काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।
नेपाली सेनाको आधिकारीक ट्विटर ह्याण्डलमा ट्विट गर्दै प्रवक्ता नारायण सिलवालले यसबारे जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा उनले सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरेकी थिइन् ।
नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहिआएको छ ।
वि.सं. २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।
वि.सं. २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ महारथी विभूषित गरिएको थियो । अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए ।
सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो ।
हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।
जनरल पाण्डे आइतबारदेखि पाँच दिनको लागि नेपाल भ्रमणमा छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।