काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उमेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले बिहीबार गरेको परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तल्ला तहबाट भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका छन् ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी २०७९ भाद्र १६ गतेभित्र जिल्ला कार्यसमितिमा पढाउनुपर्ने हुन्छ ।
जिल्ला कार्यसमितिले भने क्षेत्रबाट आएको सिफारिसमा आफ्नो राय समेटेर भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा नाम पठाउनुपर्ने हुन्छ । यता, एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भदौ १८ गते जिल्लाले प्रदेश र २० गते प्रदेशले केन्द्रमा उमेदवार सिफारिस गर्नुपर्ने परित्रपत्रमा उल्लेख गरिएको छ ।
प्रदेशतर्फ भने प्रदेशसभा क्षेत्रीय समितिले प्रत्यक्षतर्फका लागि बढीमा तीन जना र समानुपातिकतर्फका लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम भदौ १४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । यो एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाका लागि पठाइएको निर्देशन हो ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसमा आफ्नो रायसहित प्रतिनिधिसभा क्षेत्रीय समितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले आफ्नो रायसमेत उल्लेख गरी भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने हुन्छ ।