काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ ।
जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो ।
‘नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमा समेत क्षति पुग्ने गरी डोजर र स्काभेटर प्रयोग गर्ने गरेको जनगुनासो आएपछि यसको प्रयोगलाई नियन्त्रण गर्न नगरको अनुमतिको प्रक्रिया अगाडि बढाइएको’ नगर प्रमुख दीपक रिसालले बताए ।
मेसिनको प्रयोग गर्नुपरेमा वडाध्यक्ष तथा नगर प्रमुखको अनुमति लिएर गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । अन्यथा, प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ । रासस