पोखरा । पछिल्लो पाँच महिनामा कास्कीमा 'चोर'हरूको प्राथमिकतामा एटीएम बुथ परेको देखिएको छ । गएको माघ १ गतेदेखि साउन २० गतेसम्म कास्की प्रहरीले एटीएम चोरी र चोरी प्रयासका सात घटनामा संलग्नलाई पक्राउ गरेको छ ।
प्रहरी रिपोर्ट अनुसार यी सबै घटना रातिको ११ बजेपछि ३ बजेभित्रको बिचमा भएका छन् । टार्गेटमा परेका कुनै पनि एटीएम बुथमा सुरक्षागार्ड थिएनन् ।
सेन्ट्रल सर्भिलेन्समार्फत जानकारी नभएकै कारण पोखरा २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएमबाट १४ लाख ७१ हजार पाँच सय रूपैयाँ चोरी नै भयो । यसमा संलग्नलाई कास्की प्रहरीले हालै सार्वजनिक गरेको छ ।
एटीएम फोडेर चोरीका अन्य घटनामा भने नगद चोरी भएको छैन ।
तर, एनएमबीको एटीएम फोडेर फरार संदिग्ध व्यक्तिलाई कास्की प्रहरीले महिनादिनपछि पक्राउ गरेको छ । कास्की प्रहरीले एनएमबी बैंकमा चोरी भएको अर्को दिन बिहानमात्रै थाहा पाएको थियो । पोखरा महानगरपालिका २६ अर्घौंचोकमा रहेको एनएमबीको उक्त एटीएम बुथमा सुरक्षागार्ड त थिएनन् नै सेन्ट्रल सर्भिलेन्ससँग जोडिएको थिएन ।
सामान्यतया एटीएम बुथमा तोडफोड गर्नासाथ बैंक सेक्युरिटी सिस्टमको अलार्म बज्ने हुन्छ ।
यो एटीएम मेसिन भेन्डरको प्रतिवेदनमा बैंकको एटीएम मेसिनको चाबी पनि पूणरूपमा बन्द नभएको प्रहरीले जनाएको छ ।
घटना के हो ? कसरी परे पक्राउ ?
घटना साउन ३ गतेको हो । उनी राति १ः४२ बने एनएमबीमा छिर्छन्, निस्किन्छन्, फेरि १ः४५ मा छिर्छन् र चोरी गर्छन् । त्यसपछि विचारी चौतारामा पुग्छन्, क्यासकेट फुटाएर नगद झिकेर सर्टभित्र राख्छन् । त्यसपछि चोरीको बुलेट बाइक लिएर पोखरा २७ मा रहेको तालचोकमा पुग्छन् ।
त्यहाँ पनि उनले एटीएम खुलै देख्छन् । भित्र छिर्छन् र चोरीको प्रयास गर्छन् । तर, सेन्ट्रल सर्भिलेन्समार्फत प्रहरीमा खबर आउँछ । प्रहरी १० मिनेटमा त्यहाँ पुग्दा उनी भागिसकेका हुन्छन् । प्रहरीले चारैतिर खोजी गर्छ, थाहा पाएपछि उनी बाइक नै छाडेर भाग्छन् ।
त्यतिबेलासम्म एनएमबी बैंकको चोरी थाहा हुँदैन ।
बाइक बरामद गरेपछि प्रहरीले त्यसको आधारमा सनाखत गर्न खोज्छ । त्यही क्रममा एनएमबीको एटीएमबाट चोरी भएको खबर आउँछ । एनएमबी र एनआईसीको एटीएममा छिरेका व्यक्ति एउटै रहेको सीसीटिभी फुटेजमा देखियो । बाइकधनीले सोही रात आफ्नो बाइक चोरी भएको प्रहरीलाई बताए । सुरुमा बनावटी जस्तो देखिएपनि सीसीटीभी फुटेजमार्फत बाइक चोरी भएको प्रष्ट भयो ।
बल्ल प्रहरीले ती चोरको खोजीकार्य अगाडि बढायो । साउन ३ गतेको उक्त घटनाका दोषीलाई प्रहरीले भदौको ५ गते सार्वजनिक गरेको छ ।
उनी थिए, पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई हाल पोखरा ३० डुँडाको मुख बस्दै आएका २१ वर्षीय अनिश तामाङ ।
प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले मदिरा पिएर तालचोकका विजय गौतमको बाइक चोरी गरेको बताएका छन् । कोलेफाँट अष्टचोकमा भेटिएको त्यही बाइक लिएर उनले सुरुमा एनएमबीको एटीएमबाट १४ लाख ७५ हजार रूपैयाँ चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
घटना त्यतिमा सीमित छैन । बाटोमा नै बाइक छाडेर हिँडेपछि उनले भोलिपल्टै तीनलाख रूपैयाँमा अर्को ड्युक बाइक खरिद गरेका थिए ।
कक्षा ९ देखि पोखराको शिसुवास्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा अध्ययन गरेका तामाङले पछिल्लो ६/७ महिनायता सिसुवामा नै एक हार्डवयर पसलमा काम गर्ने गरेका थिए । २१ वर्षका उनको विगतको छविबारे पनि अध्ययन भइरहेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
उनलाई गत भदौ २ गते बिहीबार भारततर्फ जाँदै गरेको अवस्थामा रूपन्देही बेलहियाबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी निरीक्षक अजय केसीले जानकारी दिए ।
पक्राउ परेका तामाङको हाउभाउमा परिवर्तन आएको र नयाँ मोटरसाइकल किनेको देखेपछि उनीमाथि शंका गरिएको थियो । दिदीकोमा जान्छु भनेका तामाङ लामो समयदेखि घरमा गएका थिएनन् । प्रहरी स्रोतका अनुसार सोही नजिकका छिमेकीले उनमा आएको परिवर्तनमा शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनले चोरी गरेको रकम कहाँ कसरी खर्च गरे भन्नेबारे अनुसन्धान भइरहेको तिवारीले बताए ।
प्रहरीले उनको साथबाट चोरी गर्दा प्रयोग गरेको कपडा, आइफोन १, स्मार्टफोन १, १९ हजार रूपैयाँ र विभिन्न लत्ताकपडा र झोला बरामद गरेको छ ।
तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।