site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
...अनि ज्ञानेन्द्र शाहले गणतन्त्रमै शाही निसान प्रयोग गर्दै लेख्न थाले ‘श्री ५’

काठमाडौं । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गर्‍यो ।  संविधानसभाको भारी मतबाट २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य गरेको थियो । त्यही बैठकले अन्तरिम संविधान संशोधन गर्दै अन्तरिम संविधानमै राष्ट्रपतिको व्यवस्था गरेको थियो । 

अन्तरिम संविधान संशोधनमाथि ५ सय ४२ जना सदस्यले मतदान गरेका थिए । त्यसमा जम्मा दुई मत विपक्षमा परेको थियो । राप्रपा नेपालका दुई सांसद त्यसको विरोधमा थिए । तर, गणतन्त्र घोषणाका बेला भने ५ सय ६४ जना सदस्यको उपस्थिति थियो । 

राप्रपा नेपालका ४ सदस्यले विपक्षमा मतदान गरेका थिए भने ५ सय ६० जनाले संविधानसभाको अध्यक्षता गरिरहेका सबैभन्दा जेठा सदस्य कुलबहादुर गुरुङले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा प्रस्तुत प्रस्तावलाई निर्णयार्थ पेस गरेका थिए ।

‘सेरेमोनियल’ र ‘बेबी किङ’ आफ्नो लासमाथिमात्रै सम्भव भन्ने ज्ञानेन्द्रले अहिले के खोज्दैछन् ?

सभाबाट भारी मतले अनुमोदन गरेपछि ज्ञानेन्द्र शाह ‘पूर्वराजा’ या ‘पूर्व महाराजाधिराज’को को हैसियतमा दर्ज थिए ।  उनै शाहले करिब १३ वर्षसम्म चाडबाड र दिवसमा शुभकामना दिँदा ‘पूर्वराजा’ शब्द प्रयोग गरेका थिए । 

तर, २०७८ साल फागुन ७ गतेदेखि उनले आफ्नो शुभकामना सन्देशमा ‘श्री ५ बडामहाराजाधिराज’ लेख्न थाले । जुन संविधानविपरीतको काम थियो । गणतन्त्रमा कार्यान्वयन संलग्न पूर्वगृहमन्त्री तथा तत्कालीन गृहसचिव गणतन्त्रले दिएको सुविधा’को दुरुपयोग गरेको टिप्पणी गर्छन् ।

२०७८ को विजया दशमीमा शाहले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विजया दशमी २०७८ को उपलक्ष्यमा बक्सेको शुभकामना ।’

विजयादशमीको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा पनि उनले राजसंस्थाविनाको प्रजातन्त्र नेपालजस्तो मुलुकमा सान्दर्भिक नहुने विचार व्यक्त गरेका छन् ।

“देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौँ,” उनको शुभकामना थियो ।

त्यसको चार महिनापछि ७२ औँ प्रजातन्त्र दिवसका दिनमा उनले दिएको सन्देशमा चाहिँ ‘श्री ५’ उल्लेख गरे । “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बक्सेको शुभकामना,” भनिएको छ ।

ज्ञानेन्द्र शाहको त्यो श्रीपेच मोह र अहिलेको तमासा 

उक्त सन्देशमा पनि उनले राजनीतिक दलप्रति आक्रोश व्यक्त गरेका थिए । “राष्ट्रियताविनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ,” उनले भनेका थिए, “न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छन्, रहिरहने छन् । प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ ।”

उनले त्यतिमात्रै होइन, गणतन्त्रप्रति संकेत गर्दै ‘अरुले ओढाईदिएको आसमान’ भनेका छन् । “अरुले ओढाईदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन,” उनले भनेका छन् ।

“अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याईरहेको, विचारणीय छ,” यही वक्तव्यसँगै उनले ‘श्री ५’ लेख्न थाले सोही दिन दिएको शुभकामना सन्देशमा भनेका थिए । उनले त्यसरी ‘पूर्व’ हटाउँदै दिएको वक्तव्यप्रति कसैले चासो दिएनन् र कुनै प्रतिक्रिया पनि जनाएनन् ।

कतैबाट कुनै चासो नपरेपछि उनले हरेक सन्देशमा ‘श्री ५’ लेख्न थाले । ‘श्री ५’ मात्र होइन कि उनले ‘शाही निसान’समेत प्रयोग गर्न थाले ।

गत फागुन ६ गते उनले दिएको भिडियो सन्देशमा शाही निसानसमेत प्रयोग गरे ।

शाही निसान २०६५ जेठ १७ गते हटाएको थियो । राजतन्त्र कायम रहेसम्म नारायणहिटी दरबारमा ‘शाही निसान’ अंकित झन्डा राख्ने प्रचलन थियो ।

जानकारहरुका अनुसार, पछिल्लो शाही निसान २०५७ सालदेखि प्रयोग हुँदै आएको थियो । त्यसअघि पनि शाही निसान प्रयोग नभएको होइन, तर अहिले प्रयोग भएको भन्दा फरक थियो । 

२०६५ जेठ १६ गते नारायणहिटी दरबारभित्रको शाही निसानसहितको झन्डा निकालेर राष्ट्रिय झन्डा फहराइएको थियो । 

त्यतिबेला पनि राष्ट्रिय झन्डा किन राखिएको ? भन्ने विषयमा बहस भएको थियो ।

राष्ट्रिय झन्डा प्रयोगसम्बन्धी नियमावलीमा सरकारको केन्द्रीय सचिवालय सिंहदरबार, प्रधानमन्त्री कार्यालय/निवास, संविधानसभा अध्यक्ष/सभामुखको कार्यालय, निवास, मन्त्रालय, मन्त्री निवास तथा प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी निकायमा मात्रै राष्ट्रिय झन्डा राखिने भएका कारणले नारायणहिटीमा राख्न नहुने विज्ञको सुझाव थियो ।

त्यसले पूर्व भइसकेका राजालाई दिएको सम्मानका रुपमा हेरिने हुँदा उनी बाहिरिएपछिमात्रै राख्नुपर्ने सुझाव दिइएको थियो ।

तर, भोलिपल्टै राष्ट्रिय झन्डा राखिएको त्यसबेलाका गृहसचिव उमेश मैनालीले जानकारी गराए । “गणतन्त्र घोषणा भएको भोलिपल्टै शाही निसानसहितको झन्डा निकालेर राष्ट्रिय झन्डा राखिएको हो,” मैनालीले बाह्रखरीसँगको कुराकानीमा भने ।

तर, यतिखेर पूर्वराजाले आफ्ना सम्बोधन र प्रयोगमा जसरी ‘शाही निसान र श्री ५’ प्रयोग गरेका छन् त्यो गणतन्त्रले दिएको ‘छुट’ भएको उनको टिप्पणी छ ।

‘श्री ५’ लेख्दै ‘शाही निसान’ प्रयोग गर्न पाइन्छ ? भन्ने प्रश्नमा मैनालीले भने, “गणतन्त्रले दिएको छुट भनेर बुझ्नुपर्ला । पूर्व भइसकेकाले ‘राजा’ नै लेख्न पाइँदैन । त्यो संविधानमा भएको व्यवस्था होइन । तर अहिले पुरानै अवस्थामा जस्तोगरी लेखेको पाइएको छ । यो गणतन्त्रले दिएको छुट हो । संविधानको विरुद्धमा उनी बोलिरहेका छन् । संविधानले कहाँ त्यो सुविधा कहाँ दिन्छ ?”

उनले कानुनभन्दा ‘माथि’ कोही पनि नहुने उल्लेख गर्दै संविधानको दायरामा सबै बस्नुपर्ने बताए । पूर्वगृहमन्त्री कृष्ण सिटौलाले पनि त्यसबेलाको घटना स्मरण गर्दै ‘पूर्वराजालाई संविधानसभाले संविधानको दायरामा ल्याएको’ बताए ।

“पूर्वराजाले ‘श्री ५’ लेख्न मिल्दैन, त्यो पाइँदैन पनि,” उनले भने, “यो काम संविधान र कानुनविपरीत हो । सरकारले यसबारे सोच्नुपर्छ । सरकारले आफ्नो धारणा के हो स्पष्ट पार्नुपर्छ ।”

किन त, संविधानमै नभएको ‘श्री ५’ लेखिएको ? पूर्वराजाका सचिवालयका एक अधिकारी भन्छन्, “राजा कहिल्यै पूर्व भन्ने हुँदैनन्, पहिले बुझिएन, पूर्व लेखियो । राजा कहिल्यै पूर्व हुँदैनन् भनेर श्री ५ लेख्न थालियो ।”
 

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro