
काठमाडौं । सेयर कारोबारमा ‘टी प्लस टु’ लागु भएको चार वर्ष भयो । यसको अर्थ सेयर खरिद गर्नेले दुई कारोबार दिनमा पैसा तिर्नुपर्छ भने बिक्री गर्नेले दुई कारोबार दिनमा नै पैसा पाउनुपर्छ । तर, यो नियम धेरै ब्रोकरहरूमा लागु छैन ।
सेयर खरिद गर्नेलाई ब्रोकरहरूले यो नियम कडाइका साथ लागु गराएका छन् । सेयर खरिदका लागि टीएमएसमा कोल्याट्रोल पैसा राख्नै पर्छ । त्यो कोल्यट्रोलमा भएको बराबरको मात्र सेयर खरिद गर्न पाइन्छ । कोल्याट्रोलमा भएको पैसा नकाटियो भन्ने चाहनेले ब्रोकरको खातामा दुई कारोबार दिनभित्र पैसा पठाइसक्नुपर्छ । तर, सेयर बिक्री गर्नेहरूको खातामा ब्रोकरहरूले दुई कारोबार दिनमा पैसा पठाउँदैनन् । सबै ब्रोकरहरूले टी प्लस टुको नियम लागु गरेका छैनन् भन्ने हैन । तर, अधिकांश ब्रोकरले ‘पेमेन्ट रिक्वेस्ट’को नाममा भुक्तानी गर्न ढिला गर्छन् ।
यसको उदाहरणका रूपमा आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीज (ब्रोकर ५७) लाई लिन सकिन्छ । यो ब्रोकरबाट सेयर बिक्री गर्नेले दुई कारोबार दिनपछि पैसा पाउँदैनन् । बेचेको सेयरको भुक्तानीका लागि फोन गरेर ‘पेमेन्ट रिक्वेस्ट’ गर्नुपर्छ । यति मात्र हैन पैसा समयमा खातामा आएका भनेर फोन गर्दा कर्मचारीको गाली समेत खानुपर्छ ।
यो त एक उदाहरण मात्र हो । सञ्चालनमा रहेका ९० ब्रोकरहरूमध्ये यसरी सेयर बिक्री गरेपछि समयमा पैसा खातामा नपठाउने धेरै छन् ।
धितोपत्र बोर्डमा पनि ब्रोकरहरूले सेयर बिक्रीबापतको पैसा समयमा नदिएको गुनासो परिरहेको हुन्छ । तर, बोर्डले सम्बन्धित ब्रोकरलाई सम्पर्क गरी समस्या हल गर्दै आएका नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले बताउँछन् । “ब्रोकरले समयमा पैसा नदिएको भन्दै उजुरी पर्ने गरेको छ । हामीले सम्बन्धित ब्रोकर कम्पनीलाई फोन गरेर समस्या समाधान गर्दै आएका छौँ,” घिमिरेले बाह्रखरीसित भने, “तर, सेयर बिक्री गरेको दुई कारोबारपछि लगानीकर्ताले पैसा पाउनुपर्ने व्यवस्था छ ।”
सेटलमेन्टको कामले गर्दा ब्रोकरले नियमअनुसार दुई दिनमा नै सेयर बिक्रीको पैसा पठाउन नसकेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटा बताउँछन् । अहिले ब्रोकरहरूले सेयर बिक्रीको पैसा टी प्लस टुमा भन्दा पनि ‘टी प्लस थ्री’ मा पठाउने गरेको उनी बताउँछन् ।
दुई दिनमा सेटलमेन्टको काम गर्नुपर्ने भएकाले नियमअनुसार ब्रोकरले दुई दिनमा नै पैसा पठाउन नसक्ने उनको भनाइ छ । “अहिले ब्रोकरहरूले टी प्लस टुभन्दा पनि टी प्लस थ्रीमा सेयर बिक्रीको पैसा पठाउने गरेका छन्,” उनले भने, “सबै ब्रोकरले नियमअनुसार लगानीकर्ताको खातामा सेयर बिक्रीका पैसा पठाउनुपर्छ ।”
टी प्लस टु लागु गर्दा सुरुमा ब्रोकरहरूले लामो समयसम्म पैसा नपठाउँदा धितोपत्र बोर्डले विज्ञप्ति नै निकाल्नु परेको थियो । तर, यो नियम लागु भएको चार वर्ष पूरा हुँदा पनि अहिलेसम्म प्रभावकारी रूपमा लागु हुन सकेको छैन । लगानीकर्ताहरूले सेयर बिक्री गरेको पैसा समयमा नपाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका हुन्छन् ।
कतिपय ब्रोकरले खातामा पैसा नपठाएर सो रकम बराबरको सेयर किन्न सक्ने व्यवस्था गरिदिने गरेका पनि छ । यदि पैसा चाहिएमा ब्रोकरलाई फोन गरेर खातामा पठाउन लगाउनु पर्ने झन्झट पनि लगानीकर्ताले भोगिरहेका छन् ।