काठमाडौं । प्रशिक्षकद्वय एन्टोनियो कोन्टे र थोमस टुचेल दुवैले रातो कार्डको सामना गरेको खेलमा आइतबार राति टोटनहम र चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा २–२ को बराबरी खेलेका छन् ।
रेफ्रीले अन्तिम सिटी फुकेपछि कोन्टे र टुचेलबीच घम्साघम्सी भएको थियो । अनि, दुवैले रातो कार्डको सामना गरेका थिए । खेल सकिएपछि दुवैले हात मिलाएका थिए । तर, टुचेलले कोन्टेको हात छाडेनन् र कोन्टेलाई आफ्नो आँखामा हेर्न भने । त्यसपछि स्ट्यामफोर्ड ब्रिजको टचलाइनमा दुई प्रशिक्षकबीच धकेलाधकेल भयो । लगत्तै उनीहरू दुवैलाई रातो कार्ड देखाइएको थियो ।
दुईजनाबीच खेलकै क्रममा भनाभन भएको थियो । ६८औँ मिनेटमा टोटनहमका पियरे–एमिल होज्बजर्गले बराबरी गोल फर्काएका थिए । त्यसको खुसी मनाउने क्रममा टोटनहमका प्रशिक्षक कोन्टे चेल्सीका प्रशिक्षक टुचेल नजिक गएर छातीमा छाती जुधाएका थिए । टुचेलले कोन्टेलाई औँल्याएर आफ्नो टचलाइनमा बस्न भनेका थिए । कोचिङ स्टाफ र वैकल्पिक खेलाडीले यी दुईलाई छुट्ट्याएका थिए ।
७७औँ मिनेटमारिसे जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो । त्यसको खुसी मनाउने क्रममा टुचेलले कोन्टेलाई पछि पार्दै झन्डै ३० यार्डभन्दा लामो दूरी दौडिएका थिए । इन्ज्युरी समयमा ह्यारी केनले बराबरी गोल फर्काएपछि दुवैले अंक बाँडे । त्यसअघि, १९औँ मिनेटमा कालिडोउ काउलिबेलेले गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो ।
“मलाई लाग्यो, जब हामी हात मिलाउँछौँ, एकार्काको आँखामा हेर्नुपर्छ । तर, एन्टोनियोको फरक राय थियो,’’ टुचेलले कोन्टेसँग खेलपछिको झगडाका बारेमा भने, “उनीहरूले बराबरी गरेपछि धेरै खुसी थिए । त्यसकारण माहोल अलि तातो बन्यो । तर, यो ठूलो कुरा होइन... मलाई लाग्छ कि यो आवश्यक थिएन । धेरै चिजहरू आवश्यक थिएनन् । तर, भए ।’’
५७औँ मिनेटमा रिचार्लिसन मैदान छिरेपछि टोटनहमको खेलमा सुधार आएको थियो । जसका कारण टोटनहम चेल्सीसँग लगातार पाँचौँ हारबाट जोगियो । तीन अंक जोड्न सफल भयो । टोटनहमले सन् १९९२ मा प्रिमियर लिग सुरु भएपछि स्टामफोर्ड ब्रिजमा एकपटक मात्र विजय हासिल गरेको छ ।
बराबरीसँगै दुवै टिमले दुई खेलबाट चार अंक जोडेका छन् । यसअघि, पहिलो खेलमा चेल्सीले एभर्टनलाई १–० ले हराएको थियो । टोटनहमले साउथह्याम्पटनलाई ४–१ ले पराजित गरेको थियो ।
नटिङघम फरेस्टको पहिलो जित
नटिङघम फरेस्टले २३ वर्षपछिको पुनरागमनपश्चात् पहिलो जित हासिल गरेको छ । १९९९ पछि पहिलोपटक घरेलु मैदानमा खेलेको नटिङघम फरेस्टले गए राति वेस्ट ह्यामाथि १–० को विजय हासिल गरेको हो ।
घरेलु टोलीको जितमा ताइवो एओनीयीले ४५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । नटिङघम फरेस्टका ब्रेनान जोनसनले ५४औँ मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो । ६५औँ मिनेटमा डेक्लान रिसे पेनाल्टीमा गोल गर्न चुक्दा वेस्ट ह्याम अंक बाँड्नबाट चुक्यो ।
वेस्ट ह्याम यसअघि म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो । नटिङघम फरेस्ट न्युक्यासल युनाइटेडसँग २–० ले हारेको थियो ।