काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा बुधबार आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ स्वीकृत आवेदनमध्ये ३० हजार ९२९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सोमध्ये पाँच जनाले थप १ कित्ताका दरले आईपीओ प्राप्त गरेका हुन् । यी भाग्यमानी पाँच जनाले कुल ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
कम्पनीको आईपीओमा कुल दुई करोड चार लाख ७५ हजार ९८० आवेदन परेको थियो । उक्त आवेदनमध्ये १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको छ भने एक हजार २८६ आवेदन अस्वीकृत भएको छ ।
लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
कुल तीन लाख ३१ हजार कित्ता सेयरमध्ये पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी तीन लाख नौ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।