
काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । नेपाल ट्रेड युनियन कांग्रेसको आयोजनामा भएको कार्यक्रममा प्रदीप गिरिले भाषण गरेका छन् । भाषणमा उनले पार्टीभित्र मौलाएको निराशावाद अन्त्य गर्ने जिम्मेवारी नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गरेका छन् ।
“कांग्रेसका युवा नेताको रूपमा दुई युवक छन् । साचो रूपले युवक हुन् । उमेरले पनि युवक, बोलीले पनि युवक, योग्यता र भावनाले पनि युवक गगन थापा र विश्वप्रकश शर्मा,” उनले भनेका छन् ,“गाउँघरमा हलो जोत्दा गोरूको प्रयोग हुन्छ । तपाईंहरु गोरू हैन वयल हो । दुई मिलेर कांग्रेसरूपी हलोलाई नार्नु होला, अगाडि बढाउनु होला भनेर म अनुरोध गर्दछु । कांग्रेसमा हुने झगडा भन्दा मिलेर काम गर्नु होला ।”
गिरिले शनिबार राति ९ः३० बजे संसार छाडे । लामो समयदेखि घाँटीको क्यान्ससँग संघर्ष गरेका गिरिले ललितपुरको अन्तिम स्वास फेरेका हुन् ।
सञ्चारमाध्याम , सामाजिक सञ्जालमा देश तथा विदेशबाट उनको मृत्युमा श्रद्धाञ्जली दिनेको संख्या लाखौंमा छ । गिरि नेपाली राजनीतिको दार्शनिक र विचारक भएको भन्दै उनलाई सम्झनेहरू असंख्य छन् । आइतबार पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखियो । लोकतान्त्रिक विचारधारका मानिसहरू मात्र होइन वामपन्थी र आफूलाई ‘र्याडिकल वामपन्थी’ को रूपमा अघि बढाइरहेका नेताहरू पनि उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए ।
श्रद्धाञ्जली सभामै थिए कांग्रेस महामन्त्री गगन थापा । २०६० साल पश्चात् थापाले गिरिको सामिप्यता पाएको बताउने गरेका छन् । थापाले गिरिको विचारलाई अघि बढाउन पाठशाला अभियान नै चलाए ।
“प्रदीप दाइ र मेराबीचमा गुरू चेलाको सम्बन्ध रह्यो । २०६० अघि उहाँले हामीलाई चिन्ने कुरा भएन । विद्यार्थी आन्दोलनमा जोडिएपछि उहाँसँग मेरो निकटता बढेको हो,” उनले बाह्रखरीसँग भने ।
गिरि सधै युवाहरूमा भरोसा गर्ने नेता भएको थापा बताउँछन् । नेपालमा गणतन्त्र चाहिन्छ भनेर विचार प्रवाह गर्ने गिरिसँग आफूहरू गणतन्त्रवादी भएकाले पनि नजिक बन्न सहज भएको थापाको जिकिर छ । जीवनको अन्तिम क्षणमा गिरिले पार्टी महामन्त्रीमा आफू र विश्वप्रकाश शर्मालाई देख्न चाहेको उनले बताए ।
“हिजो रातिमात्र उहाँको परिवारले हामीलाई सुनाउनुभएको हो । दुईजना केटालाई जसरी पनि महामन्त्री जिताउनु, पार्टीभित्र काम गरेभने यिनीहरुले पार्टी र नेपाली जनताका लागि गर्छन् । मलाई अन्तिम पटक भेट्दा पनि उहाँले यस्तै आशय व्यक्त गर्नुभएको थियो,” थापाले भने ।
तर, बेलाबेला केटाहरु पनि अल्छी भए काम गरेनन् र नेतृत्वसँग डरायो संघर्ष गरेन भनेर गिरि नवजवानहरूसँग पनि असन्तुष्टि पोख्ने गरेको थापा सुनाउँछन् ।
“किन यो पार्टीमा मानिसहरु भोक हड्ताल, अनसन बस्दैन । किन पार्टीभित्र विरोध हुँदैन ? यसो भए पार्टीभित्र केही शक्तिमा हुन्छन् अरु सबै आन्दोलनमा रहन्छन् र पार्टी जीवन्त बन्छ भनेर उहाँले भन्नुहुन्थ्यो,” थापा भन्छन् ।
राष्ट्रिय राजनीतिमा कार्यकारी पदमा लोभ सम्पत्ति मोह गिरिमा केही नभए पनि उनी राष्ट्रिय राजनीतिमा भने जोडिरहन चाहन्थे । उनी पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । दुईपटक प्रत्यक्ष र दुईपटक समानुपातिक सांसद बने । संसद्भित्र धेरै गयल हुने सांसद भए पनि बजेटको समीक्षालगायतका महत्वपूर्ण एजेन्डा हुँदा भने उनी सधै संसद्मा हाजिर भए । जब उनी बोल्थे तब संसदमा ‘पिन ड्रप साइलेन्ट’ हुन्थ्यो ।
अर्का कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा गिरिसँग २०४८ सालबाटै संगत गर्न पाएको बताउँछन् । गिरिले सधैँ अध्ययन गर्न र निडर भएर अघि बढ्न आफूलाई सिकाएको शर्मा बताउँछन् ।
“उहाँले मिहेनत गरेर पढ, बुझ मानिसका कुरा सुन उनीहरूलाई रेस्पोन्स गर जिम्मेवार बन बनेर सैद्धान्तिक रुपमा परिस्कृत बन्न प्रेरणा दिइरहनुहुन्थ्यो । हामीप्रति उहाँको यी युवकहरूले हल बाधिएर देश र पार्टीका लागि काम गर्छन् भन्ने विश्वास थियो । उहाँ हाम्रो लागि ज्ञानको विश्वविद्यालय जस्तो हुनुहन्थ्यो,” शर्माले बाह्रखरीसँग भने ।
१४औँ महाधिवेशन अघि शर्माले गिरिलाई भेटेका थिए । भेटमा गिरिले ‘स्ट कोट’ उपहार दिएको शर्मा बताउँछन् ।
उनीहरु लामो समय नेपालको राजनीतिक, भौगोलिक जटिलता र कांग्रेसको युवा पुस्ताले खेल्नुपर्ने निर्णायक भूमिकाबारे गफिएका थिए । त्यसपश्चात् शर्मा र गिरिको भेट बिरलै भयो । गिरिले त्यसैबेला शर्मालाई कांग्रेसमा पहेलो पातको युग सकिएको र हरियो पात पलाउने बेला भयो भन्दै हस्तक्षेपकारी भूमिकासहित अघि बढ्न सुझाएका थिए ।
“उहाँले नेपाली राजनीतिको आरोह अवरोह अप्ठयारो सजिलो लगायतका विषयमा लामो कुराकानी गर्नुभएको थियो ।
भौगोलिक जटिलतालाई समस्याको रुपमा भन्दा विशेषताको रुपमा मान्ने कुरा उहाँले गर्नुभएको थियो । कांग्रेसको पुरानो शैलीको र युवा पुस्तामा भएको हतारोको विषय सविस्तार भन्नुभएको थियो,” बाह्रखरीसँग शर्माले भने,“युवा पुस्तामा भएको तेजलाई संयम र परिपक्वताको साथ लगेमात्र नेपालको उज्यालो भविष्य छ भनेर भन्नुभएको थियो । उहाँले त्यसबेला पहेँलो पात झर्दैछन् हरियो पातहरु पलाउँदैछन् भनेर भन्नुभएको थियो ।”