
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहबाट पीडा पाउनेमध्येका एक शीर्ष नेता हुन् । देउवा फयाक्न एकपटक ‘अक्षम प्रधानमन्त्री’को पगरी गुथाइदिए भने अर्काेचोटि जेल नै पुर्याइदिए ।
अर्थात्, पूर्वराजा ज्ञानेन्द्रले तत्कालीन समयमा देउवालाई समकालीन नेतामध्ये नजिकबाट विश्वास गरेको र अति घृणा पनि । देउवा यतिखेर तिनै पूर्व राजा ज्ञानेन्द्रलाई राम्रैसँग जवाफ दिने तयारीमा छन् ।
२०५८ मा दरबार हत्याकान्डपछि राजा वीरेन्द्रको वंशनाशलगत्तै ज्ञानेन्द्र शाह राजा भए । ज्ञानेन्द्र राजा भएपछि देउवा प्रयोग गरी २०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन गराए । त्यसपछि प्रतिनिधिसभाविहीन भएपछि २०५९ असोज १८ मा त देउवालाई ‘अक्षम प्रधानमन्त्री’ घोषणा गरे ।
अर्थात्, देउवा ज्ञानेन्द्रको ‘धोकाधडी’मा परे । देउवा फालेपछि पूर्वपञ्च लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । सँगै पुराना पञ्च र दरबारियासामेल मन्त्रिपरिषद्को यात्रामा लागे, ज्ञानेन्द्र ।
त्यसो त, राजा भएपछि ज्ञानेन्द्रले एक अन्तर्वार्तामा भनेका थिए, ‘‘म दाजुजस्तो टुलुटुलु हेरेर बस्न सक्दिनँ । देखिने र सुनिने राजा बन्न चाहन्छु ।”
चन्द र थापा प्रधानमन्त्री हुँदा ‘प्रतिगमन’विरुद्धको आन्दोलन चर्कियो । अन्ततः आफैँद्वारा ‘अक्षम’ घोषित देउवालाई २० महिनापछि ०६१ जेठमा फेरि प्रधानमन्त्री बनाए ।
ज्ञानेन्द्र शाहको त्यो श्रीपेच मोह र अहिलेको तमासा
तर, दोस्रो चोटि प्रधानमन्त्री हुँदा ज्ञानेन्द्र शाह र देउवाबीच सम्बन्ध सहजरूपमा अघि बढ्न सकेन । यद्यपि देउवाले दरबार खुसी पार्न बजेट बढाइदिनेदेखि दरबारिया पात्रहरुका औषधि–उपचार खर्चमा ठूलै रकम उपलब्ध गराए, आलोचनाको मार देउवाले खेप्नुपर्यो ।
त्यसबीचमा पटक–पटक शासन सत्ता लिन खोजेको देउवाले चाल नपाएका होइनन् ।
“हामीलाई राजाले लिँदैछन्, हामीलाई अप्ठेरोमा पार्दैछन् भन्ने सुइँको नभएको होइन, तर हामीसँग विकल्प नै के थियो र ? प्रजातन्त्र नै मास्ने काम चाहिँ गर्दैनन् होला भन्ने थियो,” २०६१ मा देउवाको मन्त्रिपरिषद्मा रहेका एक नेताको टिप्पणी हो, यो ।
ती नेताको टिप्पणी थियो, “राजनीतिमा कतिपय विषयहरु यस्ता हुन्छन्, जसको समाधान नै देखिँदैन ।”
ज्ञानेन्द्रले सत्ता हातमा लिन्छन् भन्ने बुझेपछि २०६१ माघ १८ गते राति राजासँगको भेट गरे, जुन भेट प्रधानमन्त्रीका रुपमा देउवाको अन्तिम भेट बन्यो । देउवाले ज्ञानेन्द्रसँग दुई हात जोडेरै अनुरोध गरे, “सरकार, जुनसुकै तहको काम (सम्झौता) गर्न तयार छु । तर, प्रजातन्त्र र संविधान मास्नु हुँदैन ।”
देउवाका अनुरोध २०६१ माघ १९ गतेकै बिहान लत्याइयो । ज्ञानेन्द्र शाहले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिँदै निरंकुश यात्रामा हिँडे । २०४७ को संविधानलाई धुलीसात् पारे । सिंगो संविधान ध्वस्त पार्दै ‘बाधा अड्काऊ फुकाऊ’को एउटा धारा निरंकुश शासनको आधार बनाए ।
शाहले शासनसत्ता आफ्नो हातमा लिएको घोषणा गरेसँगै देउवाको थेगो बन्यो, “त्यो राजाबाट म जति धोका पाउनु कोही नेता छ र ? त्यो एकपटक होइन, दुई–दुई पटक ।”
शासन सत्ता हातमा लिएपछि ज्ञानेन्द्रले टेलिफोन लाइन काट्न लगाए, मोबाइल फोन बन्द गरे । इन्टरनेटका लाइन काट्दै निरंकुश ‘मध्ययुगीन नेपाल’तिर मुलुक लगे ।
राजनीतिक दलका नेताहरु कतिलाई थुनामा त कतिलाई नजरबन्दमा पुर्याए । अनि २०१७ पुस १ गतेपछि निरंकुश पञ्चायती व्यवस्था निम्ति महेन्द्रले प्रयोग गरेका पुराना पञ्चहरुलाई साथ लिँदै निरंकुश शासनमा रमाए ।
तुलसी गिरी र कीर्तिनिधि विष्टदेखि पञ्चायतकालीन अञ्चलाधीश–प्रशासक शासनसत्तामा मनोनीत गरे ।
तिनै ज्ञानेन्द्रसँग देउवाको रिस मरेको छैन । केही समयसता सक्रिय हुन खोजेका ज्ञानेन्द्रलाई जवाफ दिने योजनामा छन्, देउवा ।
पार्टीका उच्च तहका नेताहरुसँग अनौपचारिक कुराकानी गरी राम्रैसँग जवाफ फर्काउने योजना देउवाले बनाएका छन् ।
देउवाको भनाइ छ, “पूर्वराजालाई मैले जति कसले चिनेको छ र ? संवैधानिक भएर बस्न चाहेको भए हामीले उनले चाहेकोजस्तै मानसम्मानका साथ राखेकै थियौं । उनी जब संवैधानिक भएर बस्न चाहेनन्, हामीलाई थुनेर शासन गर्न थाले त्यसपछि उनलाई जनताले नै हटाएका हुन् ।”
यसैसाताको एक अनौपचारिक भेटमा ज्ञानेन्द्र संवैधानिक परिधिभित्र बस्न चाहने व्यक्ति नभएको उल्लेख गर्दै देउवाले भने, “उनैलाई ल्याउन भनी गरिएको सडक आन्दोलनको कुनै तुक छैन । जनताको शासनजस्तो उत्तम व्यवस्था अरु कुनै हुनै सक्दैन ।”
संवैधानिक भएर बसेको भए जाँदैनथे ज्ञानेन्द्र शाह ?
लोकतन्त्र बहालीपछि चारैतिर ज्ञानेन्द्रविरुद्ध आक्रोश थियो । कांग्रेसका केही नेता ज्ञानेन्द्रलाई कुनै न कुनै राजाको भूमिका राख्न चाहेका थिए । त्यतिखेर कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’को अवधारणामाथि कुराकानी चलाएका थिए ।
तर, ज्ञानेन्द्रले त्यो चाहेनन् मात्र होइन कि प्रस्ताव लग्नेमाथि आक्रोश पोखेका थिए । ‘बेबी किङ विल बी ओभर माई डेड बडी’ अर्थात् बेबी किङ मेरो लासमाथि मात्रै सम्भव छ । पूर्व प्रधानसेनापति रुक्मांगद कटवालले आफ्नो आत्मकथाको पृष्ठ ४०४ मा पूर्वराजा ज्ञानेन्द्र शाहको यो भनाइ उल्लेख गरेका छन् ।
०६२–६३ को जनआन्दोलनताका नेपाली सेनामा वरियतामा दोस्रो स्थानमा रहेका कटवाल पछि प्रधानसेनापति भएका थिए ।
जनआन्दोलनलगत्तै २०६३ जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठकले नै मुलुक गणतन्त्रमा प्रवेश गर्नेगरी राजाका सबै अधिकार कटौती गरेर दरबारभित्र सीमित पारिदिएको थियो । त्यसपछि दरबारभित्रै सीमित पूर्वराजा ज्ञानेन्द्रले नेपाली सेनामार्फत् आफ्नो भूमिका कायमै राख्न प्रयत्न नगरेका भने होइनन् ।
पूर्वसेनापति कटवालले २०८० कात्तिकमा पंक्तिकारसँग गरेको कुराकानीमा आफूले सांस्कृतिक राजा राख्न सबैभन्दा पहिले पहल गरेको र त्यसमा पूर्वराजाले नै अस्वीकार गरिदिएको उल्लेख गरेका थिए ।
जुनकुरा उनले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन् ।
कटवालको आत्मकथाअनुसार, सांस्कृतिक राजा राख्ने विषयमा आफूले राजाका तत्कालीन एडीसीहरु विजयविक्रम खड्का र विनोज बस्नेत दुवैसँग आग्रह गरेको उल्लेख गरेका छन् ।
उनले आफ्नो पुस्तकमा गिरिजाप्रसाद कोइरालालाई ‘सेरेमोनियल किङ’ का बारेमा मनाउन निकै सकस परेको जनाएका छन् ।
आफ्नो प्रस्तावलाई एडीसीले पुर्याउन नसकेपछि राजाका नातेदार प्रभाकर शमशेरमार्फत् आफूले पठाएको प्रस्तावमा ज्ञानेन्द्रले कटवाललाई यस्तो सन्देश पठाएका थिए, ‘‘उनलाई भनिदेऊ, मैले तिम्रो कुरा सुनेँ ।”
यिनै फेरि उनै शाहलाई गद्दीमा फर्काउने अन्तिम कोसिसमा पूर्वपञ्चहरु लागिपरेका छन् । सँगै प्रश्न उब्जिएको छ, ‘ज्ञानेन्द्र्रले खोजेको कस्तो राजा र शासन व्यवस्था हो ?’