सामयिक दुनियामा विचारको राजनीति सकियो भन्ने बहस छ । व्यवहारले विचारलाई ओझेलमा पारेको वा व्यवहारले राजनीति सञ्चालन गर्न थालेको मानिदैछ । विश्वको विगत विचारले शासित रहेको र विचारले नै दुनियाँ विभाजित र धु्रवीकृत थियो ।
नेपाली समाजलाई विचारले उद्वेलित गर्ने बीपी कोइरालाको जयन्तीका सन्दर्भमा विचार छोडेर दुनियाँ कुन गन्तव्यतिर लम्कदै गरेको हो त भन्ने कौतुहल जागृत भएको छ । यो अहिलेको समयको कौतुहल हो र हुनुपर्छ ।
मानिस कहिलेदेखि विचारले शासित वा परिचालित हुनथाल्यो र यसको अन्तिम विन्दु कहाँसम्म होला त ? यस प्रश्नमा तिथिमितिको किटान भन्न सक्ने कुरा भएन । मानिस आरम्भदेखि नै विचारको विम्ब थियो भन्ने मान्दा यो मानव सभ्यता जस्तै पुरानो छ ।
मानिसले विचार बनायो कि विचारले मानिस चिनायो भन्नुको उत्तर ‘फुल जेठो कि कुखुरो’ भनेजस्तै प्रश्न होला । निश्चय पनि मानिसले विचारसत्ताको प्रतिनिधित्व गर्यो ।
विगतमा विषय विज्ञहरु विचारले नै विज्ञ र स्थापित भएको देखिन्छ । राजनीतिमा विचारको अन्त्य भएको मान्दा अबका विज्ञ स्थापित हुने केले होला ? व्यवहारको प्रभाव विचारको जस्तो दीर्घजीवी हुँदैन भन्ने लाग्छ ? र व्यवहार भौतिक प्रक्रियामा बढी आश्रित र विचार चिन्तनधारामा चिरन्तन भएको देखिन्छ ।
व्यवहारवादीहरुले विचारको अन्त्य भएको मान्न अमेरिकी चिन्तक फ्रान्सिस फुकुयामाको ‘दुनियामा विचारको अन्त्य भएको’ उद्घोषको सहारा लिने गरेका छन् । वा फुकुयामाको भनाइलाई व्यवहारले नै पुष्टि भएको सत्य मान्नेहरु छन् ।
तिनीहरु के बिर्सन्छन् भने फुकुयामाले विचारको अन्त्य भनेर नयाँ बहस सिर्जना गरिदिएका हुन् र बहसमा विचार हुनैपर्छ । विचारको अन्त्य होइन नयाँ बहस वा विचारको विषय हो फुकुयामा तर्क । पछि त उनैले अर्को तर्क दिइसकेका छन् ।
राजनीतिलाई विचारले निर्देशित गरेको एउटा युगको अब अन्त्य नै हो त ? अरु विषयमा पनि यस्तै जिज्ञासा जोडेर प्रश्न गर्न सकिएला । तर यहाँ कुरा राजनीतिकै सीमामा छ । फुकुयामाले पनि धारणा राजनीतिकै सन्दर्भमा व्यक्त गरेको हो ।
सन्दर्भ बीपी जयन्ती भएकोले बीपी व्यक्ति, व्यक्तित्व मात्रमा सीमित रहनु भएन । उहाँ विचारक, विचारको स्रोत हुनुभयो । अर्थात् बीपी विचार हो । के अब विचार कुनै चिन्तनधाराभन्दा पर वा जीवन जगत्सँग प्रत्यक्ष सरोकार राख्ने विषयबाट भिन्न आदर्श इतिहास सम्झनामात्र बनेको हो त ? के यो सम्भव छ ।
कुनै युग थियो – छाडा मानिस जब संगठित र व्यवस्थित हुन थाल्यो त्यतिबेलै उसले शासन र शासितको अवधारणा प्रयोग गर्यो, बलियाहरु शासकहरु बने । समयले फड्को मारेर यहाँसम्म आइपुग्नु अगाडि मानिस विचारभन्दा शक्तिले शासित रह्यो । यसैमा लामो समय गुजार्यो ।
दुनियाँभर भएको यस्तै हो । बेला चाहिँ फरक । कोही दुईतीन सय वर्षअघि विचार सत्ताको युगमा प्रवेश गरे । कोही अलि ढिलो । तर विचारको लहर विश्वव्यापी भएको युग पनि आयो । के अब विचार सत्ताको ठाउँ अरु कुनै भौतिक तन्त्रले लिने हो ? सम्भव छ ?
राजनीतिमा विचारको कुरा गर्दा सात दशक अघिसम्म नेपाली पनि विचारले शासित थिएनन् । राणाहरुको बाहुबली शासन थियो । अर्थात् कुनै प्रकारको राजशाही जमाना थियो र विश्वभर यस्तै भएको जमाना रह्यो । त्यो गुज्रियो । अपवाद कतै भेटिएला ।
राणा शासनको अन्त्य वैचारिक संगठनको माध्यमबाट भएको हो । पञ्चायतको पतन पनि यही कारण हो । विचारबाट सुरु भएको नेपालको राजनीतिक यात्रा छोटै समयमा विचारको अन्त्य भन्ने फुकुयामा मार्गमा छ ? किनभने विचारको यात्रा पछि आरम्भ गरेपनि विश्वमा विस्तारित व्यवहारिकधारको प्रभाव चाँडै नै यहाँ पर्न गयो । प्रविधि र प्रक्रियाले गर्दा विश्वको कुनै कुनामा भएको परिवर्तन र परिष्कारको प्रभाव आधुनिक जमानाका नेपाल जस्ता मुलुकमा पनि छिटै पर्न थालेको छ । त्यसैले विचारको अन्त्य भन्ने बहसमा हामी छिटै पुगेका हौँ ।
नेपालको अहिलेको राजनीतिलाई हेर्दा मानिसलाई त्यस्तै त्यस्तै अर्थात् विचारभन्दा पनि अर्कै बाटोतिर राजनीति गएको भान पर्न थालेको छ । खासगरी दलहरुबीच हुने गठबन्धनले यस्तो भान दिएको हो ।
नेपाली कांग्रेस र यहाँका कम्युनिस्ट घटकहरुबीच भएको गठबन्धन । त्यस्तै कम्युनिस्ट एमाले र राजावादी राप्रपाबीच सम्भावित र पहिले भएको गठबन्धन । विचारको अन्त्य हुँदै गएको भान दिने (अ)राजनीतिक उदाहरण हुन् ।
यस्ता गठबन्धनको रसायन विचार होइन, व्यवहार हो । सत्ता, शक्तिमा जमी रहने व्यवहार सिर्जित गठजोड । वैचारिक धरातलमा कांग्रेस कम्युनिस्ट दुई किनारा जस्ता हुन् । सैद्धान्तिक समानता पनि छैन । वैचारिक एकता हुने कुरा पनि भएन । यस्तो सम्भव छ भने भिन्नभिन्न दलको अस्तित्व वा औचित्य साबित गर्न सकिँदैन । एउटै दल भए हुन्छ । भिन्न पहिचान दिन भिन्न विचारको मिश्रण हुनैपर्छ ।
कुनै पनि स्वार्थको लागि गरिने गठबन्धनको आयु छोटो र अस्थिर हुन्छ । जहाँ जति छिटो स्वार्थ पूरा हुन्छ त्यतिबेलै गठजोडले अर्कै आकार लिन्छ । स्वार्थले बन्ने भत्कने गठजोडहरु ।
बीपीले कम्युनिस्टसँगको एकता वा सहकार्य अस्वीकृत गर्नु भएको हो । यस्तो अस्वीकृतिको आधार वैचारिक थियो । कुनै कम्युनिस्ट नामसँग होइन । वैचारिक समानता भेटिन्थ्यो भने बीपीले कम्युनिस्टको विरोध गर्नुको कारण सायदै रहन्थ्यो । त्यतिबेलाका नेपाली कम्युनिस्ट बढी जडसूत्री थिए । पुष्पलाललाई नै गद्दार घोषणा गर्ने जडसूत्री ।
अर्थ, व्यापार र प्रविधिको प्रभाव बढेको देखेर विचारको अन्त्य घोषणा गर्ने आधार मिलेको होला । व्यवहारले, व्यापारले र प्रविधिको प्रभाव विस्तारले राजनीतिक विचारको अन्त्य होला भन्ने लाग्दैन । विचारलाई प्रविधिले निर्देशित गर्ने कि अर्थव्यापारले ? भन्ने प्रश्न हुनसक्छ र अहिलेको दुनियाँमा देखिएको यही चित्रलाई विचार अन्त्यको अनुमानमा आधार बनाइएको जस्तो लाग्छ ।
अहिलेको जत्तिकै मात्र पनि लचिला कम्युनिस्टहरु हुन्थे भने यिनको विषयमा बीपीले कसोरी, के सोच्नुन्थ्यो होला ?
अहिले त राजनीतिक र प्रजातान्त्रिक भर नभएका कम्युनिस्टहरु छन् । यसको पछिल्लो उदाहरण पुष्पकमल दाहाल हुन् । पुष्पकमल दाहाल कुनै पनि प्रकारको गठबन्धन बनाउन मरिमेटेर लागेका छन् । उनले आफू हुनुको वा अस्तित्व रक्षाको उपाय गरेका हुन् । यसमा सत्ताको स्वाद पनि त छ ।
संसदीय प्रजातान्त्रिक गठबन्धनमा बाँधिएका दाहालले केही दिनअघि भने–‘चुनावपछि व्यवस्था परिवर्तन गर्न सडकमा जान्छु ।’ अवस्था बिगार्ने अगुवा उनै हुन् । दोष व्यवस्थामाथि थोपरेर थप ढाँटको राजनीति गर्न दाहाल उद्यत छन् । सैद्धान्तिक र व्यावहारिक यस्ता दलसँग कांग्रेसले गठजोड गरेको छ – सुध्रिएलान् कि भनेर । यिनको मकसद प्रत्यक्ष निर्वाचित (एकाधिकारवादी) राष्ट्रपति बन्ने सपनासँग बुनिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालीको स्वार्थमा होइन, विदेशीको स्वार्थमा हुन्छ । यो अलग बहसको विषय हो ।
विचारहीन धोखाधडीको सत्ता, स्वार्थ केन्द्रित यो बेला बीपीलाई सम्झनुको सान्दर्भिकता राजनीतिको मार्ग, गति र गन्तव्य बुझ्ने उपयुक्त अवसर पनि हो । नेपाली समाजमा विशाल अध्ययनको भण्डार हो बीपी । विचारको भण्डार । यस्तो व्यक्तित्व अध्ययनकै विषय हो, केही हरपमा सीमित गर्न सम्भव छैन ।
मानिसको विचारलाई विवेकले प्रयोग गर्ने चेतका नेपाली सूत्राधार बीपीको १०९ औँ जन्मजयन्तीको दिन भोलि भदौ २४ गते नेपाली कांग्रेसले सुरु गरेको चुनावी अभियान २०७९ को समापन गर्दैछ । यसको अर्थ बीपीप्रति सम्झना सम्मान होला ? विचारको सम्मानले नै बीपीको श्रद्धा सम्मान हुने हो । विचारको अन्त्य घोषणा गर्न उद्यत कांग्रेसजन के बीपीप्रति गहिरो सम्मान राख्छन् ?