
काठमाडौं । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपको मंगलबारको खेलमा चर्च ब्वाइज युनाइनेटलाई १–० ले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ ।
मच्छिन्द्रका लागि विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरू गुमाएपछि परिचित प्रतिद्वन्द्वी एपीएफसँग संघर्षपूर्ण जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो ।
एपीएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागी हुन परेका कारण अपेक्षित खेल प्रदर्शन हुन नसकेको बताए । खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भएसँगै नगद ११ हजार पुरस्कारस्वरूप पाएका छन् । बुधबार हुने पहिलो सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
फाइनल खेलको विजेताले नगद रु १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद रु २५ हजार र ट्रफी पाउने छन् ।