
काठमाडौं । नेपाली फरेन्सिक मेडिसिनका खम्बाका रुपमा चिनिएका विशेषज्ञ डा. हरिहर वस्तीले आफ्नो कार्यकालको ३० वर्ष अटोप्सी (शव पोस्टमार्टम)मा बिताए । केही समययता रिटायर्ड जीवन बिताइरहेका डा. वस्ती आफ्नो जीवनकालमा १५ हजारभन्दा बढी शवको पोष्टमार्टम गरेको सम्झिन्छन् । वि. सं. २०४७ सालमा संखुवासभाको खाँदबारीबाट चिकित्सकको करिअर सुरु गर्दा नेपालमा अटोप्सीको अभ्यास त्यति धेरै थिएन । कतिपय जिल्लामा अस्पतालसम्मको पहुँच नहुनु त कतिपय घटनामा दबाव र प्रभावले पनि धेरै केसहरु आइपर्दैनथे ।
तर, २०५० सालमा केन्द्रीय कारागार अस्पतालमा पोष्टिङ भएसँगै डा. वस्तीको हातमा दैनिक अटोप्सी गर्नुपर्ने जिम्मेवारी मात्रै थपिएन, नेपालमा अटोप्सीको अवस्थाबारे बुझ्ने गतिलो अवसर पनि मिल्यो । यही अवसरले डा. वस्तीको नाम नेपालको फरेन्सिक मेडिसिनको इतिहासमा लेखिन पुगेको छ । उनै योगदानकर्ताले आफ्नो ३० वर्षे कार्यकाललाई बाह्रखरीसँग यसरी सम्झिएका छन् ।
रहर कार्डियोलोजिष्टको, बने फरेन्सिक मेडिसिन विशेषज्ञ
पूर्वी नेपालको धनकुटामा जन्मे हुर्केका डा. हरिहर वस्तीको रहर मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) बन्ने थियो । २०४७ सालमा पढाइपछिको करिअर सुरुवातको क्रममा उनी संखुवासभाको खाँदबारी पुगे । हिम्मतिलो स्वभावका उनलाई अस्पताल आइपुगेका शवहरुको अटोप्सी गर्न लगाइन्थ्यो, उनी नहिच्किचाइ त्यो काम गर्थे । डेढ वर्ष संखुवासभा बस्दा ६, सातवटा मात्रै अटोप्सी गरेको उनलाई याद छ । जब सरकारी सेवामा नाम निकालेर काठमाडौं आए, उनको पोस्टिङ केन्द्रीय कारागार अस्पतालमा भयो । त्यहाँ मृत्यु भएकाहरुलाई वीर अस्पताल ल्याइन्थ्यो र वीरमै अटोप्सी गर्नुपथ्र्यो । वीरमा मासिक २०/३० हुँदै २०५१ सालपछि मासिक ८० वटासम्म अटोप्सी गर्नुपर्ने भयो । त्यो समयमा पर्याप्त औजार, स्रोत साधनको अभावमा बिजोगले चिरफार गर्नुपरेको उनी सम्झिन्छन् ।
“यतिसम्म कि एक बाल्टिन पानीको भरमा भुइँमा राखेर पनि अटोप्सी गरियो, यसले मलाई नेपालमा फरेन्सिक मेडिसिनमा केही गर्नुपर्छ भन्ने लाग्यो र यही विषयमा विज्ञ बन्ने निर्णय गरेँ,” डा. वस्ती ती दिनहरु सम्झिन्छन् । त्यसपछि डा. वस्तीले छात्रवृत्तिका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरे र दुई वर्षे छात्रवृत्तिमा श्रीलंकाको कोलम्बो युनिभर्सिटीमा फरेन्सिक मेडिसिनमा मास्टर्स पढ्न जाने निर्णय गरे । “त्यतिबेला मेरा आफन्त र शुभचिन्तकहरुले बौलायो कि क्या हो पनि भने । तर मैले आफूलाई यसमा रुचि भएको र नेपालमा यसको आवश्यकता पनि रहेको भन्दै उनीहरुलाई कन्भिन्स गराएँ,” डा. वस्तीले सम्झिए । फरेन्सिक मेडिसिन पढ्नुपछाडि उनको एउटै बुझाइ थियो– जहाँ चुनौति छ, त्यहाँ अवसर पनि अवश्य हुन्छ ।
३० वर्षमा १५ हजार बढी अटोप्सी
दुई वर्ष कोलम्बोमा पढेर आउँदा नेपालमा द्वन्द्वकाल चर्किइसकेको थियो । दैनिक हुने दुर्घटना, आत्महत्या, बलात्कारसँगै द्वन्द्वमा मारिएकाहरुको केस धेरै आउँथ्यो । सिन्धुपाल्चोकको दोरम्बा घटनादेखि कस्टडीमा मृत्यु भएकासम्मका घटनामा सातामा नै ६५ वटासम्म अटोप्सी गर्नुपरेको डा. वस्ती सम्झिन्छन् । यो क्रममा आफ्नो तीस वर्षे कार्यकालमा १५ हजारभन्दा बढी शवको अटोप्सी गरेको रेकर्ड कम्प्युटरमा सुरक्षित राखेका छन् डा. वस्तीले ।
राजपरिवारको अटोप्सी चाहेर पनि गर्न दिइएन
‘२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृतकहरुको अटोप्सी गर्न पाएको भए केही तथ्य बाहिर ल्याउन सकिन्थ्यो कि...’ यो हुटहुटी अहिले पनि छ डा. वस्तीको मनमा । “अटोप्सी गर्न पाएको भए चोट, सुट गरेको दूरी, चोटमा देखिएका लक्षण, चोटको प्रकृति हेरेर धेरै कुरा पहिचान गर्न सकिन्थ्यो तर त्यो गर्न दिइएन,” डा. वस्ती त्यतिबेलाको घटना सम्झिँदै थप्छन्, “घटना भएपछिका दुई दिन लगातार हामीलाई वीरेन्द्र सैनिक अस्पतालमा बोलाइयो । त्यतिबेला अटोप्सीमा हामी तीन जनाको टोली थियो । हामीलाई दिनभर एउटा कोठमा राखियो । तर, अन्तिममा ‘मुमा बडामहारानीले मानिस्येन, अटोप्सी नगर्ने । तपाईँहरु जानुस्’ भन्दै फर्काइयो र शवहरु धमाधम ट्रकमा राखियो ।”
घटनाको एक महिनापछि उच्चस्तरीय छानविन आयोगबाट चिठ्ठी आयो । सबै मृतकहरुको मेडिकल रिपोर्टका आधारमा टेबलमाथि कागजपत्र राखियो र भनियो– यी रिपोर्टका आधारमा मेडिकल ओपिनियन बनाइदिनुपर्यो । तर, ती मेडिकल रिपोर्टमा अटोप्सीलाई सहयोग हुने वा घटनालाई पुष्टी गर्ने कुनै प्रमाण थिएनन्, न फोटो नै खिचिएका थिए । त्यतिबेला आएर आयोगका नेतृत्वकर्ताले सोधे– मत्यु भएका सबैको पोष्टमार्टम गर्नैपथ्र्यो र ? तब डा. वस्तीले अन्तर्राष्ट्रियस्तरका ठूला ठूला केही घटनाको उदाहरण दिएर अटोप्सी रिपोर्टको महत्व बुझाए र थपे– राजा वीरेन्द्रसहित मृतक सबैको अटोप्सी गरिनुपर्थ्यो ।
दूधे बच्चा र फ्रेस बडीसँग सँधै भावविह्वल
अटोप्सीका क्रममा नवजात शिशुदेखि वृद्ध वृद्धाहरुको समेत मृत शरीरको चिरफार गर्नुपर्दथ्यो । नवाजात् शिशुलाई आफ्नै आमाले विभत्स हत्या गरेका शव देख्दा कटक्कै मन खान्थ्यो उनको । दूधे उमेरमै शिशुहरुको विभिन्न कारणले मृत्यु भएको देख्दा मन अमिलो भएर आउँथ्यो । अकस्मात विभिन्न कारणले मृत्यु भएका शरीर देख्दा उठेर हिँडिहाल्छन् कि झैँ लाग्थ्यो उनलाई । तीस व्र्षे कार्यकालमा अन्य मृत्युलाई स्वभाविक माने पनि यस्ता शवको अटोप्सी गर्दा भने डा. वस्ती मृतकका परिवारझैँ भावविह्वल भइरहन्थे ।
जब आफ्नै सहकर्मीको अटोप्सी गर्नुपर्यो...
त्यसो त तीस वर्षे कार्यकालमा डा. वस्तीले आफन्त, छिमेकी र धेरै चिनेजानेका व्यक्तिको अटोप्सी गरे । २०७४ फागुन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भयो । दुर्घटनामा परी मृत्यु भएका ५१ जनामध्ये एक थिए वरिष्ठ न्यूरोलोजिष्ट डा. बालकृष्ण थापा । जो डा. वस्तीका नजिकका साथी र सहकर्मी पनि थिए । विमान दुर्घटनाको खबरपछि उनकै विभागका सहकर्मीहरुले फोनमार्फत् भने– डा. थापा पनि दुर्घटनामा परेछन्, अटोप्सी प्रक्रिया छिटो गर्नुपर्ला ।
डा. थापाको पेटको शल्यक्रिया गरेको थाहा पाएका डा. वस्तीलाई उनको शव चिन्न मुस्किल परेन । तर, एक्लै भएको बेला परिवारलाई जानकारी दिने हिम्मत भने जुटेन । न थापा परिवारसँग फेस गर्न मन नै मान्यो । अटोप्सी सकिएपछि सबै टिमलाई बोलाए । रिपोर्टको जानकारी गराए र टिमकै माध्यमबाट परिवारलाई शव बुझाइयो । डा. थापाको शव बुझाउने बेला परिवारको अवस्था देखेर अगाडि बस्नसमेत सकेनन् डा. वस्ती । हजारौँ शवहरु चिरफार गरिसकेका डा. वस्तीलाई छिटो गर्नु ठूलो कुरो थिएन, तर आफ्नै सहकर्मीको असहज भयो । परिवारलाई कसरी भन्ने भन्ने भयो, अर्का सहकर्मी चिकित्सकलाई भनेर परिवारलाई रिपोर्टबारे बुझाउन लगाए । रुवाबासीको माहोलमा डा. थापाका परिवारलाई भेट्ने हिम्मतसम्म उनमा जुटेन । शव परिवारलाई जिम्मा लगाउने बेलामा फरेन्सिकको टिम नै थियो, डा. वस्ती भने त्यहाँ प्रत्यक्ष देखा परेनन् ।
विज्ञानलाई अविश्वास गर्ने कानुन
उनी ठ्याक्कै मिति सम्झिँदैनन्, तर घटना २०५८/०५९ सालतिरको हो । टेबहालको एक होटलमा एक पुरुष मृत फेला परे । त्यही होटलमा अरु दुई जना पाहुना पनि बसेका थिए । भोलिपल्ट बिहान घटनाबारे बुझ्न प्रहरीले डा. वस्तीलाई बोलायो । अनुसन्धानको क्रममा कसैले घाँटीमा डोरीले कसेका कारण मृत्यु (लिगेचर स्टामुलेसन) भएको पुष्टी भयो । अटोप्सीको ६ महिनापछि डा. वस्तीलाई जिल्ला अदालत काठमाडौंमा बोलाइयो र यो घटनामा आफैँले डोरी कसेर आत्महत्या भएको पाइएको भनियो । प्रहरीले जसलाई शंकास्पद मानेर पक्राउ गरेको थियो, ती दुवै छुटेको पनि उनले थाहा पाए । यो घटनामा आत्महत्याको कनै सम्भावना नहुनु तर अदालतले आत्महत्या नै हो भनेर फैसला गरिदिँदा डा. वस्तीलाई कताकता कानुनले पनि विज्ञानलाई अविश्वास गरेको भन्ने नमीठो भान अहिलेसम्मै भइरहन्छ ।
अटोप्सी रिपोर्ट फेर्न प्रहरीबाटै दबाब
२०५० सालमा काठमाडौंकै मातातीर्थमा एक महिला घरछेउकै झाडीमा मृत भेटिइन् । शव पोष्टमार्टमका लागि ल्याइयो । चोटपटकपछि कसैले घाँटीमा डोरीले कसेका कारण मृत्यु भएको अटोप्सी रिपोर्टमा देखियो । रिपोर्ट बुझाएको तीन दिनपछि अटोप्सी रिपोर्ट चेन्ज गरिदिन भन्दै प्रहरी आईजीपीको फोन आयो । हनुमानढोकाका एसपीले समेत र बीपी कोइराला अस्पतालका प्रमुखले समेत फोन गरेर रिपोर्ट फेर्न दबाब दिए । तर डा. वस्तीले जवाफ दिए, “मेरो हातबाट यो रिपोर्ट चेन्ज हुँदैन ।” पछि थाहा भयो, त्यो घटना भूतपूर्व अञ्चलाधीशको परिवारको रहेछ । झुन्डिएर आत्महत्या गरेको भनि मुचुल्का बनाइएको रहेछ । तर, त्यसपछि उनलाई दोहो¥याएर रिपोर्ट फेर्न कहिल्यै दबाब र अनुरोध आएन ।
१० प्रतिशत उद्देश्य मात्रै पूरा
डा.वस्तीले आफ्नो कार्यकालमा सँधै बुझाउन खोजेको एउटा महत्वपूर्ण विषय छ, मृतकको मात्रै होइन जिउँदाको पनि फरेन्सिक । पीडितलाई अस्पतालमा दिइने स्थान, परामर्श, परीक्षण अहिले पनि सही ढंगमा नभएको उनी गुनासो गर्छन् । “मैले आफ्नो कार्यकालमा लिएका उद्देश्यमध्ये १० प्रतिशत पनि पूरा भएको छैन । अझै फरेन्सिक मेडिसिनमा राज्यले जति लगानी गर्नुपर्ने हो त्यति गरेको छैन । दक्ष जनशक्ति अझै पुगेका छैनन्,” डा. वस्ती भन्छन्, “पछिल्लो समय निजी मेडिकल कलेजहरुमा पनि फरेन्सिक ल्याबहरु सञ्चालनमा आएका छन् । यसमा कानुनी व्यवस्थाहरु बनेका छन्, केही सन्तुष्ट हुने बाटो नभएका होइनन् । तर दक्ष जनशक्तिबाट फरेन्सिक अभ्यास हुनपर्छ भन्ने वातावरण बनाउन जनस्तरबाट पनि उत्तिकै सचेत हुन आवश्यक छ ।” वस्तीका अनुसार कानुनी र व्यवहारिक ज्ञान राज्यले प्रशिक्षित गराउनु आवश्यक देखिन्छ ।
फोटो : हरिशजंग क्षेत्री