site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानी उठाउन नसकेपछि घटे तिज गीत

काठमाडौं । गत वर्षको तुलनामा यो साल तिजका गीत निकै कम रेकर्ड भएका छन् । अघिल्ला वर्षहरूमा वार्षिक पाँच करोड रुपैयाँको हाराहारीमा तिजका गीत तयार हुन्थे । तर, यो वर्ष तुलनात्मक रूपमा तिजका गीत निकै कम रेकर्ड भएका छन् ।

रेकर्ड कम मात्र होइन, यो वर्ष तिज गीतको चर्चा पनि कम छ । यो वर्षको लोकप्रिय तिज गीत कुन हो भनेर प्रश्न गर्दा सहजै भन्न सक्ने अवस्था नरहेको लोकगीत संकलक तथा गायक दुर्गा रायमाझी बताउँछन् । तिजका केही गीत आए पनि लोकप्रिय हुन सकेका छैनन् ।

विगतका वर्षमा भएको लगानीको प्रतिफल नआउँदा यो वर्ष तिजका गीतमा लगानीकर्ताको आकर्षण नदेखिएको दुर्गा बताउँछन् ।

लगानी उठाउनै सास्ती
“अहिले गीतको प्लेटफर्म युट्युब मात्रै भयो । लगानी फिर्ता आउने पनि युट्युब च्यानल मात्रै भयो,” दुर्गा भन्छन्, “लगानी फिर्ता हुने वातावरण नदेखेपछि लगानी गर्नेहरू पछि हटेका छन् ।”

अहिले जति पनि तिज गीत आएका छन्, ती मेला–महोत्सव पाउने कलाकारका रहेको उनको भनाइ छ । बुटवल, पोखरालगायत क्षेत्रमा हुने मेला–महोत्सवमा बोलाइने कलाकारले त्यहीँबाट लगानी उठाउने अपेक्षासहित तिज गीत लिएर आएको उनी बताउँछन् ।

मेला–महोत्सवमा नबोलाइने कलाकारलाई अहिले तिजका गीतबाट लगानी उठाउन त्यति सहज छैन । युट्युबमा राम्रो भ्युज नजाने र त्यसबाट लगानी नउठ्ने सम्भावना अधिक रहेको दुर्गा बताउँछन् । उनका अनुसार वर्षमा मुस्किलले दुई/तीनवटा तिज गीतले मात्र युट्युबबाट लगानी उठाउँछन् । बाँकी सबै गीतको लगानी डुब्छ ।

भ्युज घट्यो, गीत घटे
“पछिल्लो समय युट्युबमा लोकदोहोरी, लाइभ दोहोरीको भ्युज हेर्ने हो भने पनि त्यति धेरै राम्रो आएको देखिँदैन,” उनी भन्छन्, “यस्तो अवस्थामा धेरैले यो वर्ष तिजका गीतमा जोखिम मोल्न चाहनु भएन । लगानीकर्ता पाउने र स्पोन्सर पाउनेहरूले मात्रै तिजका गीत ल्याएको देखिन्छ ।” भ्युज बढाउन डलरमा लगानी गरेर बुस्ट गर्नुपर्ने अवस्थाले पनि लगानी निरुत्साहित भएको उनको भनाइ छ ।

गीतको भिडियो निर्देशन गर्दै आएका शिव विक समग्रमा यो वर्ष निकै कम गीत रेकर्ड र भिडियो बनेको दुर्गाको भनाइमा सहमत छन् । आएका गीतले पनि बजार लिन नसकेको स्वीकार गर्नुपर्ने उनको भनाइ छ । “यो वर्ष तिजको यो गीत हिट र त्यो गीत लोकप्रिय भन्ने नै भएन,” शिव भन्छन्, “यो वर्ष तिज गीत नै कम रेकर्ड भए । आएका गीत पनि दर्शकले त्यति धेरै रुचाएको देखिएन ।”

कम लगानीमा गीत
रेकर्ड भएका गीतको अडियो र भिडियोमा लगानी पनि निकै कम भएको उनको अनुभव छ । गत वर्ष औसतमा भिडियोसहित एउटा गीत निर्माणमा चार लाख रुपैयाँसम्म खर्च गर्ने लगानीकर्ताले योपटक निकै कम खर्च गरिरहेको उनी सुनाउँछन् ।

“पहिलो कुरा त लगानी फिर्ता हुने बाटो नभेटिएपछि यो वर्ष गत वर्षहरूमा लगानी गर्दै आएका लगानीकर्ता पछि हटे । पहिचान र निरन्तरताका लागि तिज गीतमा लगानी गर्नेहरूले पनि लगानी घटाएका छन्,” शिव भन्छन्, “विगतमा औसतमा एउटा गीतमा साढे दुईदेखि तीन लाख खर्च गर्ने लगानीकर्ताले यो वर्ष एक–डेढ लाखमा गीत बनाइरहनुभएको छ ।”

कोरोनाको समय र त्यसपछिका वर्षमा समेत तिज गीतमा ठूलो लगानी गरेका कलाकार तथा अरू लगानीकर्ता पैसा नउठेपछि पछि हटेका हुन् । केही समय अगाडि भएको स्थानीय तहको निर्वाचन, आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि योपटक पैसा कम लगानी भएको उनको बुझाइ छ ।

प्रोडक्सन भ्यालु ठूलो र आकर्षक देखाउन विगतका वर्षमा तिजका गीत खिच्न काठमाडौं बाहिर जानेको संख्या ठूलो हुन्थ्यो । तर, यो वर्ष म्युजिक भिडियो काठमाडौंमै धेरै खिचिएका छन् । कारण, लगानी कम गर्ने उद्देश्य नै हो ।

काठमाडौंकै पार्टी प्यालेस, मन्दिर र पार्कमा तिजका अधिकांश गीत छायांकन भएको शिव सुनाउँछन् । यसले गीतको लगानी केही खुम्चिएको छ ।

कम विवादित
त्यसो त यो वर्ष तिजका गीत रेकर्ड र लगानी मात्र कम होइन, विवादित पनि कम भए । विगतका वर्षमा तिजका कतिपय गीत परिवारसँग बसेर सुन्न र हेर्न नसकिने खालका हुन्थे । तुलनात्मक रूपमा यो वर्ष यस्ता गीत कम रेकर्ड भए ।

“तुलना गर्ने हो भने यो वर्ष त्यति धेरै अपाच्य शब्द र दृश्य भएका गीत आएनन्, यो सकारात्मक पक्ष पनि हो,” राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष समेत रहेका दुर्गा रायमाझी अगाडि थप्छन्, “यो वर्षको तिजको यो राम्रो पाटो पनि हो ।”

भल्गर दृश्य र असहज सुनिने शब्द राखेर आएका गीतले युट्युबको भ्युजमा पनि त्यति धेरै सकारात्मक असर नपार्नु, सामाजिक र नैतिक रूपमा असर पर्नु तथा प्रतिष्ठानले सचेत गराउनुले पनि यो वर्ष उच्छृंखल गीतमा कमी आएको दुर्गाको निष्कर्ष छ ।

“यो वर्ष पनि केही त्यस्ता गीत आउने तयारीमा थिए । प्रतिष्ठानका साथीहरूले स्टुडियोमा रेकर्ड भएको थाहा पाएपछि रोकेको भन्ने मैले सुनेको छु,” दुर्गा भन्छन्, “नैतिक, सामाजिक प्रतिष्ठा र प्रतिष्ठानको प्रयासले यो वर्ष असभ्य शब्द र दृश्यसहितका तिजका गीतमा न्यूनीकरण आयो ।”

संस्कृति नमासौँ
तिज गीत आफ्नै मर्मानुसार गाउनुको विकल्प नरहेको लोकगायिका हरिदेवी कोइराला बताउँछिन् । पहिचान, संस्कार र संस्कृति झल्काउने तिजका गीत तिजकै लयमा गाउनुपर्नेमा उनको जोड छ । पछिल्लो समय केही सुधार आएको तर अझै सन्तोषजनक नरहेको उनको ठम्याइ छ ।

“पक्कै पनि विगतका वर्षमा भन्दा यो वर्ष तिजका गीतले आफ्नै पुरानो मौलिकता र लय खोज्ने प्रयास गरेका छन् । तर, त्यो पर्याप्त छ भन्ने लाग्दैन,” हरिदेवी भन्छिन्, “तर, विस्तारै हाम्रो आफ्नै लय र पहिचानसहितका तिज गीत खोज्नुपर्छ भन्ने चेतना पलाउँदै गएको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।”

तिजका नाममा तिजको लयभन्दा बाहिर गएर गीत गाउनु संस्कृतिमाथिको प्रहार भएको उनको बुझाइ छ । भिन्न–भिन्न लय र सिर्जना गर्ने समय वर्षभरि नै रहेको भन्दै हरिदेवी तिजको गीतलाई निश्चित समय र परिधिमा सीमित राख्नुपर्ने धारणा राख्छिन् ।

“गीत–संगीतमा सिर्जनशीलता बाह्र्रै महिना खोज्न सकिन्छ । यो छुट हामी कलाकारलाई छ,” हरिदेवी भन्छिन्, “तर, तिजको गीत पर्व गीत हो । पर्व गीतको निश्चित समय र लय हुन्छ । त्यही मर्म नमर्ने गरी लय र समयमा काम गर्नुपर्छ ।” संस्कृति जगेर्ना गर्न कलाकार स्वयं सचेत हुनुपर्नेमा उनको जोड छ ।

तिजको परम्परागत लयलाई बिगारेर र भुलेर अगाडि बढ्न खोजे त्यो आफ्नै संस्कृतिका लागि प्रत्युत्पादक हुने भन्दै उनले यसप्रति कलाकार सचेत हुनुपर्ने बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro