site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदीप गिरिको भविष्यवाणी : ‘आयाराम–गयाराम’ प्रवृत्तिविरूद्ध नयाँ प्रकारको नेतृत्व आउँछ 

काठमाडौं । नेपाली कांग्रेसका उज्ज्वल दीप बनेर शनिबार राति अस्ताएका प्रदीप गिरिलाई देशमा अब के हुन्छ भन्ने स्पष्ट अनुमान थियो । उनी आफ्नो कुरा प्रस्टसँग राख्न कुनै दलसँगको आबद्धता वा सांसद पदले कहिल्यै रोकिएनन् । गिरिले करिब एक वर्षअघि व्यक्त गरेका अभिव्यक्ति यस श्रद्धाञ्जलीरूपी शब्द सम्मानका रूपमा अर्पण गरिएको छ ।

बिरामीले च्याप्नुभन्दा केही समयअघि गिरिले बाह्रखरीको समूहलाई घरमा आमन्त्रण गरेका थिए । त्यति बेला उनले देशको बारेमा गरेका टिप्पणी र ‘भविष्यवाणी’ पछि सत्य साबित भयो । र, अहिले महाप्रस्थानपछि उनका बुझाइ र राजनीतिक सोच यहाँ प्रस्तुत गर्नु उचित लाग्यो ।

उनी आफूलाई व्यावसायिक वा ‘प्रोफेसनल’ नेता मान्दैन थिए । त्यसैले आफूलाई लागेका कुरा अभिव्यक्त गर्दा ‘कुनै पद चिप्लिन्छ कि भन्ने डर रहँदैन’ भन्दै इमान–जमान र नैतिक मूल्य धरौटीमा राखेका अरू नेतालाई व्यंग्य गर्न पछि पर्दैन थिए ।

Dabur Nepal
NIC Asia

जुन बेला हामी गिरिनिवासमा बात मार्दै थियौँ, त्यस बेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सरकार धरापमा परिसकेको थियो । र, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँपल्ट प्रधानमन्त्री हुने तरखरमा थिए । तर, प्रदीप गिरिलाई को प्रधानमन्त्री हुन्छ भन्ने कुरामा कुनै पर्वाह थिएन ।

“पछिल्लो समय सरकार भनेको ‘आयाराम गयाराम’मा सीमित भए,” उनको भनाइ थियो, “केपी ओलीको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नु भनेको पनि यसैको निरन्तरता हो । सरकार त देउवाको बन्नेछ, तर त्यसले पनि खासै परिवर्तन ल्याउन सक्दैन । आयाराम, गयाराममा सीमित हुनेछ ।”

तत्कालीन प्रधानमन्त्री ओलीका गलत कदमविरुद्ध सशक्त प्रतिकार गर्न नसकेका कांग्रेस सभापति देउवाप्रति उनको रोष थियो । ओली र देउवामा खासै भिन्नता नदेखिने गिरिको टिप्पणी थियो, “विपक्षी दलको नेताको सबै सुविधा लिएर सरकारलाई सहयोग गर्न मिल्छ ?”

गिरिका भनाइमा कहिलेकाहीँ नेताले जोखिम उठाएर निर्णय गर्न सक्नुपर्छ । उनी भन्थे, “राजा ज्ञानेन्द्रका विरुद्धमा २०६३–६३ होस् कि २०४६ सालमा राजा वीरेन्द्रका विरुद्धमा जनता सडकमा आउँदाको बेला होस्, जोखिम उठाइएको होइन ? त्यस बेला उछिट्टिएको गोलीले पनि मान्छे मारिन सक्थे ।”

कुराकानीका क्रममा उनले देउवा र रामचन्द्र पौडेलप्रति पटक–पटक आक्रोश व्यक्त गरे । “सभापति नै पार्टी, पार्टी नै सभापति बनेको छ । प्रधानमन्त्री (ओली)ले म नै सरकार, म नै देश भनेका छन्, पार्टीको अवस्था पनि त्यस्तै छ,” उनको टिप्पणी थियो, “पार्टीमा यो अवस्था गिरिजाबाबु हुँदा पनि थियो । शेरबहादुरजीलाई मात्रै दोष दिन चाहन्नँ । अहिले अलि बढीचाहिँ भएको छ । वरिष्ठ नेता भन्ने चलन छ । वरिष्ठ नेतासँग पनि सभापतिले छलफल गर्नुहुन्छ । उहाँहरू बेला–बेलामा मञ्चमै झगडा गर्नुहुन्छ । आज गरेको निर्णयलाई भोलिपल्ट वरिष्ठ नेताले ‘यो होइन’ पनि भन्न भ्याउनुहुन्छ ।”

देशमा संस्थागत विकास होस् र सिमान्तकृत जनताको जीवनस्तर माथि उठोस् भन्ने सोच बोकेका गिरिले आफ्नै दलको नेतृत्वमा बनेको २०७२ सालको नेपालको संविधानको पक्षमा मत खसालेनन्, अर्थात् बहिस्कार गरे । उनले संसद्मा गरेको अन्तिम सम्बोधनमासमेत यो विषय उठाए ।

“याद रहोस् सभामुख महोदय, म त्यो एक्लो सांसद हुँ नेपाली कांग्रेसबाट जसले संविधानका अन्तरविरोध यस संविधानको विसंगति यहाँसम्मकी भाषगत त्रुटिसमेत औंल्याएर आपत्ति जनाउँदै अन्तिम दिनको संसद् बहिस्कार गरेको थिएँ । मेरो हस्ताक्षर छैन यो संविधानमा,” प्रतिनिधिसभामा गिरिले गरेको अन्तिम सम्बोधनमा समेत यो विषय उठाए । 

संविधान निर्माणमै असहमति जाहेर गर्दै आएका गिरि अन्तिम बैठकतिर आफ्ना कुरा समेत राख्न नपाएपछि संविधानमा हस्ताक्षर समेत नगरी बिदा भए ।

तर, संसद्का बैठकमा जनताको पक्षमा ओजपूर्ण तर्क राख्न कहिल्यै चुकेनन् । संसद् हलको पछिल्ला सिटमा बसे, तर वाकपटुता र तर्कमा पहिलो लाइनमा बसेकालाई पछि पारिरहे ।

आफ्ना कुरा निर्धक्क राख्न सक्ने, निडर नेताको चिनारी थियो प्रदीप गिरिसँग । “संसदीय व्यवस्था कागजको पानामा लेखिएको व्यवस्था मात्रै होइन,” उनको भनाइ थियो, “संस्कार, परम्परा, वर्ग संरचना, आर्थिक अवस्था हो । सञ्चारदेखि न्यायालयसम्म तिनको इमानदारिता र प्रमाणिकता पनि हो । अहिले त्यो अवस्था छ त ?”

अहिलेको व्यवस्थामा सक्रिय रहेका पात्रहरूले नै नयाँ व्यवस्थातर्फ मुलुकलाई धकेलिरहेको उनको धारणा थियो ।

संविधानमा हस्ताक्षर नगरेका एक प्रमुख पात्र, प्रजातान्त्रिक पद्धतिको सधैँ वकालत गर्ने नेताले किन नयाँ व्यवस्थाको कुरा निकाले भन्ने हामीमा जिज्ञासा जाग्नु स्वाभाविक पनि हो ।

हामीले प्रश्न गर्‍यौँ– तपाईंले भन्न खोज्नुभएको नयाँ खालको व्यवस्था कस्तो हो ? कसरी आउँदै छ त्यो ?

बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानतर्फ हेर्दै उनले भनेका थिए, “तपाईंकै पूर्वसहकर्मी नारायण वाग्लेसहितका जम्मा १८ जना सडकमा निस्किएका छन् । बीएन्डसी कलेजलाई सम्बन्धन दिन सरकारले षड्यन्त्र गर्दै छ भनेर उनीहरूले भनेका छन् । १८ जनाले नै भनेको किन नहोस्, कति गहिरो कुरा छ ? डा. गोविन्द केसीलगायत व्यक्तिहरू सुधारको माग राखेर लामो समयदेखि आन्दोलनमा हुनुहुन्छ । महिलाहरू त्यसैगरी सडकमा निस्किएका छन् । आफ्नो अधिकारका कुरा गरिरहेका छन्् । वातावरणका विषयमा युवाले आवाज उठाएका छन् । युवा सडकमा फरक तरिकाले निस्किएका छन् । यसैले गरेको छ फरक र नयाँ खालको व्यवस्थाको संकेत ।”

गिरिको यो धारणा वास्तवमै गहिरो थियो । गिरिले मुम्बईको अस्पतालमा क्यान्सरको उपचार गराइरहेका बेला नेपालमा स्थानीय तह निर्वाचन भएको थियो ।

काठमाडौं, धरान होस् या धनगढीको रिजल्ट गिरिले त्यतातर्फ पो त्यस बेला नै संकेत गरेका रहेछन् कि !

“हेर्दै जानुहोला, आगामी दिनमा यी विषय झनै सशक्त रूपमा अघि बढ्नेछ । यसमा हामीले जति बहस गर्नुपर्ने हो गर्न सकेका छैनौँ,” गिरिको भनाइ थियो, “पोखरीको माछा मार्दा बिउ जोगाउन हामीले सकेनौँ कि ? हामीलाई माया भएन कि ? आफ्नो पोखरी भएको भए बिउको माया हुन्थ्यो कि ? अर्कोपल्टका लागि पनि चाहिन्छ भनेर सोच्थ्यौँ कि ?”

उनले व्यक्तिको नाफाको लोभले व्यवस्थालाई नै संकटमा पारेको टिप्पणी गरे । “व्यक्तिको नाफाको लोभले व्यवस्थालाई असर पर्दै गयो,” उनले भनेका थिए, “यो कुरा हामीले समयमा बुझ्न सकेनौँ । त्यसैले भित्र–भित्रबाट नयाँ शक्तिको उदय हुँदै छ । हामीले संसदीय प्रणालीमा सबैलाई अटाउन सकेका छैनौँ । नयाँ–नयाँ समूहको अब जन्म हुनेछ । उनीहरूले शासन गर्दै जानेछन् ।”

गिरिले नेपालको राजनीतिक बाटोबारे गरेको टिप्पणीपछि प्रतीक दाइको प्रश्न थियो– नेपालको राजनीतिमा बाह्य प्रभाव पनि उत्तिकै देखिन्छ । छिमेकी मुलुकहरू भारत र चीनको इन्ट्रेस्टको बीचमा हामी कसरी जोगिएर अघि बढ्ने त ?

त्यसपछि गिरिले प्रतिप्रश्न तेर्स्याए– विगत एक सय वर्षमा नेपालमा योग्य, प्रतिभाशाली, बहुगुण भएको व्यक्तिको नाम के हो ?

बीपी कोइराला ! – प्रतीक दाइको जवाफ थियो ।

त्यसमा दुई मत छैन– गिरिले जवाफ दिँदै भने ।

“नेपालको प्रजातन्त्रमा भारतले सहयोग गर्छ भनेर बीपी कोइराला भारत जानुभएको होइन ? त्यो कुरा उहाँले लुकाउनुभएको पनि छैन । मैले इन्दिरा गान्धीलाई पनि भेटेँ, उनले के चाहिन्छ भनेर पनि भनिन् भनेर उहाँले पटक–पटक भन्नुभएको छ र लेख्नुभएको छ । बीपीका भाइ गिरिजाप्रसादले पनि यो कुरा लुकाएका छैनन् । नक्कली नोट पनि बनाएँ भनेरसम्म लेख्नुभएको छ । त्यस्तो योग्य मान्छेलाई कसरी भ्रम पर्‍यो भारतले नेपालको प्रजातन्त्रलाई मद्दत गर्छ भन्ने ?,” गिरिको प्रश्न थियो, “विश्वमा कुनै त्यस्तो देश छ आफ्नो स्वार्थविपरीत अर्को देशलाई मद्दत गरेको ? यो कुनै कूटनीतिका किताबमा लेखिएको होला त ?”

अर्थात् गिरि भारतले नेपालको व्यवस्था बलियो बनाइदिन्छ भन्नेमा पटक्कै विश्वास गर्ने नेता थिएनन् । 

प्रजातन्त्रबाट परराष्ट्र नीतिका लक्ष्य प्राप्त नभए फरक बाटो तय हुने उनको भनाइ थियो । “नेपाली कांग्रेसका तथाकथित नेताले किन भनिरहेका छन्– भारतले हाम्रो राष्ट्रिय हितमा काम गर्छ ? ल गर्छ रे मानौँ एक छिनलाई, भारतले त्यसो भए भुटानमा किन गरेन ? बर्मामा किन गरेन ?,” गिरिको तिखो टिप्पणी थियो, “संविधानलाई एक छिन बिर्सौँ । त्यो कागजको किताब मात्रै हो । यहाँको समाजलाई हेरौँ । समाजको संरचना हेरौँ, १० प्रतिशतले ९० प्रतिशतलाई सधैँ भारत देखाएर तर्साएर राजनीति गरेको होइन ? हामीले यसबाट पार पाउन पर्दैन ?”

तीन सय वर्षदेखि नेपालमा मधेसीले शासन गर्न नपाएको, महिला, आदिवासी जनजाति सधैँ पछि परेको कुराले गिरिलाई पिरोलेको थियो ।

“नेपालको सत्तामा जहिले पनि १० प्रतिशतले ९० प्रतिशतलाई शासन गरे,” उनले भनेका थिए, “तँलाई भारतले खाइदिन्छ, म भएर मात्रै तँलाई बचाएको हुँ भनेर यहाँ शासन गरे । प्रजातन्त्रका नाममा खराब पात्र आए । हामीले कहिले पनि सार्थक छलफल गरेनौँ । भारत र चीनसँगको सम्बन्ध कस्तो हुने भन्ने बहस हुनुपर्ने हो । तर, गर्न सकेनौँ । ६ महिना अघिसम्म भारत या चीन एउटाको हुन्छ, ६ महिनापछि अर्कैको । अर्ब बढी जनसंख्या भएको एउटा राष्ट्रको पोलिसी त्यसरी परिवर्तन हुन्छ ? हामी यहीँनेर भ्रममा छौँ ।”

उनले उनीहरूको संकेत पाएर यहाँका नेताले पनि त्यसैगरी आफ्नो हैसियत भुलेको टिप्पणी गरे । “ठूलो र सानो देशको कानुनी अधिकार बराबर छ,” गिरिको टिप्पणी थियो, “प्रचण्ड पनि प्रधानमन्त्री भएको भोलिपल्टबाटै ‘पति’सँग सिँगौरी खेल्न थाल्नुभयो । राष्ट्रपति, पशुपति, सेनापतिसँग अनावश्यक सिँगौरी खेल्नुभयो । सानो समूहको नेता होइन, ठूलो भएँ भनेपछि सानोसँग किन सिँगौरी खेल्ने ? एउटा समूहलाई बोलाएर छलफल गरे हुँदैन । यो काम गिरिजाबाबुले पनि गर्नुहुन्थ्यो । सत्ताको नशा लाग्ने क्या ! जोसँग पनि बदला लिन लागिहाल्ने !”

विभिन्न उदाहरण दिँदै उनले चीन, भारत र अमेरिका जोसुकै होस्, उनीहरूले खेल्न त खोजिहाल्छन्, तर यहाँका नेताले व्यवहार गर्न नजान्दा समस्या पर्ने गरेको बताए । “एकातिर खुट्टैमा लम्पसार हुने, अर्को देखाइदिन्छु भन्ने !,” उनको टिप्पणी थियो, “बीपीले बडो राम्रोसँग भन्नुभएको थियो, ‘चाइना इज बेस्ट फ्रेन्ड’ तर भारत ‘मोर देन फ्रेन्ड’ । हामीले यो कुरा भुल्नु हुँदैन ।”

बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यसँगको पुरानो सम्बन्धका कारण औपचारिक तथा अनौपचारिक कुराकानीमा गिरि निकै खुलेका थिए । सायद उनले भित्रको आफ्नो दुखाइ पनि कम गर्दै थिए कि !

आफ्ना विगत, राजनीतिक उतारचढावका लामो कुराकानीपछि गिरिले भने, “जो झोला बोक्दै छ, ऊ मेरो संगतमा लगातार आउँछ । जो गाडी चढ्न थाल्छ, त्यसपछि टाढा हुन्छ । मेरो आफ्नै आश्रमबाट आएको बम्बै आँप छ, त्यो पनि आज यहाँहरूले खानैपर्छ ।”

कुराकानीको बिट मार्दै गिरिले भनेका थिए, “मैले पाठकहरूका लागि मन नपर्ने कुरा तर सत्य बोल्नुपर्ने हुन्छ । त्यो के हो भने, अब फेरि पनि केपी ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । उनीबाट पनि मुलुकले कुनै निकास पाउने छैन । नेता भ्रष्ट छन्, तर जनता छैनन् । त्यसैले जनता बोल्न छाड्दैनन् । जनता जहिलेसम्म बोलिरहन्छन्, यहाँ कुनै शासक तानाशाही बन्न सक्दैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro