धानैमा कुट्नु ढुकुमा ढुकु...
मेरो नाम इन्द्रमाया !
तर, मेरो नाम र जिन्दगीमा गहिरो खाडल छ नानी ! न कुनै इन्द्रको माया पाउन सकेँ न यमराजको दया हुन सक्यो । बगैँचाको फूलजस्तो मेरो जिन्दगी २९ वर्षकै उमेरमा खडेरीमा झरेको पातजस्तो भयो । त्यसपछि म इन्द्रमाया होइन विधवा आमाको रुपमा चिनिन थालेँ ।
विधवा आमाले यी वाक्य भनि सक्दानसक्दै दर्शक दीर्घामा सन्नाटा छाउन थालिसकेको थियो । दर्शक हलचल नगरी एकाग्र हुन्छन् । विधवा आमा थोरै अनौपचारिक हुन्छिन् । विधवा आमा विधवाको मनमा गढेर बसेको पीडा कसैले हुबहु भन्न र उतार्न नसक्ने बताउँछिन् । एउटी विधवाको अन्तरमनको पीडा अर्को विधवाले जति भलिभाँती कलाकार त के रवि नपुग्ने ठाउँमा पुग्ने कवि मनले पनि अनुभूत गर्न नसक्ने बताउँछिन् ।
भीडको अगाडि क्यामेराले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कैद गर्छ । उनी पीडा र हाँसोबीचको प्रतिक्रिया व्यक्त गर्छिन्, कारण छोरोले राष्ट्रपतिको अगाडि आमाले बोल्न नजान्नु होला भनेर सिकाएको सुनाउँछिन् । यहीँनेर हजार शब्दले पनि व्याख्या गर्न नसक्ने शब्द आमाको जिब्रोबाट फुत्किन्छ– ‘पड्के मलाई बोल्न सिकाउँछ, मैले त्यसलाई बोल्न नसिकाएको भए त्यो लाटै हुन्थ्यो ।’
उनले आफू र राष्ट्रपतिको पीडा उस्तै–उस्तै भएको भन्दै तुलना गर्छिन् । कारण राष्ट्रपति पनि एकल महिला हुन् । त्यसो त उनले भिन्नता पनि छुट्याउँछिन्, ‘सातवटा टुहुरा केटाकेही गरिब विधवाले एक्लै हुर्काउनु भनेको संविधान बनाउनु जत्तिकै ठूलो लडाइँ हो नि नानी ।’ यसो भन्दै उनी ठूलो होस् वा सानो हरेक व्यक्तिका समस्या आफ्ना लागि त्यतिकै ठूलो हुने उनी सन्देश दिन्छिन् ।
‘यो मनोजेले मलाई कहाँ फसायो’ भन्दै उनी पर्डियमतिर जान्छिन्, दर्शकको हाँसोको फोहोरा फुट्छ । ठिक त्यति नै बेला क्यामेराको लेन्सले करिष्मा मानन्धरलाई जुम गर्छ । उनको उन्मुक्त हाँसो देखिन्छ । नहासुन् पनि किन ? विधवा आमा बनेर प्रस्तुति दिने स्वयम् उनै मनोज गजुरेल थिए । उनी विधवा आमाको भेषमा आम ‘विधवा आमा’हरूले भोगेको तीतो कथा सुनाउँन खोज्दैथिइन् ।
सास् बढ्यो म पानी खान्छु...
मेरो बिहे गर्दा म जम्मा नौ वर्षकी थिएँ । मेरो कसरी बिहे भयो, कसरी जवान भएँ, छोराछोरी कसरी हुर्किए मलाई थाहै भएन । किन भनेँ मलाई श्रीमान्ले बच्चाजस्तै गरेर हुर्काउनु भएको थियो । जब उहाँ जानुभयो त्यसपछि थाहा पाएँ, श्रीमान् र श्रीमतीको सम्बन्ध कति गहिरो हुँदोहरेछ भनेर ।
क्यामेराको लेन्स फेरि एकपटक राष्ट्रपतिकोमा आएर अडिन्छ । उनी एकटकले मञ्चतिर हेरिरहेको देखिन्छ । आँखा भरिला देखिन्छन् ।
एउटा छोरो मर्यो दिदी बहिनीका लागि माइती मर्यो । छोराछोरीका लागि उनीहरूको बाउ मर्यो । तर, मेरा लागि संसार मर्यो । सास मर्यो । सारा मर्यो । सर्वस्व मर्यो । आफ्नो सर्वस्व सकिँदा पनि आफू ज्युँदै रहन सक्नु सानो चमत्कार होइन नानी !
श्रीमान् बितेपछि अभाव, एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो । एकमनले भन्थ्यो– यस्तो जिन्दगी बाँचेर के काम ! मर्दिन्छु बरु । अर्को मनले सम्झाउँथ्यो– ती सातवटा लालाबालाको के अवस्था हुन्छ । फेरि अर्को मनले भन्थ्यो– बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन्, मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि ! तर, फेरि अर्को मनले सम्झाउँथ्यो जन्म दिनु र आमा हुनु यी दुई फरक कुरा हुन् ।
घुमिरहेको क्यामेराका लेन्स अर्जुन घिमिरे (पाँडे), एमाले नेता प्रदीप ज्ञवाली र रवि लामिछानेमा पुगेर अडिन्छ, उनीहरू भावुक भएर सुनिरहेका स्पष्टै देखिन्छ ।
विधवा आमा आफ्नो कथा सुनाइरहन्छिन्, आमा हुनुको अर्थ र बडेमानको जिम्मेवारीको कथा भनिरहन्छिन् । म जन्मदाता मात्रै थिइनँ । आमा पनि थिएँ, त्यसैले म चाहेर पनि मर्न सकिनँ ।
मरेर जाने त गइहाल्छन्, बाँच्नेलाई पनि जिउँदै मारेर जाँदारहेछन् । घरमुलीको मृत्युसँगै घरको छाना पनि चुहिन थाल्यो । केटाकेटीको नाना पनि च्यातिन थाल्यो । परिवारको दाना पनि बन्द भयो । समाजले मलाई घरमुलीको हैसियत दिएको भए यति धेरै दुःखको आहालमा डुब्नुपर्ने थिएन होला । भोक र शोकको आगोमा जल्नुपर्दा बेलाबेला मन बहिकिँदै बेलाबेला भन्थ्यो– यसरी पटकपटक मर्नुभन्दा एकैपटक मर्न पाए हुन्थ्यो । यस्तोबेला धनको भन्दा मनको साथ चाहिँदोरहेछ ।
सायद पूर्वजन्ममा केही सुकाम गरेकी थिएँ, त्यसैले होस्टे गर्न माइती आएँ । हैंसे गर्न छिमेकी आए । तँ चिता भन्ने आफन्त आए । म पु¥याउँछु भन्न दैव आयो । त्यसैले त मेरा खसमले रोपेको त्यही धुपीको बोटजस्तै अहिलेसम्म ठिङ्ग उभिन सकेकी छु ।
मनोज विधवा महिलाले समाजमा झेल्नुपर्ने दुःखका चाङ सुनाउँछन् । एकल महिला भएर बालबच्चा हुर्काउन बेहोर्नु पर्ने अभाव र त्यसमा मलम लगाउन आइपुग्ने आफन्तको बिर्सिनसक्नु लगाएको गुन सम्झिन्छन् । मञ्चमा बसेर हेरिरहेकी उनकी श्रीमती अरुहरुले जस्तै रुमालले आँसु पुस्छिन् ।
एकजना विधवा थिइन् हाम्रो गाउँमा, साह्रै सोजी बोल्न नसक्ने । घर निकाला गर्नलाई गाउँकै एउटा सीधा लोग्ने मान्छेसँग बात लगाउन घरभित्रै थुनिदिएछन् आफ्नै परिवारले । नखाएको विष जबरजस्ती खुवाएपछि विचरा मरिन् कोसीमा फाल हानेर । एउटी विधवालाई आफ्नो ज्यान जोगाउनभन्दा आफ्नो इज्जत जोगाउन ठूलो कुरा हुन्छ । बरु बाघ भालुबाट आफूलाई जोगाउन सकिन्थ्यो । तर, मान्छेरूपी गिद्धहरूबाट जोगाउन हामीलाई कठिन हुन्थ्यो ।
मनोज आम विधवाले हाम्रो समामा भोगेको र भोगिरहेको कथा सुनाउँछन् । खचाखच भरिएको दर्शक दीर्घातिर क्यामेरा घुमिरहन्छ । सबैका अनुहार उस्तै मलिन, उस्तै निन्याउरो । आमाको दुःखमा समाहीत भइरहेका ।
एकदिन मैले आमालाई भनेँ, आमा फलानोले मलाई गोठ जाँदा पनि पछ्याउँछ । घर आउँदा पनि पछ्याउँछ । म के गरुँ आमा ? आमाले त ढाडस दिनुप¥यो नि नानी ! तिमीलाई दुःख दिनेहरुको उठ्नै नक्नेगरी पखेँटा काटिदेऊ । तर, आमाले त्यसो भन्नु भएन । आमाले के भन्नुभयो थाहा छ ? नानी छोड्दे संसारको रितै यस्तै छ । फूल भएको ठाउँमा भमरा आउँछन् । सिनो भएको ठाउँमा गिद्ध आउँछन् । म भमरा हुँ कि सिनो ? मैले अहिलेसम्म बुझेको छैन ।
एकल महिला त्यसमा पनि विधवा अझ त्यसमा पनि गरिव विधवा भएर आफूलाई समाजसँग जोगाउन कति कठिन छ, मनोज हर समाजको यथार्थ कहानी सुनाउँछन् । दर्शकदीर्घामा बसेका अधिकांश भावुक हुन्छन् । धेरैका आशु टिलपिल भएको देखिन्छ ।
दुःखको कहानी सकिएकै छैन, श्रीमान्लाई बिदा गरेको त्यो दिन मलाई अझै याद छ । उता, उहाँको लास जल्दै थियो, यता मेरो सिउँदो पुछिदैथियो । उता लास डढेर अंगार भइसक्दा यता म खरानी भइसकेर सेतो सारीमा पोको परिसकेकी थिएँ ।
क्यामेराले फेरि राष्ट्रपतिलाई कैद गर्छ । उनका आँखा आँसुले टिलपिल भइसकेका हुन्छन् । क्यामेरापर्सनले सायद उनले भोगेको दुःख थाहा पाएका थिए । त्यसैले उनलाई पटक–पटक देखाइरहन्छ ।
सेतो साडीले चाडबाडमा सबभन्दा बढी दुःख दिन्थ्यो । दौंतरीहरू राताम्य भएर नाचगान गर्दैहुन्थे । म सेतो सारीमा पोको परेर पर कुनामा बसेर रुँदैरुँदै बसेर टुलुटुलु हेर्थेँ । कल्पना गर्नुस् त, श्रीमान्ले त साथ छोडेछोडे समाजले पनि संस्कारका रुपमा सेतो सारीमा बन्धक बनाइदिँदा म गाईगोठमा घण्टौंसम्म बाच्छासँग रोएको छु, मान्छेको विश्वास नलागेर ।
एकदिन श्राद्धको दिन मैले बालाई सोधेँ– बा मैले सेतो सारी नलगाउन मिल्दैन ? बाले भन्नुभयो, तेरै सुरक्षाका लागि हो नानी ! बाले कुन सुरक्षाको कुरा गर्नुभएको हो मैले अहिलेसम्म बुझेकी छैन । किनभने मानवरुपी गिद्धलाई न सेतो सारीले रोक्न सक्दोरहेछ न खाली सिउँदोले छेक्दोरहेछ । मलाई एक्लै भेटे मलाई खान सक्थे । छोरीहरूलाई एक्लै भेटे छोरीहरूलाई खान सक्थे । छोरा नहुर्किउन्जेल, छोरी घर नजाउन्जेल मैले सधैँ त्रसित र असुरक्षित महसूस गरिरहेँ । साँच्चै भन्ने हो भने यो सिन्दुुर पुछ्ने र चुरा फुटाउने चलन मलाई पटक्कै राम्रो लाग्दैन । किन थाहा छ ?यो त श्रीमान्को चिनो हो । हौसला, आँट र साहस हो । अहिले रातो सारीमा सजिएका नेपाली छोरी देख्दा मलाई कम्ती खुसी लाग्दैन । तर, बिस्मात् एउटै छ, अलि ढिलो जन्मिन पाएको भए म पनि यस्तै रातो सारीमा सजिन पाउने थिएँ । अहिले त मलाई मेरो जिन्दगी भनेकै यस्तै उराठ हो भन्ने लागेको छ ।
म यसो गमेर ल्याउँछु म मरेको भए मेरा श्रीमान्ले दारी जुंगा काट्थे कि काट्दैन थिए होला । सेतो दौरा सुरुवाल लगाएर एक वर्ष बरखी बार्थे कि बार्दैनथिए होला । श्रीमान् मरेपछि श्रीमतीको खाने, लगाउने बाँच्ने सबै तरिका बदलिन्छ । तर श्रीमती मर्दा पुरुष जस्ताको तस्तै हुन्छ ।
सिस्नोपानी नेपालले छोरी थिम राखेर आयोजना गरेको कार्यक्रममा तालीको गडगडाहट आइरहन्छ । विधवाको कथा अगाडि बढिरहन्छ । नियम, कानुन र संस्कारमा रहेको विभेदमा उनी प्रश्न उठाउँछन् । प्रहरीका महिला अफिसरहरूलाई लक्षित गर्दै उनी भन्छन्, विधवा त्यो पनि गरिब विधवा हुनु कुनै युद्ध लडेभन्दा कम हुँदैन ।
मैले ऊ बेला मेरा कुनै पनि छोरीलाई बिहान ९ बजे घर बस्न दिइनँ । कसैलाई घास काट्न पठाएँ, कसैलाई बाख्रा चराउन पठाएँ किन थाहा छ ? अरूका छोरी स्कुल गएको नदेखुन् भनेर । हामी पनि पढ्छौं भनेर नभनुन् भनेर ।
आमाको मन हो पढाउन मन लाग्थ्यो । तर, चरम गरिबीको जाँतोमा पिसिएकी उनले कसरी पढाई खर्च जुटाउन सक्थिन् र ? गरिबले सिर्जना गर्ने वाध्यता सुनाउँछन् उनी, चाहेर पनि सावाँ अक्षर चिनाउन नसक्ने विधवा आमाले खपेको पीडा सुनाउँदै अगाडि बढ्छिन्, छोरालाई त पढाइस् होला नि भन्नुहुन्छ होला । पढाएँ भन्नु कि पढाइनँ भन्नु त्यो पनि थाहा भएन । अगि बिहान मात्रै छोराले भन्यो– आमा एउटा कुरा भनौं ? मैले भनेँ, भन्न त काले । मैले उहिले एक कक्षामा पढ्दा किताव किन्न नसकेर सात दिन स्कुलबाट निकालिएको कुरा आज मात्रै तिमीलाई भन्दैछु आमा, तिमीलाई टेन्सन हुन्छ भनेर । ६० वर्षको छोरोले घटना घटेको ५० वर्षपछि यो कुरा सुनाउँदा खाटा बसिसकेको मेरो घाउ एकपटक चसक्क दुख्यो ।
चरम गरिबीले सेकेको विधवाको परिवारलाई विनाकसुर लगाइने आरोप र त्यसको जिन्दगीभर लाग्ने दाग कसरी बिर्सिनसक्छ र ? पीडितले । शंका, आरोप र आक्षेप गरिब, टुहुरा र विधवालाई किन लगाइन्छ ? राष्ट्रप्रमुखलाई अगाडि राखेर उनी प्रश्न गर्छन् । श्रीमान् भएको भए यी आरोपको सामना गर्नुपर्ने थिएन । त्यसैले त उनी भन्छन्, ‘थपना नै सही लोग्ने चाहिँ चाहिन्छ ।’
सन्तान र सत्य सम्हालेर बस्ने महिला कहिल्यै विधवा हुन्न ऊ सधैँ सदुवा हुन्छे । श्रीमान् नहुनु, गरिबीको पिँधमा पिल्सिएर सन्तानलाई हुर्काउनुलाई उनले प्लेन उडाउने र बसाउने महिला पाइलटको साहससँग तुलना गरेका छन् । त्यो साहस पितृ बनिसकेका श्रीमान्को आशीर्वादको शक्ति भएको बताउँदै उनी भन्छन्, ‘संसारको सबैभन्दा धेरै भाग्यमानी महिला त्यही हो जसको सिउँदाको सिन्दुर पुछिएको छैन ।’
भगवानको कुनै विधानमा लेखेको छैन, विधवाले रातो लगाउन पाउँदिनस् भनेर । जिन्दगीको उत्तरार्धमा छोराछोरी, नातीनातिना र पनातीपनातिनीमा आफ्नै श्रीमान्को झझल्को देख्ने गरेको भन्दै उनी भन्छिन्, ‘श्रीमान् गुमाएका एकल, विधवा महिलाई पनि उत्तरार्धमा मेरोजस्तै खुसी मिलोस् ।
कार्यक्रमको सुरुमा मनोजेलाई घरमा थुनेर आएको छु भन्दै मञ्चमा देखिएकी इन्द्रमाया जस्तै अर्को पात्र अन्त्यमा मञ्चमै टुप्लिकिन् । उनकै शब्द सापटी लिने हो भने उनको छोरो मनोज आमाजस्तै बनेर राष्ट्रपति आउने कार्यक्रममा आएका थिए । जसरी इन्द्रमाया स्टेज प्रवेश गर्दा गाउँदै आएकी थिइन् उसैगरी गाउन थालिन् सिलोक– धानैमा कुट्नु ढुकुमा ढुकु...
वास्तवमा मनोज गजुरेल आमा बनेर प्रस्तुति दिन स्टेजमा इन्द्रमाया बनेर पुगेका थिए । आमालाई आफूले लगाएजस्तै लुगा लगाएको कान्छो छोरा भनेर प्रस्तुतिलाई बलियो बनाउने प्रयासमा पात्र परिवर्तन गरेका थिए । छोरो आमा अनि आमा छोरो । भलै एउटै पहिरनमा ।
मनोज एकछिन् इन्द्रमाया बने । अनि इन्द्रमाया थिइन् साँच्चै विधवा । वैंशमा नै श्रीमान् गुमाएपछि विधवाले कस्तो दुःखको भूमरीमा बाँच्नुपर्छ ? उनले भने । विधवाको कथा साँच्चै शिलोक गाउने विधवा आमा इन्द्रमायाको थियो । इन्द्रमाया थिइन्, मनोजकी आमा । अनि मनोज थिए आमाको पछि लाग्ने कान्छो छोरो ।
मनोजले स्टेजमा जे भने, अधिकांश आफ्नै आमाले भोगेका कथा भने । कथा त के भन्नु दर्द भने । मनोजका चार दिदीबहिनी र तीन दाजुभाइ हुन् । त्यसमा मनोज कान्छा छोरा हुन् । मनोज ६ महिनाको हुँदा उनका बुवाले यो संसारबाट सधैँका लागि बिदाइको हात हल्लाइदिए । इन्द्रमाया एक्लै भइन् । सातवटा छोराछोरीको पालनपोषणको जिम्मेवारी उनकै काँधमा आइलाग्यो ।
सुदूर पूर्वी पहाडको विकट गाउँमा एक्ली महिलाले परिवारको बागडोर सम्हालेर लयका हिँडाउन सजिलो थिएन । तर, त्यसको विकल्प पनि थिएन । त्यसैले इन्द्रमायाले कम्मर कसिन्, बीचमा के–के भयो र कसरी जिन्दगीको यात्रा बक्ररेखा हुँदै सरल रेखामा आइपुग्यो त्यो मनोजले सविस्तार माथि भनिसके ।
“म ६ महिनाको हुँदा मेरो बुवाको निधन भयो । त्यसपछि हामी सातजनालाई खुवाउने, हुर्काउने जिम्मेवारी मेरी आमाको टाउकोमा आइपुग्यो,” मनोज दर्दले चिरा–चिरा पारेर पनि आमाले पार लगाएको समयतिर फर्किन्छन्, “मैले जे–जति यो प्रस्तुतिमा समेटेँ यो मेरी आमाले भोगको ८० प्रतिशत कथा हो । बाँकी २० प्रतिशत आम विधवा आमाले भोगेको दुःख मैले समेटेको हुँ ।”
आमाले भोगेका थुप्रै दुःखका घटनामध्ये केही अंशमात्रै अहिले समेटिएको भन्दै विस्तारै आउँदा प्रस्तुतिमा समेट्दै जाने मनोज बताउँछन् । अहिले समयले केही कोल्टे फेरे पनि आफ्नो आमाले भोगेको समय कति दर्दनाक थियो त्यो व्यक्ति स्वयंले मात्रै कल्पना गर्नसक्ने उनको जिरिह छ ।
आफ्नै आमाले भोगेका केही कथा मनोजले भने । करिब १५ दिन लगाएर लेखेको कथाले उनकै शब्दमा उच्चस्तरको प्रतिक्रिया पायो । अझै प्रतिक्रिया आउने क्रम रोकिएको छैन । “मैले केहीवर्ष पहिले बा नामक प्रस्तुति दिएको थिएँ । त्यो बेला पनि यस्तै प्रतिक्रिया पाएको थिएँ,” मनोज भन्छन्, “अहिले त्योभन्दा पनि धेरै प्रतिक्रिया आइरहेको छ ।”
प्रस्तुतिका लागि मनोज आमा बने । यसका लागि उनले मेकअप आर्टिस्टलाई आमाको फोटो खिचेर पठाएका थिए । उनीहरूले त्यहीअनुसार तयारी गरुन् भन्ने उनको उद्देश्य थियो । मेकअप गरेपछि मनोजले आमालाई ब्याकस्टेजमा बोलाएर भेटे । आफूजस्तै महिला देखेर आमा लजाइन् ।
“स्टेजमा अलमलिनु होला कि भनेर मैले मेकअप गरेपछि बोलाएर भेटेँ । सुरुमा त उहाँ आफूजस्तै महिला देखेर लजाएर मजेत्रोले मुख छोपेर म हेर्दिन मलाई लाज लाग्यो भन्नुभयो,” मनोज नोस्टाल्जिक हुन्छन्, “एकछिन् पछि देब्रे गालामा उठेको आलुजस्तो गाँठो ठूलो भयो मेरो यत्ति ठूलो छैन हौ भन्नुभयो । आमा वास्तवमा राम्रो गीत गाउनुहुन्छ, स्टेजमा लाजले नर्भस हुनुभयो ।”
आमा लजाएकै सही, स्टेजमा तिनै इन्द्रमायाको कथा सुनेर सयौं दर्शक भावुक भए । आँखाभरी आँसु बनाएर बसे । क्षणभर नै सही, इन्द्रमायासँगै आफूलाई एकाकार गरे ।