पारासिटामोलको पछाडि अधिक्तम खुद्रा मूल्य हेर्नखोज्दा लेखिएको थियो ‘सप्लाइ फर एमओएचपी’  । 

Argakhachi Cement Island Ad

तब थाहा भयो, सरकारले आफ्ना अस्पताल र स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण गर्न उत्पादन गरेको सो सिटामोल बजारमा धमाधम विक्री भइरहेको रहेछ, त्योपनि तोकिएको भन्दा तेब्बर बढी शुल्कमा । 

सरकारी अस्पतालमा निःशुल्क दिइनुपर्ने सो सिटामोल विक्री गर्ने सप्लायर्स रहेछ मानभवन ५ ललितपुरस्थित आदर्श मेडिसिन सप्लायर्स  । 

पाँचसय चक्कीको पारासिटामोल बक्स चारसय पचास रुपैयाँका दरले आदर्शले मेडिकलहरूलाई विक्री गर्ने गरेको पाइयो, जबकी स्वास्थ्य मन्त्रालयको छाप अंकित औषधि बजारमा विक्री वितरण गर्न निषेध गरिएको छ । 

सप्लायर्सका सञ्चालक जयप्रकाश रिमाल हाकाहाकी भन्छन्, “बजारमा सिटामोलको हाहाकार भएपछि मानवताको हिसाबले फार्मेसीलाई विक्री गरेका हौँ, यसमा जुनसुकै कानुन लाग्छ लागोस् ।” 

आदर्श मेडिसिन सप्लायर्सले विभिन्न सरकारी र निजी अस्पतालहरूमा औषधि सप्लाइ गर्ने गरेको र पछिल्लो पटक सप्लाइ फर एमओएचपी लेखिएर आएको सिटामोल नै सुमेरु अस्पताललाई विक्री गरेको सञ्चालक रिमाल बताउँछन् । 

सरकारले पारासिटामोलसहित ९८ वटा औषधिलाई सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क वितरण गर्नुपर्ने सूचीमा राखेको छ । 

पछिल्लो समय डेंगी संक्रमण उच्च हुँदै गएपछि सरकारी अस्पतालका फार्मेसीहरूबाट शुल्क तिरेर समेत सिटामोल पाइन छोडेको छ । ठूला अस्पतालहरूले प्रतिव्यक्ति १० देखि २० चक्कीसम्म मात्रै सिटामोल दिँदै आएका छन् । तर, व्यावसायीले भने महामारीको फाइदा उठाउँदै सरकारी अस्पतालमा जानुपर्ने सिटामोल महँगो शुल्कमा विक्री गरिरहेका छन् । 

‘आइतबारदेखि अनुगमन’

महामारीका समयमा ‘ब्ल्याक’मा औषधि विक्री हुने गरेको भन्दै आइतबारदेखि औषधि व्यवस्था विभागले बजार अनुगमन थाल्ने भएको छ । 

विभागका सूचना अधिकारी सन्तोष केसी सरकारले निःशुल्क वितरणका लागि उत्पादन गरेको औषधि बजारमा विक्री हुनु गैह्रकानुनी भएको र यसमा कडाइ गरिने बताउँछन् । 

निःशुल्क वितरणका लागि उत्पादन भएका औषधि विक्री वितरण गरेको पाइए त्यस्ता फार्मेसी वा सप्लायर्सलाई छ महिनासम्म विक्री वितरणमा रोक लगाउन सकिने विभागका एक अधिकारीले बताए । 

नेपालमा सरकारी मातहतमा रहेको नेपाल औषधि लिमिटेडले ५०० एमजीसम्मको सिटामोल उत्पादन गर्दै आएको छ । 

निजी क्षेत्रबाट २९ वटा कम्पनीले पारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तीमध्ये २१ वटाले सिटामोलका विभिन्न प्रकारहरू उत्पादन गर्दै आएका छन् । तीमध्ये २१ वटो नेपाली कम्पनीले उत्पादन गरिरहेका छन्, यसले बजारको ९९ प्रतिशत माग धान्ने गरेको छ । 

सरकारी अस्पतालहरूबाट निःशुल्क वितरण हुनेबाहेक नेपाली बजारमा वार्षिक सात करोड चक्कीसम्म सिटामोल खपत हुने गरेको नेपाल औषधि उत्पादक संघको तथ्यांक छ । संघका अनुसार गतवर्ष सात करोड ट्याब्लेट सिटामोल उत्पादन गरी बजारमा पठाइएको थियो । 

यो वर्ष डेंगी संक्रमण बढेसँगै बजारमा सिटामोलको माग बढेको छ । पछिल्लो सातामात्रै थप ३० लाख ट्याब्लेट उत्पादन गरी बजार पठाइएको थियो । तर, यो मात्राले पनि धान्नसक्ने अवस्था नदेखिएको संघका महासचिव विप्लव अधिकारी बताउँछन् । 

यो अवस्थामा सरकाले आवश्यकताभन्दा बढी सिटामोल खरिद गरी घरमा स्टकमा नराख्न अनुरोध गर्दै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्