1662275521.jpg)
बुटवल । हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने क्रम अनुरूप रूपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ ।
छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ शय्याको अस्पताल निर्माण गर्नका गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।
२१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आव्हान गरिएकोमा १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
दशौँ तहका डाक्टर (मेडिकल सुपरिटेन्डेन्ट)को नेतृत्वमा मेडिकल अधिकृतसहित डाक्टर, नर्ससहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीबासीले चिकित्सकीय सेवा, आकस्मिक, ओपीडी, फार्मेसी, ल्याब, रेडियोलोजीलगायतका सुबिधा प्राप्त गर्ने छन् ।
अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले सरकारले नागरिकको स्वास्थ्यलाई विषेश ख्याल गर्दै एक पालिका एक अस्पतालको अवधारण ल्याएको बताए ।
मन्त्री खाँणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामी दुई वर्ष पछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाँउ जान नपर्ने उल्लेख गरे । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले अस्पतालको निर्माण पछि सियारीबासी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए ।