काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन कार्यक्रम सम्पन्न गरिएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरीमा झण्डोत्तलन गरिएको हो ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका हुन् । कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।
उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिनसक्ने सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्नेमा जोड दिए । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।