site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुमनाम रियालिटी शो, एक वर्षमा अर्ब डुब्ने जोखिम 
SkywellSkywell

काठमाडौं । नेपालमा अहिले कति रियालिटी शो सञ्चालनमा छन् ? यो प्रश्न कसैले सोध्यो भने सम्भवतः तपाईं जवाफ दिन सक्नु हुन्न । तपाईं मात्र होइन, धेरैलाई यो प्रश्नको जवाफ दिन्न हम्मेहम्मे नै पर्छ । कारण, नेपालका मौलिक मात्र होइन, फ्रेन्चाइज शो नै अधिक भइसके । र, त्यसप्रति रुचि कम हुँदै गएको अहिलेको तीतो यथार्थ हो ।

‘भ्वाइस अफ नेपाल’, ‘को बन्छ करोडपति ?’, ‘नेपाल आइडल’, ‘भ्वाइस अफ किड्स’, ‘डान्सिङ स्टार नेपाल’, ‘रोडिज’, ‘सारेगमप लिटिल च्याम्पस् नेपाल’लगायत फ्रेन्चाइज शो प्रसारणमा आइसकेका छन् । ‘नेपाल लोक स्टार’, ‘सुपर डान्सर नेपाल’, ‘नेपाल स्टार’, ‘कमेडी च्याम्पियन’लगायत थुप्रै रियालिटी शो नेपालमा प्रसारण भइसकेका छन् । यीबाहेक पनि केही रियालिटी शो प्रसारण भएका छन् । ठूलो संख्यामा पाइपलाइनमा समेत छन् ।

एकातिर, रियालिटी शोले प्रतिभालाई प्लेटफर्म दिइरहेका छन् । अर्कोतर्फ, यसको गुणस्तरमा प्रश्नचिह्न खडा भइसकेको छ । गायक राजेशपायल राई प्रतिभाका लागि रियालिटी शो अवसर भएको बताउँछन् । निर्देशक सुरेश पौडेल र विशाल भण्डारी यसको खस्कँदो लोकप्रियतालाई लिएर चिन्ता व्यक्त गर्छन् ।

KFC Island Ad
NIC Asia

शो संख्या मात्र बढ्नुभन्दा पनि त्यसको गुणस्तर र दर्शकको रोजाइमा पर्नु महत्त्वपूर्ण भएको निर्देशकहरूको भनाइ छ । ‘भ्वाइस अफ नेपाल’का कोचसमेत रहेका राजेशपायल प्रतिभालाई अवसर र ठूलो संख्यालाई रोजगारी प्रदान गर्ने शोको संख्या र गुणस्तर दुवैलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । 

“अहिले हरेक विज्ञापन एजेन्सीमा जाने हो भने १५/१६ वटा नयाँ रियालिटी शोका प्रपोजल छन् । केही फ्रेन्चाइजका छन्, कुनै नेपाली डिजाइनका छन्,” स्ट्यान्ड अप कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी भन्छन्, “नेपालमा रहेको सीमित विज्ञापन बजारले यति धेरै शो धान्न सक्दैन ।”

Royal Enfield Island Ad

सामान्य अवस्थामा नेपालको वार्षिक विज्ञापन बजार १४ देखि १५ अर्ब रुपैयाँ हो । तर, कोभिड–१९ संक्रमणले अर्थतन्त्र ओरालो लाग्दा विज्ञापन बजारमा पनि ह्रास आएको छ ।

विज्ञापन बजार ओरालो लाग्दा रियालिटी शोको संख्या भने उकालो लागिरहेको छ । दर्शक नपाएर भएका शो नै गुमनाम प्रायः रहेको अवस्थामा नयाँ शो थपिने क्रम जारी छ । नयाँ शो थपिँदा पुराना शोको भविष्यसमेत अन्योलमा परेको छ । “नयाँ शो थपिँदा पुराना शोको विज्ञापन कटौती हुँदा चलिरहेका शोको नाफासमेत घट्न थालेको छ,” निर्देशक भण्डारी बताउँछन् ।

शो थपिँदै जाँदा विज्ञापन घट्दै जाने उनले उल्लेख गरे । “अब जति पनि रियालिटी शो थपिन्छन्, सानो विज्ञापन बजारका कारण चलिरहेका शोकै विज्ञापनको पैसा बाँडिने हो । ५० लाख दिइरहेको शोको रकम २० लाख घटाएर नयाँ आउने दुईवटा शोलाई १०/१० लाख रुपैयाँ दिने हो एजेन्सीले,” उनले भने ।

यसको सिधा असर शोमा पर्ने उनको बुझाइ छ । भइरहेका शोको क्वालिटी विज्ञापन अभावका कारण खस्कँदै जाने र नयाँ आउने शोले पनि आफूलाई अब्बल बनाउन नसक्ने विशाल बताउँछन् । 

स्रोतका अनुसार हालसम्म सबै सिजनको लागत र विज्ञापनका आधारमा ‘नेपाल आइडल’, ‘भ्वाइस अफ नेपाल’, ‘डान्सिङ स्टार नेपाल’, ‘रोडिज’ र ‘कमेडी च्याम्पियन’मात्र नाफा कमाउने रियालिटी शो हुन् । बाँकी अधिकांश शो घाटामा रहेको स्रोतको भनाइ छ । ती शो प्रभावका हिसाबले पनि निकै कमजोर रहेका सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया र पब्लिकमा हुने चर्चाले देखाउँछ । युट्युबको टीआरपीलाई आधार मान्ने हो भने पनि अधिकांश शोको उल्लेख्य प्रभाव देखिँदैन ।

भ्युजकै आधारमा कमजोर भनेर मूल्यांकन गर्न नमिल्ने राजेशपायलको तर्क छ । उनी थोरै भ्युज भएको कन्टेन्टले पनि करोडौँ भ्युज भएको कन्टेन्टको भन्दा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताउँछन् ।

“अहिले रियालिटी शो आउँछन्/जान्छन्, त्यसको प्रभाव खासै देखिएको छैन । असर भने प्रोडुसरलाई देखिन्छ । जति धेरै रियालिटी शो आउँछन्, त्यति धेरै रेभिन्यु सेयर भइरहेको छ,” निर्देशक भण्डारी भन्छन्, “नयाँ आउने शोले प्रसारणमा रहेका रियालिटी शोको रेभिन्यु खोस्ने मात्रै हो ।”

चलेका रियालिटी शो देखाएर कमाउने आश्वासन दिई नयाँ ल्याउने कार्य भइरहेको उनको भनाइ छ । “चलेका शो देखाएर निर्मातालाई लगानी गर्न लगाउने चलन बढेको छ,” विशाल भन्छन्, “जसरी सिनेमामा निर्माता डुबेका थिए, अहिले त्यसैगरी रियालिटी शोका निर्माता डुबिरहेका छन् ।”

राम्रो एजेन्सीले लिएको खण्डमा लगानी उठाए पनि कन्टेन्ट उत्कृष्ट नभए त्यसको प्रभाव न्यून हुने विशाल सुनाउँछन् । राम्रो चल्छ भनेर ल्याइएका शोहरू निरन्तर घाटामा गइरहेको उनी बताउँछन् । “कमेडी शो चल्ने रहेछ  भनेर ल्याइएका शोहरू पनि नचलेको देखिएको छ । आइडल र भ्वाइस चल्यो भनेर आएका सिंगिङ रियालिटी शो पनि घाटामा गएका छन्,” विशाल भन्छन्, “ब्रान्ड बनिसकेका शो भने कुनै एउटा शृंखला घाटामा भए पनि कुनै शृंखला क्लिक भएर नाफामा जान सक्छ ।”

शोको इज्जत बचाउन कतिपय रियालिटी शोले युट्युबमा भ्युज किन्ने गरेको उनको जिकिर छ । सुरुका केही शृंखला स्पोन्सर गरेर दर्शकमा पुर्‍याए पनि अन्ततः कन्टेन्ट नै बलियो हुनुपर्नेमा उनको जोड छ । भ्युज किनेर धेरै देखाइने शोले प्रभाव छोड्न नसक्ने विशाल बताउँछन् ।

अहिले करिब तीन दर्जन रियालिटी शो आउने तयारीमा छन् । यी रियालिटी शोबाट प्रतिशो तीन करोड रुपैयाँ लगानी डुब्दा टेलिभिजन ब्रोडकास्टिङमा यो वर्ष रियालिटी शोका नाममा करिब एक अर्ब रुपैयाँ गुम्ने विशालको भनाइ छ ।

नेपालमा कन्टेन्ट क्रिएटरको कमी रहेको उनले औँल्याए । “हामीमा अध्ययन छैन । मेरो टार्गेट ग्रुप कुन हो र त्यसमा कसरी पुग्ने भन्नेमा हामीमा पर्याप्त अध्ययन छैन,” विशाल भन्छन्, “सिंगिङ रिलालिटी शोमा गाउने नै हो । तर, त्यसलाई दर्शकसँग कसरी कनेक्ट गराउने भन्ने कुरामा मिहिनेत गर्नुपर्छ, जुन हाम्रोमा निकै कम छ ।”

सिंगिङ रियालिटी शोमा गायनसँगै दर्शकसँग कनेक्ट कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । अन्यथा, जतिसुकै राम्रो प्रस्तुति भए पनि त्यसले दर्शक होल्ड गर्न सक्तैन । तर, यही सन्दर्भ कमेडी रियालिटी शोमा लागु हुँदैन । कमेडीमा जोक नै बलियो हुनुपर्छ । पञ्चलाइनले दर्शकलाई होल्ड गर्छ ।

अब पुरानै तरिकारले रियालिटी शो चलाए त्यसमा दर्शकको आकर्षण नरहने र रियालिटी शोप्रतिको लगाव घट्ने ‘नेपाल आइडल’ निर्देशक सुरेश पौडेल बताउँछन् । अब नयाँ फर्म्याट, कडा मिहिनेत र ठूलो लगानीबिना रियालिटीमा दर्शकलाई होल्ड गराउन नसकिने उनको भनाइ छ ।

चलिरहेको भन्दा फरक तरिकाले आउन सके अझै स्कोप रहेको तर पुरानै कुरालाई दोहोर्‍याएर र वा नक्कल गरेर अहिलेको प्रतिस्पर्धी बजारमा टिक्न नसकिने सुरेशको धारणा छ ।

“अहिलेसम्म सिंगिङ रियालिटी शोमा हामीले चार/पाँचवटा सहरमा पुगेर अडिसनमा केही सम्भावना देखेका व्यक्तिलाई तीनजना निर्णायकले यसले गाउन सक्छ भनेर लिएर आएका छौँ,” सुरेश अगाडि थप्छन्, “काठमाडौंमा ल्याएर एकजना म्युजिक टिचरसँग दुई दिन सिकाएर स्टेजमा उतार्दै आएका हौँ । अब यसरी शो चल्दैन ।” 

एउटै तरिका सधैँ र सबैले अपनाउँदा एकै खालका व्यक्ति आउने गरेको र त्यसबाट दर्शक दिक्क भइसकेका उनको अनुभव छ । अब अडिसनमा जानुअगाडि रिसर्च गरेर ६ महिनाअगाडि नै सम्भावित व्यक्तिलाई त्यही समयदेखि सिक्ने/सिकाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ । “यसको खर्च टेलिभिजन, प्रोडुसर वा व्यक्ति स्वयंमध्ये कसले गर्ने त्यो छलफलको विषय होला,” सुरेश भन्छन्, “तर, जसरी होस् रियालिटी शोको स्टेजमा उत्रिँदा बजारमा अहिले गाइरहेका गायक–गायिकाभन्दा उसको स्वर मिठो सुनिनुपर्छ । अब पुरानै तरिकाले सिंगिङ रियालिटी शो चल्दैनन् ।”

कम्तीमा ६ महिनाअगाडि आफ्नो शोका लागि सम्भावित व्यक्ति पहिचान गरेर उसलाई कला निखार्न नलगाए अब सिंगिङ रियालिटी शोले दर्शकको ध्यान खिच्न नसक्ने उनी बताउँछन् ।

औपचारिक शोको दुई दिनअगाडि मात्र म्युजिक टिचरले सिकाएर स्टेज चढ्दैमा दर्शकको ध्यान खिच्न सकिँदैन भन्नेमा अब ढुक्क हुनुपर्ने उनी बताउँछन् । “क्लासिकल म्युजिकमा क्षमता राख्ने र वेस्टर्न म्युजिक गाउन सक्ने दुवैलाई एउटै म्युजिक टिचर राखेर अब सिंगिङ रियालिटी शो चल्दैनन्,” उनी अगाडि प्रश्न गर्छन्, “एउटा रियालिटी शोबाट निस्किएका प्रतिस्पर्धी अर्कोमा, अर्कोबाट निस्किएको त्यही व्यक्ति अर्को शोमा गइरहेका छन्, त्यही एउटै व्यक्तिलाई दर्शकले कहिलेसम्म र कति हेर्ने ?”

प्रतियोगीमात्र होइन, अब निर्णायक पनि फरक तरिकाले आउनुपर्ने सुरेशको मत छ । कुर्सीमा बसेर गाएको सुनेपछि आफ्नो धारणा राखेर मात्र निर्णायकको भूमिका अब पूरा नहुने उनको तर्क छ । उनीहरू कसरी फरक तरिकाले प्रस्तुत् हुन सक्छन्, त्यसबारे स्वयं निर्णायक र आयोजकले सोच्ने बेला भइसकेको सुरेशको धारणा छ ।

“के गर्ने र कसरी गर्ने त्यो छलफलपछि तय गर्न सकिएला । तर, अब पुरानै तरिकाले रियालिटी शो चल्दैन भन्ने देखिसक्यो,” उनी भन्छन्, “फ्रेन्चाइजले पनि नयाँ प्रयोेग गर्न नसकेको देखिएको छ । मौलिक शो पनि मौलिकपन लिएर आउन सकेनन् ।”

थप मिहिनेत र लगानी नगरे रियालिटी शोको नम्बर मात्र थपिने तर त्यसको प्रभाव र आकर्षण भने नरहने सुरेश बताउँछन् ।

गायक राजेशपायल गायक–गायिकाको चुलो बाल्ने रियालिटी शोको संख्या बढ्नु सुखद पक्ष भएको बताउँछन् । नयाँ प्रतिभालाई अवसर र प्लेटफर्म दिने रियालिटी शोको संख्या बढ्नु नकारात्मक नभएको तर त्यसले गायक–गायिकालाई उचित अवसर प्रदान गर्न सक्नुपर्नेमा उनको जोड छ । 

“रियालिटी शोको संख्या थपिनुलाई म प्रतिभाका लागि अवसर र नयाँ प्लेटफर्म थपियो भनेर बुझ्छु,” राजेशपायल भन्छन्, “शोको प्रायोजक मात्रै मोटाउने तर गायक–गायिकालाई केही हुँदैन भने त्यो ठिक होइन । गायक–गायिकाको चुलो बल्छ कि बल्दैन, त्यो महत्त्वपूर्ण पक्ष हो । गायक–गायिकाको चुलो बल्छ भने रियालिटी शो थपिनु सकारात्मक पक्ष हो ।”

एउटा रियालिटी शोमा कतिले रोजगारी पाउँछन्, त्यसलाई पनि ध्यान दिनुपर्नेमा उनको जोड छ । नयाँ प्रतिभाले नयाँ प्लेटफर्ममार्फत कलाकारका रूपमा पहिचान बनाउने कुरालाई नकारात्मक रूपमा लिन नहुने उनको धारणा छ । 

“कुनै एउटा प्लेटफर्ममा हारेको व्यक्तिले अर्कोमा जित्न सक्छ । त्यसैले यस्ता प्लेटफर्मको विकास र विस्तार हुनुपर्छ,” उनी भन्छन्, “फेरि, नजित्दैमा कमजोर वा सकियो भन्ने पनि हुँदैन । यस्ता प्लेटफर्म भनेको त नोटिस हुने ठाउँ हो । अरजित सिंह र नेहा कक्कड शो जितेका प्रतिभा होइनन्, तर आज उहाँहरूले संसारको मन जित्नुभएको छ । तर, उहाँहरूलाई अवसर शोले नै दिएको हो ।”

थोरै भ्युअर्स र कम नोटिस हुँदैमा त्यसलाई नराम्रो भन्न मिल्ने उनको तर्क छ । “मेरो युट्युब च्यानलमा कुनै गीत ५० हजारले मात्रै हेरेका छन् । कुनै गीत करोडपटक हेरिएका छन्,” राजेशपायल भन्छन्, “करोडपटक हेरिएका गीतले सामाजिक क्रान्ति नै गरेका तर ५० हजार हेरिने गीत नराम्रा भन्ने होइनन् ।”

कतै न कतै कुनै न कुनै रूपमा भने रियालिटी शो चुकिरहेको सत्य नकार्न नसकिने उनी बताउँछन् । “संगीतलाई भाषामा, वेशभूषामा र लवाइखवाइमा तथा आर्थिक अवस्थासँग तुलना गरेर मूल्यांकन गर्ने गरेको मैले देखेको छु,” उनी भन्छन्, “म मात्रै एउटा त्यस्तो कलाकार हुँ, जो संगीतलाई व्यक्तिको अरू पक्षसँग तुलना गरिनु हुँदैन भनेर आवाज उठाउँदै आएको छु ।”

आफू निर्णायकभन्दा पनि कोच रहेको उनी स्पष्ट पार्छन् । ‘जज’ भनेको अपराधीलाई सजाय दिने व्यक्ति हुन् भन्दै उनी आफू कोच रहेको र आफूले जानेको कुरा प्रतिभालाई सकेसम्म सिकाउने बताउँछन् ।

“कोच भनेको साथीजस्तो पनि हो । मैले जानेको बुझेको सिकाउन सकेँ भने त्यो मेरो उपलब्धि हो । वैशाली लामा, मेलिना मैनाली, मिन्छमा राई, खेम तामाङ मैले लिएका प्रतिभा हुन् । उनीहरूले शो जितेनन्, तर अहिले उनीहरूको चुलो बलेको छ । उनीहरूले पपुलारिटीसँगै कमाएका पनि छन् । उनीहरूलाई भ्वाइस अफ नेपालले उकासेको हो । त्यसैले यस्ता शो आउनु राम्रो हो भन्ने मेरो मान्यता छ ।”

नेपालमा रियालिटी शो आयोजना गर्ने र आयोजक मात्र मोटाउने गरेको भन्ने आफूले सुनेको बताउने उनी भन्छन्, “आयोजक मोटाउने तर कलाकार पपेटमात्रै हुने हो भने त्यसलाई म राम्रो मान्दिनँ । स्टोरी देखाएर ब्ल्याकमेल मात्रै गर्छ भने त्यो राम्रो होइन । उद्देश्य के हो त्यसको औचित्य पुष्टि हुनुपर्छ ।”

रियालिटी शो टेलिभिजनको टीआरपीका लागि पनि आवश्यक भइसकेको तथ्यलाई नकार्न सकिँदैन । टेलिभिजन च्यानललाई ‘कम्प्लिट प्याकेज’ बनाउन पनि रियालिटी शो अनिवार्यजस्तै भइसकेको राजेशपायल बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro