
काठमाडौं । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोसीको यो दोस्रो हार हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो । २८५ रनको लक्ष्य पछ्याउने क्रममा कोसी प्रदेशको पारी ३३ ओभरमा ११९ रनमा समेटियो ।
मधेस प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे । तीनै जनाले अर्धशतकीय पारी खेले । अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए । यस्तै पवनले ८५ बलको सामना गर्दै दुई छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । दीपेशले ६० बल खेल्दै एक छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए । हरिशंकर साहले २९ रन बनाए ।
बलिङतर्फ कोसी प्रदेशका प्रकाश कार्की र विपिन महतोले दुई दुई तथा फिरदोस अन्सारी र दीपेश कँडेलले एक विकेट लिए । ९२ रन बनाएका पवन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यसैगरी कोसीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५, सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए । बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए । यस्तै राजेश यादवले तीन तथा हरिशंकर साह र प्रदीप पासवानले एक एक विकेट लिए । सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।