बुटवल । नेपाली कांग्रेसका नेता भरतकुमार शाह आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–५ बाट उमेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रमा कांग्रेसका तर्फबाट उनको एकल नाम सिफारिस गरिएको हो । हाल उनी संसद्को सार्वजनिक लेखा समितिका सभापति छन् ।
उनले सोही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । प्रत्यक्षतर्फ यस क्षेत्रबाट शाहको मात्र नाम सिफारिस गरिएको क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए ।
यस क्षेत्रबाट समानुपातिकतर्फ आठजनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ डा. अनिता शाह ढुंगाना, देवीप्रसाद शर्मा जैशी, खडानन्द खनाल, कमलप्रकाश भुसाल, गोविन्द शर्मा चालिसे, डोलबहादुर थापा, डिल्लीप्रसाद ज्ञवाली, यमबहादुर खत्री र योगेन्द्र चौधरीको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।
०५६ सालको निर्वाचनमा शाह यसै क्षेत्रबाट विजयी भएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा शाह नेकपा (एमाले)का दिवंगत नेता रामनाथ ढकालसित पराजित भएका थिए । ०७० को निर्वाचनमा शाहले ढकाललाई झिनो मतान्तरले हराएका थिए । ०७४ पनि शाह नै विजयी भएका थिए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबरजस्तै आएको देखिन्छ ।