काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने भ्रमणका काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।
११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।
यस्तै, भ्रमणको दौरान जनरल पाण्डेले भारतमा विवाद भइरहेको अग्निपथ स्किमबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले बताएपनि उक्त विषय एजेन्डामा नरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदीले बाह्रखरीले जानकारी दिए ।