भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ का वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुर थिमिस्थित दिगु भैरव मन्दिरअगाडि डबलीमा उनले जिब्रो छेडाएका हुन् ।
१० इन्च लामो सुइरोले जिब्रो छेडाएर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए । योसँगै थिमिमा मनाइने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ शनिबार राति सम्पन्न गरिएको छ ।
मन्दिरमा जामनः (गुरु)ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिएका थिए । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।
परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर १० इन्च लामो सुइरो राखिएको थियो ।
स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातो भालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवत् रूपमा सुरु भएको थियो ।
जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो ।
जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ ।
संस्कृतकर्मी श्रेष्ठले इन्द्रजात्राको दिन हनुमानढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्त्याएको जानकारी दिए । उनले भने, “हनुमानढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्रप्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।”
शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरी देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताए । जिब्रो छेडाउने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेडाउनेलाई दुईजनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिँडाई डबलीमा पुर्याइएको थियो ।
डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायत उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेड्ने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेडाउने व्यक्तिसँग भ्यं (महादीप) बोकेर उनको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेडाउने व्यक्तिले मध्यपुर थिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् ।
आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो)लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सुइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् ।
शनिबार राति ९ बजे श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाएका हुन् । उनले यसअघि वि.सं २०७४ मा जिब्रो छेडाएका थिए । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिँदै आएको यस जात्रा वि.सं. २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएकामा वि.सं. २०७४ मा स्थानीय जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याइएको थियो । वि.सं. २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यो वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।
जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूतप्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडाएर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुर थिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेडाउने परम्परा चलाएको स्थानीय बताउँछन् । रासस