ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी’नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्याङ देख्यो ।
निहुरिँदै भन्यो, “प्रभु, मलाई अवसरको ढोका खोलिदिनुस् ।”
“तथास्तु ! चढ माथि ।” उसलाई कृपा प्राप्त भो ।
विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो ।
उसले माथि फर्केर हेर्यो । त्यहाँ गुलियो अंगुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो, “प्रभु, मलाई त्यहाँ पुग्नु छ ।”
“समाऊ हात भक्त ।” आशीर्वाद मिल्यो ।
चाप्लुसीको डोरी समायो र उक्लियो माथि ।
त्यहाँबाट उसले जिन्दगीको रंगिन सपना देख्न थाल्यो । अझै माथि उड्ने लालसाले महत्त्वाकांक्षाको पखेटा फिँजाउँदै भन्यो, “प्रभु, मलाई शिखरमा नै पुर्याइदिनुस् ।”
“अवश्य ।” मिठो आश्वासन प्राप्त भयो ।
निष्ठालाई कुल्चिँदै ऊ शिखरमा पुग्यो । त्यहाँ ऊजस्तै अवसरवादीहरू नैतिकताको सौदाबाजी गर्दै रहेछन् ।
उसले सोध्यो, “प्रभु, म के गरूँ !”
“देऊ बलिदान !”
उसले आफ्नो बाँकी रहेको नैतिकताको बलिदान दियो र सुनौलो अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो । शिखरको विलासी महलभित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्यो ।
ऊसँग स्वाभिमानको शिर थिएन ।
(हेटौँडा–४)