site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
एनआरएनएका ‍पूर्वअध्यक्षहरूको आह्वान– मिलेर समस्याको समाधान गरौँ

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष, पूर्वअध्यक्षसहित सरोकारवालाहरूले संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघले सोमबार आयोजना गरेको भर्चुअल संवादमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसहित पूर्वअध्यक्षहरूले सबैजना मिलेर संवादको माध्यमबाट निकास दिन आह्वान गरेका हुन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरूबीच भाइचारा बढाउन यस संस्थाको स्थापना गरिएको स्मरण गराए । उनले सबैलाई हठ त्यागेर लाखौँ नेपालीलाई एउटै विचारको साथ अगाडि बढ्न आग्रह गरे । उच्चस्तरीय समितिले चुनावका लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्न आग्रह गरे ।

उनले वास्तविक एकताको महाधिवेशनमा मात्रै आफू सहभागी हुने पनि बताए । नेपालको समृद्धिको अभियानमा आफ्नो सधैँ साथ रहने उनको भनाइ छ ।

एनआरएनएका पूर्वअध्यक्ष जीबा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । उनले गत हप्ता परराष्ट्रमन्त्री आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताउँदै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानुपर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिन सुझाव दिए ।

"नेपालमा शान्ति प्रक्रिया ल्याइयो । संसद् पुनर्स्थापना गर्ने भन्ने कहीँ पनि लेखिएको थिएन, द्वन्द्वरत पक्षलाई संसद्‌मम राख्ने कुरा लेखेको थिएन । तर, त्यो सम्भव भयो । त्यस्तै, हामीले पनि एकता गरेर अगाडि जान सक्छौँ," उनले भने ।

एनआरएनएका अर्का पूर्वअध्यक्ष कुमार पन्तले विवेक नगुमाउन आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बनेमात्र सबैको इज्जत हुने बताए ।

"मनभित्र एकताको भावना राख्ने हो भने समस्या समाधान गर्न सकिन्छ । तपाईंहरू सबैले एउटा सुझाव दिनोस् । उच्चस्तरीय समितिमा निर्वाचन पर सार्न हामीले कुरा राख्छौँ । हामीले जुन–जुलाईमा चुनाव गर्छौं भन्यौँ भने अदालतले, परराष्ट्रले नगर्नोस् भन्दैन । उच्चस्तरीय समितिले निर्वाचनको काम गर्छ, अहिलेको कार्यसमितिलाई आफ्नो काम गर्न दिनोस्," उनले भने ।

एनआरएनएका अर्का पूर्वअध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताए । आफ्नो व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न उनको आग्रह छ । "सम्मानित अदालतलाई हामीले मान्नै पर्छ । परराष्ट्रमन्त्रीले दिएको विकल्पमा जाऊँ," भट्टले भने ।

एनआरएनएका संस्थापक सचिव भीम उदासले प्राविधिक विषय छाडेर भावनात्मक एकतामा जान आग्रह गरे । उनले एकताको संदेश अन्तर्वार्तामा नभएर व्यवहारमा देखाउनुपर्ने बताए । 

एनआरएनएका संस्थापक सदस्य रामप्रताप थापाले संस्थाको एकताका लागि आफूले विगतमा त्याग गरेको समरण गरे । उनले संस्थाको हितलाई सर्वोपरि राख्न आग्रह गरे । 

एनआरएनएका अध्यक्ष बद्री केसीले २००३ मा नेपालको समृद्धिका लागि विदेशमा रहेका नेपालीहरूलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको बताए । उनले एनआरएन नागरिकतादेखि सामाजिक सुरक्षा कोषसम्म सबै संघको उपलब्धि भएको बताए । उनले ११औँ महाधिवेशन सम्पन्न भएर चार महिना काम गरिसकेपछि सर्वोच्चको फैसला आएको बताए ।

"सर्वोच्चको दोस्रो फैसलाले विवेचनामा हरेक अधिवेशन सार्वभौम हुन्छन् भन्यो । हामी सधैँ एकताका लागि लचक छौँ । सर्वोच्च अदालतको दुईवटै फैसलाको सम्मान गरेर जाऊँ । उच्चस्तरीय समितिले अनुगमन गरोस्, हामी तयार छौँ । ११औँ कार्य समितिको वैधतामाथि कुनै प्रश्न छैन । निष्पक्ष चुनाव गर्न हामी तयार छौँ," उनले भने ।

अध्यक्ष केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको पनि बताए । "मे २०२५ मा चुनाव गर्न बाध्यकारी अवस्था हैन । सर्वोच्च अदालत नियमावली अनुसार, महान्याधिवक्तामार्फत निवेदन दिएमा ६ महिना थप्न सकिन्छ ।"

कार्यक्रममा एनसीसीका अध्यक्षहरूले यही मे महिनामा अधिवेशन गर्न सम्भव नभएको बताएका थिए । उनीहरूले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफूहरूलाई मान्य हुने बताए । उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादबाट अहिलेको समस्यालाई निकास दिन उनीहरूको आग्रह छ ।

झन्डै चार घण्टासम्म चलेको अन्तरक्रियाको सञ्चालन महासचिव गौरीराज जोशीले गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro