site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा प्रधानमन्त्री उमेदवार : गगन पुस्ता कि पुरानै अनुहार ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अब ७५ दिन बाँकी छ । दलहरू गठबन्धन गर्न व्यस्त छन् । सत्ता गठबन्धनमा रहेका पाँच दललाई सिटको टुंगो लगाउन ‘हम्मे–हम्मे’ परेको छ । नेकपा (एमाले)ले पनि साना दलहरूसँग चुनावी गठबन्धन गर्ने तयारी गरिरहेको छ । 

भदौ ११ गते सम्पन्न भएको नेकपा(एमाले) केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो । यो निर्णयसँगै मंसिर ४ मा हुने निर्वाचनमा एमालेले ओलीलाई प्रधानमन्त्री उमेदवारका रुपमा प्रस्तुत गर्दैछ । 

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले भने आफ्ना कतिजना उमेदवार हुन्छन् भन्ने टुंगोसमेत गरिसकेको छैन । कांग्रेसको आन्तरिक एकता निर्वाचनमा देखिन्छ देखिँदैन त्यो भोलिका दिनले नै बताउने छन् । तर, अहिलेसम्म सिट संख्यादेखि गठबन्धनको अवधारणासम्म एकमत देखिएको छैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेस मात्र होइन गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता ससमाजवादी पार्टी (जसपा) कसैको पनि सिट संख्या टुंगो लागेको छैन । सिट बाँडफाँटको रस्साकस्सी चलिरहँदा भावी प्रधानमन्त्रीको नाम लिएर चुनावमा जाने अवस्थामा गठबन्धन देखिँदैन । 

गठबन्धनमा प्रतिनिधित्व गर्ने दलहरूले पनि आ–आफ्नो दलबाट प्रधानमन्त्रीको रूपमा कुनै नेतालाई अघि बढाएका छैनन् । 

Royal Enfield Island Ad

सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा दाबी गर्ने दल नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) मात्र देखिन्छ । 

केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममार्फत आफू एकपटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने चाहना प्रकट गरेसकेका छन् । उनलाई माओवादी केन्द्रमा चुनौती दिएर उमेदवारी प्रस्तुत गर्ने अर्को पात्र देखिएको छैन । 

तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा भने उमेदवारको लहर नै देखिएको छ । 

शनिबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँ पुगेर आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । दमौलीस्थित भानु माविको कार्यक्रममा प्रमुख वक्ताका रूपमा पुगेका पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताए । सामाजिक न्याय, जनताको सुरक्षा र सुशासनका लागि देशले आफ्नो भूमिका खोजेको भन्दै उनले सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिने बताएका छन् । 

“सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी नै छ । देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु । देशको उन्नति, प्रगति र भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि पनि मसंँग छ,” पौडेलले भनेका थिए, “कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ । सुशासन दिनका लागि कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ ।”

आफू देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे नभएको भन्दै उनले विचलित नभइ १४ वर्ष जेलमा जीवन बिताएकाले पनि देशको नेतृत्व गर्ने आँट आफूसँग भएको उल्लेख गरे ।

पौडेल भन्दा धेरै अघि नेपाली कांग्रेका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा ‘एटेम्ट’ गर्ने घोषणा गरेका हुन् । थापाले सार्वजनिक सञ्चारमाध्यममार्फत् आफू प्रधानमन्त्रीमा यसैपटक प्रयास गर्ने बताएका हुन् । 

थापाले उमेदवारी सार्वजनिक गरेपछि त कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन नै जनाए । उनले थापाको दाबी स्वाभाविक मात्र नभएर सामयिक पनि भएको भन्दै कांग्रेसले स्वतन्त्रसहित दलहरूले अघि सारेका भन्दा युवा र देश अघि बढाउने योजना भएका व्यक्ति अघि बढाउँछ भनेर देखाउन पार्टीले नै त्यस्तो गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसमा पार्टी सभापति नै संसदीय दलको नेता पनि हुने विगतको अभ्यास हेर्दा वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा  आफैँले बन्दिन भनेर घोषणा नगर्दासम्म संसदीय दलका नेता र प्रधानमन्त्रीका उमेदवार हुन् । 

यसबाहेक यसपटक देउवा पत्नी आरजू राणा देउवाको पनि आकांक्षा अनौपचारिक रूपमा सार्वजनिक भइरहेको छ । प्रधानमन्त्री देउवाले नै त्यसको तयारी गरेको भन्दै कांग्रेस पदाधिकारीबाट सार्वजनिक भएको चर्चा सार्वजनिक सञ्चारमाध्यममै बहस हुने चरणमा पुगिसकेको छ । 

देउवा अन्तिम पटकका लागि सभापति भएको र उनी शक्तिमा हुँदै स्थापित नगरे देउवा विरासत नजोगिने विश्लेषणसहित देउवा नजिककाहरू आरजूलाई प्रधानमन्त्री बनाउन जित सुनिश्चित हुने निर्वाचन क्षेत्रकै खोजीमा जुटेका छन् । यसले कांग्रेसमा अबको प्रधानमन्त्री उमेदवार को ? भन्ने प्रश्न उठाएको छ । 

सहमहामन्त्री भीष्मराज आङ्दम्बे पार्टीले कस्लाई प्रधानमन्त्री बनाउने भन्ने विषमया छलफल नै नगरेकाले नेताहरूबाट आएका अभिव्यक्तिहरूलाई नितान्त व्यक्तिगत धारणा भएको बताउँछन् । उनले नेताहरूबाट इच्छा हुनु स्वाभाविक भए पनि पार्टीको उमेदवार बन्न भने निर्णय आवश्यक हुने बताए ।

“पार्टीमा प्रधानमन्त्री को भन्ने विषयमा केही कुराकानी भएकै छैन । रामचन्द्र दाइले त्यहाँ गएर आफ्नो कुरा राख्नु भएको होला,” सहमहामन्त्री आङदम्बेले बाह्रखरीसँग भने, “उहाँको पनि प्रधानमन्त्री हुने इच्छा त स्वाभाविक हो नि । तर, पार्टीमा सल्लाह गरेर बोल्नुस् भनेको जस्तो लाग्दैन ।”

७६ दिनपश्चात् हुने चुनावमा अहिलेकै तयारी हेर्दा कांग्रेस एक्लै लड्ने छैन । कांग्रेससँग माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँगको गठबन्धन छ । ५ दलले १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रलाई कतिकति सिट राखेर बाँडफाँट गर्ने भन्ने सहमति भइसकेको छैन । निर्वाचनपश्चात् पनि गठबन्धनलाई कायम गर्ने भनिए पनि कस्को नेतृत्वमा सरकार बनाउने भन्ने सझदारीसमेत निर्माण भएको छैन । 

तर, कांग्रेस नेताहरू आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्छन् । केही दिनअघि महामन्त्री गगन थापाले पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सार्वजनिक कार्यक्रममा उद्घोष गरेका थिए । 

कांग्रेस प्रवक्ता प्रकाशशरण महत अर्को व्यक्तिका विषयमा निर्णय नहुँदासम्म पार्टीबाट सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको स्वाभाविक आकांक्षी भएको भन्दै पार्टीभित्र प्रधानमन्त्री कसलाई बनाउने विषयमा छलफल नभएको बताउँछन् । प्रधानमन्त्री बन्न योग्य व्यक्तिहरू धेरै भएको भन्दै उनी पार्टीभित्रै सबैको ध्यान कांग्रेस र गठबन्धन जिताउन हुनुपर्ने बताउँछन् । 

“अहिले चुनाव नै भएको छैन । चुनावको सम्मुखमा छौँ हामी । त्यसकारण अहिले हाम्रो सम्पूर्ण ध्यान कसरी निर्वाचनमार्फत बढी भन्दा बढी मत ल्याएर पार्टीको नेतृत्वमा सरकार बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने हो,” प्रवक्ता महतले बाह्रखरीसँग भने, “पार्टीभित्र प्रधानमन्त्री बन्न योग्य धेरै छन् । म नै योग्य छु भन्दै हिँड्नुभन्दा पनि अहिले पार्टीलाई कसरी जिताउने  र गठबन्धन सफल बनाउने तथा पार्टीलाई नेतृत्वदायी भूमिकामा कसरी पु¥याउने भन्नेमा हुनुपर्छ ।” 

‘प्रधानमन्त्री म हुन्छु, तँ हुनुपर्छ, म योग्य छु भन्दै हिँड्नु’ निरर्थक भएको भन्दै चुनाव सकिएपछि मात्र यो विषयमा छलफल हुनु उपयुक्त हुने प्रवक्ता महतको तर्क छ । 

प्रधानमन्त्रीको आकांक्षी बढे पनि कांग्रेसभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा अघि बढाउँदा जनतामा नैराश्यता बढ्ने भय पार्टीभित्र इतर समूहका नेताहरूमा छ । उनीहरू पहिलो र ‘टेस्टेट’ पुस्ताबाट देश र पार्टीले लिनुपर्ने लाभ लिइसकेको भन्दै पुस्तान्तरणको बहस चलिसकेको दाबी गर्छन् । 

कांग्रेस नेता गुरुराज घिमिरे प्रधानमन्त्रीमा व्यक्ति अघि सार्नुको उद्देश्य त्यो व्यक्तिलाई हेरेर जनतामा उत्साह आओस् र भोट पनि बढोस् भन्ने भएको भन्दै त्यस्तो अवस्था निर्माणका लागि सरकारमा गएर टेस्ट नभएका व्यक्ति वा युवा पुस्ता आवश्यक हुने बताउँछन् । देउवाको विकल्पमा डा. शेखर कोइराला वा महामन्त्री गगन थापा उपयुक्त पात्र भएको उनको बुझाइ छ । आसन्न निर्वाचनका लागि पार्टीले प्रधानमन्त्रीका रूपमा कुनै नेतालाई अघि सारेर वा घोषणा गरेर जाने संकेत भने उनले देखिरहेका छैनन् । 

“हामी गठबन्धनमा छौँ । गठबन्धनमा गएपछि हामीले एकल बहुमत ल्याउछौँ भन्ने ढोका बन्द भएको अवस्थामा प्रधानमन्त्री घोषणा गरेर अघि बढ्न गाह्रो भयो,” घिमिरेले बाह्रखरीसँग भने, “फेरि प्रधानमन्त्री नै घोषणा गरेर चुनावमा गएपनि अघि सारेको व्यक्तिले जनमत बढाउनुपर्‍यो । त्यसका लागि युवा पुस्ता वा सरकारमा नगएका मान्छे अहिले जनताले खोजेका छन् । कांग्रेसले शेखर दाइ वा गगनजीलाई अघि बढाउनुपर्छ । शेखर दाइ दोस्रो पुस्ता हो । पुरानो पुस्ताले गरेको काम जनताले भोगिसकेका/देखिसकेका छन् । पुरानो पुस्ता भन्दा अहिलको युवा पुस्ताप्रति जनताको आकर्षण छ ।” 

नेता घिमिरे प्रधानमन्त्री आफैँ बन्नुभन्दा देश जनताले आफूलाई खोजेको छ छैन भनेर नेतृत्वले पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँछन् । 

“शीर्षस्थ व्यक्तिले नै पदका लागि हानथाप गरेर प्रधानमन्त्री त बन्नुहोला तर, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा पुगेर जनताको आकांक्षा सम्बोधन गर्न त सक्नुपर्यो नि !,” घिमिरेले भने, “आफू बन्छु भनेर मात्र त हुँदैन । हाम्रो अहिलेका पहिलो पुस्ताले अब बिदा लिनुपर्छ भन्ने अहिलेको जेनेरेसनको माग छ । तर, शीर्ष नेताहरूमा यो विषयमा गम्भीरता देखिएन ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro