काठमाडौं । म्यारियट हाेटेलको डेल्टिन क्यासिनोले काठमाडौं महानगरपालिकालाई २१ लाख ४२ लाख रुपैयाँ कर बुझाएको छ । महानगरले सातदिने अल्टिमेटम दिएपछि डेल्टिन क्यासिनाेले कर बुझाएकाे हाे ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले क्यासिनोलेसो कर बुझाएको बताए । “डेल्टिन क्यासिनोले कर बुझाएको छ । अल्टिमेटम जारी भएका अरु क्यासिनो पनि विभागको सम्पर्कमा आएका छन् । अब निरन्तर बुझाउँदै जान्छन्,” उनले भने ।
डेल्टिन क्यासिनो वडा नम्बर १ मा रहेको छ । महानगरले गत आइतबार सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न अल्टिमेटम जारी गरेको थियो ।
त्यस्तै मंगलबार विद्युत प्राधिकरणसहित १७ वटा सरकारी तथा गैरसरकारी संघसंस्थालाई कर बुझाउन सात दिनको अल्टिमेटम जारी गरेको छ ।
पछिल्लो समय महानगरले लामो समयदेखि कर नतिरेकाहरूबाट धमाधम कर उठाउन थालेको छ ।