site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिन्दी सिनेमा कतिमा किनेर नेपालमा चलाइन्छ ?

काठमाडौं । नेपाली थिएटरमा बलिउड र हलिउड सिनेमा बाक्लै रिलिज हुन्छन् । प्रायः ठूला स्टार र ब्यानरका हिन्दी र अंग्रेजी चलचित्र नेपालका थिएटरमा छुट्दैनन् । नेपालमा नेपाली चलचित्रभन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रको प्रतीक्षा हुने गरेको कसैबाट छिपेको छैन । चर्चा र प्रतीक्षा मात्र होइन, विदेशी सिनेमाले राम्रै ग्रस कलेक्सन पनि गर्दै आएका छन् ।

स्रोतका अनुसार ‘केजीएफ च्याप्टर–२’ ले नेपालबाट पाँच करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पछिल्लो समय प्रदर्शन भएका ‘आरआरआर’ र ‘पुष्पा’ले पनि राम्रो कमाइ गरेका थिए । भारतीय ठूलो ब्यानरका चलचित्रले नेपालमा एकाधबाहेक राम्रै ग्रस कलेक्सन गर्दै आएका छन् ।

विदेशी भाषाका चलचित्रले राम्रै व्यापार गर्ने भएपछि नेपाली वितरकले भारतबाट चलचित्र किनेर नेपाल ल्याउने गरेका छन् । भारतीय चलचित्र किनेर र अंग्रेजी चलचित्र कमिसनमा नेपाल ल्याइन्छ । कमिसनमा ल्याइने चलचित्रको व्यापार जति हुन्छ, त्यसकै आधारमा उनीहरूले नेपालबाट पैसा लैजान्छन् । तर, बलिउड सिनेमा भने वितरकले खरिद गर्दै आएका छन् ।

नेपालमा पछिल्लो समय महँगोमा खरिद गरिएका चलचित्र ‘केजीएफ’, ‘आरआरआर’, ‘बाहुबली’लगायत हुन् । अहिले हलमा प्रदर्शनरत चलचित्र ‘लाल सिंह चड्डा’ पनि निकै महँगो मूल्यमा खरिद गरिएको चलचित्र हो । चलचित्र वितरक मनोज राठीका अनुसार ‘लाल सिंह चड्डा’ दुई करोड रुपैयाँमा किनिएको हो । यसको व्यापार भने अपेक्षित छैन । नेपालमा मात्र होइन, भारतसहित विश्वभरि नै यो चलचित्रको कलेक्सन निकै निराशाजनक छ ।

नेपालमा हालसम्म सबैभन्दा बढी मूल्यमा खरिद गरिएका चलचित्र दुई करोड रुपैयाँका हुन् । ‘लाल सिंह चड्डा’ नै यो मूल्यमा किनिएको पहिलो चलचित्र भने होइन । यसअघि पनि दुई करोडमा नेपाली वितरकले हिन्दी चलचित्र खरिद गरिसकेको चलचित्र विकास बोर्डका एक अधिकारी बताउँछन् ।

“भारतबाट हालसम्म सबैभन्दा महँगो दुई करोड रुपैयाँसम्ममा चलचित्र किनिएको छ । पाँच लाखदेखि दुई करोड रुपैयाँसम्ममा हिन्दी चलचित्र किनिएको रेकर्डले देखाउँछ,” बोर्डका ती अधिकारी भन्छन् । यसबाहेक पनि कमिसनमा वितरकको केही रकम खर्च हुन सक्ने उनको भनाइ छ ।

चलचित्र विकास बोर्डले नेपाली वितरकले विदेशी भाषाको चलचित्र किन्ने बेलामा अनुमति दिन नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्छ । राष्ट्र बैंकले बोर्डको सिफारिसानुसार वितरकलाई अनुमति प्रदान गर्छ । नेपाली वितरकले एसबीआई र एभरेस्ट बैंकमार्फत विदेशी वितरकलाई पैसा पठाउँछन् ।

यसरी बर्सेनि ठूलो परिमाणमा नेपाली पैसा चलचित्रमार्फत विदेश जाने गरेको छ । एकातिर नेपाली रकम विदेश जाने र अर्कोतर्फ नेपाली चलचित्रभन्दा विदेशी चलचित्र प्रदर्शकको प्राथमिकतामा पर्ने गरेका कारण नेपाली सिनेमा मारमा परेको नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरूले बताउँदै आएका छन् । नेपाली चलचित्रको प्रवर्द्धनका लागि विदेशी चलचित्रलाई रोक्नुपर्ने अथवा कम गर्नुपर्ने केही निर्माता तथा निर्देशकले आवाज उठाउँदै आएका छन् ।

अहिले अध्यक्ष बनेर बोर्डको नेतृत्त्व गर्न पुगेका भुवन केसीले पनि हिन्दी चलचित्रका कारण नेपाली निर्माता मारमा परेको र नेपाली चलचित्रको बजार खुम्चिएको भन्दै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने माग उठाउँदै आएका थिए । आफैँले उठाउँदै आएको माग पूरा गर्न उनले पहल गर्छन् वा गर्दैनन्, त्यो त केही समयपछि देखिने नै छ । तर, अहिले भने आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि भुवनले दीर्घकालीन महत्त्वका विषयमा काम सुरु गरेका छैनन् ।

बोर्डका पूर्वअध्यक्षहरू भने विदेशी भाषाका चलचित्रलाई केही मिनिमाइज गर्न सकिने तर चल्नै नदिने भन्ने अहिलेको खुला बजारमा सम्भव नरहेको र व्यावहारिक पनि नहुने बताउँछन् । “आफू जिम्मेवारीमा नपुग्दा पुगेको मान्छेको आलोचना गर्न अस्वाभाविक र असान्दर्भिक माग उठाउने हाम्रो रोग नै हो,” एक पूर्वअध्यक्ष भन्छन्, “तर, कुनै पनि विदेशी भाषाको चलचित्र चलाउनै दिनु हुन्न भन्नु व्यावहारिक र सान्दर्भिक हुँदैन ।” यद्यपि, हिन्दी भाषामा डब गरिएका अरू चलचित्रलाई भने लगाउन दिने वा नदिने त्यसमा बहस गरेर निष्कर्षमा पुग्न सकिने उनको तर्क छ ।

बलिउडका ठूला ब्यानरका चलचित्रको रिलिज क्यालेन्डर हेरेर नेपाली निर्माताले आफ्नो चलचित्रको रिलिज डेट लिने गरेका छन् । अर्ब लगानीमा बन्ने बलिउड र हलिउडका चलचित्रसँग एक/डेढ करोडमा बनेका नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न नसक्ने तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा नेपाली निर्देशक तथा निर्माताको जोड छ ।

तर, नेपाली सिनेमा घरलाई अक्सर बिजनेस दिने र टिकाउने भने हिन्दी सिनेमा नै रहेको चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ बताउँछन् । निर्माण हुनेमध्ये पाँच प्रतिशत नेपाली चलचित्रले मात्र सन्तोषजनक कलेक्सन गर्छन् । वर्षमा चल्ने पाँच प्रतिशत चलचित्रले मल्टिप्लेक्सको महँगो खर्च धान्न नसक्ने उनको भनाइ छ ।

सिनेमा घर ‘रन’ गर्न उच्च कलेक्सन गर्ने चलचित्र चाहिन्छ । त्यसको माग बलिउड सिनेमाले पूरा गरिरहेका छन् ।

अप्ठ्यारो अवस्थामा नेपाली निर्माता/निर्देशक पनि भारतीय सिनेमाकै भर पर्ने गरेका छन् । कोभिड–१९ संक्रमणको त्रासका कारण लामो समय हल बन्द भएर खोल्ने निर्णय गर्दा चलचित्र हेर्न दर्शक हलमा जान्छन् कि जाँदैनन् भन्ने संशय रहँदा नेपाली निर्देशक तथा निर्माताले बलिउड सिनेमा ‘सूर्यवंशी’ कुरेर बसेका थिए । यो चलचित्रले दर्शक हलमा जान तयार रहेको पुष्टि गरेपछि नेपाली मेकर आफ्नो चलचित्र रिलिज गर्न तयार भएका थिए ।

“हलमा च्वाइस भएन भने दर्शक आउँदैनन् । दर्शकलाई हलमा तान्न र सिनेमा कल्चरको विकास गर्न पनि हिन्दी, अंग्रेजी सिनेमा चाहिन्छ,” नेपाली सिनेमा वितरक तथा हल सञ्चालकसमेत रहेका उपाध्यक्ष कायस्थ भन्छन्, “जति धेरै विविधता भयो सिनेमा हेर्ने दर्शकको संख्या बढ्छ, विस्तारै सिनेमा कल्चर पनि बढ्छ ।”

नेपाली सिनेमा मात्र लगाउँछु भन्नु गलत धारणा र बुझाइ रहेको कायस्थ बताउँछन् । खुला बजारमा प्रवेश गरिसकेको समाजमा एकले अर्कोलाई प्रतिबन्ध लगाउँछु भन्नु जायज नहुने उनको धारणा छ । “हामी विश्व बजारमा जाने प्रयास गरिरहेका छौँ । अहिले प्रेम गीत–३ हामी भारतमा लगाउन खोजिरहेका छौँ,” कायस्थ प्रश्न गर्छन्, “हामीलाई भारतले तिमीहरूको चलचित्र लगाउन दिँदैनौँ भन्यो भने के हुन्छ ?”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro