पोखरा । शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १४ मा विभत्स घटना घटेको छ । अमेरिकाबाट फर्किएकी श्रीमतीमाथि श्रीमानले खुकुरी प्रहार गरी विभत्स 'हत्या' गरेका छन् । प्रहरीका अनुसार घटना बिहान ८ः२५ मा घटेको हो ।
तिज मनाउन ४४ वर्षीया विमला गुरुङ एक साताअघि मात्रै नेपाल आएकी थिइन् । घरमा छोरी नभएपनि विमलाका तीन छोरा थिए । तीनमध्ये जेठा छोराको चाहिँ विवाह भइसकेको छ । विवाह भइसकेको छोराबाट एउटा नाति पनि जन्मिसकेको छ । ४६ वर्षका श्रीमान लोकबहादुर पनि घरमा नै थिए ।
घरका परिवारबाहेक तिज मनाउन दिदीको घरमा आएकी विमलाकी बहिनी पनि सँगै थिइन् ।
तर, शुक्रबार बिहान जे घटना घट्यो, त्यो घटनाबाट तीन छोराले आमा गुमाए, विमलाले दिदी गुमाइन् । घटना घटाउने उनकै भिनाजु लोकबहादुर थिए । तर, बुहारीले ससुरा र सालीले आफ्नै भिनाजुलाई रोक्ने प्रयास गरे तर, सकेनन् ।
बिहान पौने ८ बजेको कुरा हो । लोकबहादुर घरमा नै थिए । साली, बुहारी पनि घरमा नै थिए ।
अचानक गुरुङले साली र बुहारीलाई घरबाट बाहिर निकाले । त्यसपछि ढोका लगाए र भान्साकोठमा लागि श्रीमतीमाथि अन्धाधुन 'खुकुरी प्रहार गरे' । अनेक हारगुहार गरेपनि साली र बुहारीले ससुरालाई रोक्न सकेनन् । उनीहरूकै अगाडि श्रीमतीको 'हत्या' गरे । त्यसपछि उनले आफैँमाथि खुकुरी प्रहार गरे ।
बुहारीको भनाइ उद्धृत गर्दै पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले भने, “मैले भागेर ज्यान जोगाएँ । मलाई पनि धन्नै मारेनन् ।”
घरभित्रै एक नाबालक बच्चा बिरामी अवस्थामा थिए । बच्चालाई चाहिँ गुरुङले केही गरेनन् ।
लोकबहादुरले आफ्नै श्रीमतीको टाउकोमाथि कैयौँपटक 'खुकुरी प्रहार गरे', श्रीमतीको प्राण उडेपछि आत्महत्याका लागि आफ्नै पेटमा खुकुरी प्रहार गरे । उनी अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा छन् । उनको अवस्था गम्भीर रहेपनि स्थिर छ ।
कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विमलामाथि खुकुरी प्रहार भएको तीन घन्टापछि बिहान ११ बजे उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत घोषणा गरिएको थियो । पोस्टमार्टम भइसकेपनि उनको रिपोर्ट आएको छैन भने उनको शव शुक्रबार साँझ घरमा नै लगिएको छ ।
वडाध्यक्ष कार्कीका अनुसार ७२ घण्टासम्म गुरुङको अवस्था हेर्नका लागि डाक्टरले सुझाव दिएका छन् । उनै वडाध्यक्षको टोलमा नै यो घटना भएको हो ।
घटनाबारे उनीसँग लिएको जानकारी यस्तो छ :
मेरै टोलको आडैमा हो । लोकबहादुर गुरुङ ४६ वर्षका व्यक्ति हुन् । उनले आफ्नै श्रीमती जो, अमेरिकाबाट आएको सात दिन भएको थियो । बिहान पौने ८ बजे विभत्स तरिकाले हत्या गरेका रहेछन् । त्यहाँ पुगेर हेर्दा श्रीमतीको टाउकोमा दसौँपटक खुकुरीले हानेको देखियो, श्रीमतीले रोक्ने प्रयास पनि गरिन् । तर, उनले प्रहार गर्न छाडेनन् । श्रीमती प्राण गइसकेपछि उनले आफ्नै पेटमा खुकुरीले प्रहार गरेका रहेछन् ।
त्यहाँको अवस्था रक्ताम्य छ । घरभित्रको किचेनमा यो घटना भएको हो । घरमा दुईजना पाहुना आएका रहेछन् । उनीहरूलाई बाहिर निकालेर ढोका लगाएर श्रीमतीमाथि प्रहार भएको हो ।
पछि प्रहरी आएर ढोका फोर्यो । सुरुमा श्रीमतीलाई अस्पताल पठाइयो । तर, उहाँको ज्यान बच्न सकेन । पछि भीमबहादुरलाई पनि अस्पताल लगियो । उनको पनि अवस्था गम्भीर छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उनका तीन छोरा हुन् । तीमध्ये एकजना दुबई छन् । दुईवटा छोराको विवाह भएको छ । घटना हुने बेलामा चाहिँ एक छोरा घरमा थिएनन्, अर्का चाहिँ जिम गएका थिए ।
प्रहरी आइपुग्दा जिम गएको छोरा पनि आइपुगेका थिए । प्रहरी आएपछि ढोका फोडेर हेर्दा उनको आफ्नै पेटमा पनि खुकुरी हानेका थिए । भान्साको भुइँ रगतले लतपत थियो ।
वडाध्यक्ष कार्कीका अनुसार गुरुङकी श्रीमती पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् । घरको हेरचाह सबै श्रीमतीले नै गर्ने गर्थिन् । पछिल्लोपटक नेपाल आएको हप्तादिनमा नै बिहान गुरुङले ढोका लगाएर श्रीमतीमाथि खुकुरी प्रहार गरेर हत्या गरेपछि अहिले त्यहाँ सन्नाटा छाएको छ ।