खेलमा भाग लिने हो भने खेलका प्रचलित नियमहरू पनि पालना गर्नुपर्छ । अन्यथा खेल स्वस्थ प्रतिस्पर्धा बन्न सक्तैन । राजनीतिमा पनि यही सूत्र लागु हुन्छ ।
नेपालका ठूला भनिएका दलका प्रमुखहरू भने आफूलाई नियममात्र होइन खेलभन्दा पनि ठूलो ठान्छन् । यसैले उनीहरू जनतालाई मूर्ख ठान्छन् र झुक्याइरहन चाहन्छन् ।
चुनाव घोषणापछि ठूला दलका शीर्ष भनिएका नेताहरूको ‘बर्बराहट’को मात्रा पनि बढ्दैछ । उनीहरू त चुनावको घोषणा नै तिनकै दुराचारको अनुमोदनका लागि भएको ठान्छन् ।
‘चुनावपछि व्यवस्था बदल्न आन्दोलन’ गर्ने नेकपा ९माओवादी केन्द्र०का अध्यक्षको ‘चेतावनी’वा आफ्नो पार्टीले हारे देशले हार्छ भन्ने अर्को कम्युनिस्ट पार्टी एमालेका अध्यक्षको हुँकार यही प्रवृत्तिका उदाहरण हुन् । ठालुहरू सधैँ यस्तै फुटानी गर्छन् ।
हुनत, ठालुहरूको फुटानी असुरक्षित मानसिकताको अभिव्यक्ति हो । जनताले विवेक प्रयोग गरे भने चुनावमा जित्न नसक्ने देखेर नै तिनले यसरी तर्साउन खोजेको हुनुपर्छ ।
चुनावमा जितहार हुन्छ र जनता त्यसका निर्णायक हुन्छन् । जनताको निर्णय सहर्ष स्वीकार गर्न नसक्नेहरू सामन्ती चरित्रका अधिनायकवादी हुन् । उनीहरू जसरी पनि आफैँले जित्नुपर्ने ठान्छन् ।
सत्ताको राजनीति गर्नेहरूले जनतालाई मूर्ख बनाएर आफ्नो कमजोरी लुकाउने प्रयास गरिरहेकै हुन्छन् । तर, संविधान बनेपछि सत्ताबाहिर नरहेको दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु दुर्भाग्य हो ।
देशको अवस्था बिगार्ने कारणीहरूलाई जनताले चिनिसकेका छन् । सूचना प्रविधिको व्यापकता र जनताको चेतना वृद्धिसमेतले अब स्यालले चिल आयो भन्दा कसैले पनि आकाशतिर हेर्दैन ।
चुनावमा भाग लिनेहरूलाई आफ्नो विचार र कार्यक्रममा जनतासम्म जाने सुविधा र हक दुवै छ । तर, जनताले अनुमोदन गरेनन् भने तिनै विषयमा सडक आन्दोलन गर्ने नैतिक हक हुँदैन ।
विडम्बना, अहिलेको संसदीय प्रतिनिधित्वको सबैभन्दा बढी लाभ पाउने माओवादी केन्द्रकै अध्यक्षले व्यवस्था बदल्न भनेर आन्दोलन गर्ने फुटानी लगाउँदैछन् । व्यवस्था होइन राजनीतिक गर्नेहरूले चरित्र र मानसिकता बदल्नुपर्छ ।
अब पनि नेताहरू नबदलिने हो भने जनताले नेता नै बदल्नेछन् । नेताहरूको राजनीतिक लगानीको साबाँ ब्याजमात्र होइन ब्याजको स्याजसमेत मुलुकले चुक्ता गरिसक्यो । अब धेरै फुटानी नगर !