site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलमकै बेइज्जत होला भन्ने डर भयो
Tiktok banner adTiktok banner ad

नेपाली हास्यव्यंग्य विधामा चट्याङ मास्टरको आफ्नै स्थान छ । छोटो तर चोटिलो व्यंग्य कविता लेखेर सबैलाई थर्कमान बनाउने चट्याङ मास्टर (कृष्णमुरारी गौतम)का दर्जनौँ पुस्तक प्रकाशित छन् । प्रस्तुत छ, गाईजात्राको सन्दर्भ पारेर गौतमसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश :

गाईजात्रा गाईजात्राजस्तो छैन भनिन्छ नि ! तपाईंलाई पनि त्यस्तै लाग्छ ? 
हो पनि । आजभोलि गाईजात्रा गाईजात्राजस्तै छैन । जबकि, हामी गाईजात्रालाई एउटा महान् चाड र पर्वका रूपमा मनाउँथ्यौँ । त्यसबखत जुन कुरा ठाडै भन्न पाइन्थेन, त्यसलाई हास्य र व्यंग्यमा मिसाएर भन्नका खातिर यो दिन कुरेर बस्थ्यौँ । खास महत्त्व थियो गाईजात्रा हास्यव्यंग्य कार्यक्रमको । सत्ता र सरकारकै अगाडि घोचपेच गर्दा सबैले ‘वाह !’ भन्थे । त्यस बेलाका व्यंग्य चोट सुनिन्थ्यो पनि । त्यसअनुरूप सुधार पनि हुन्थ्यो ।

एक समय थियो, गाईजात्रामा भनिएका व्यंग्यवाण चेतनशील वर्गले ग्रहण गर्थे । मदनकृष्ण–हरिवंशले गरेको व्यंग्यले नीतिगत पक्षमा, प्रशासनजगत्मा सुनिन्थ्यो । आमदर्शकले त त्यो कति मन पराउँथे कति । अचेल त ३६५ दिन, २४सै घण्टा गाईजात्रा चलिरहेको छ । राजनीतिमा पनि । प्रशासनमा पनि । यस्तोमा के हास्यव्यंग्य लेख्ने !

कस्तो किसिमको गाईजात्रा होला यो ?
अब हेर्नुस् न, केपी ओलीले भ्रष्टाचार रोक्ने रे ! सुन्दै हाँसो उठ्ने कुरो । ज्योतिषीले अर्कोचोटि पनि प्रधानमन्त्री हुन्छस् भनिदिएको छ, त्यसैले प्रधानमन्त्री हुनुु नै छ । प्रधानमन्त्री हुने त देश र जनताको उन्नति प्रगतिका लागि न हो । ज्योतिषीले भन्यो भन्दैमा हो र ! देशका लागि, जनताका लागि मैले यो यो काम गर्छु भनेर कार्ययोजनासहित पो प्रधानमन्त्री हुनेले पदको दाबी गर्नुपर्ने होइन र ?

गाईजात्राको सांस्कृतिक महत्त्व त यथावत् छ नि !
गाईजात्राको आफ्नै सांस्कृतिक महत्त्व छ । यो हाम्रो धार्मिक–सांस्कृतिक पर्व हो भन्ने कुरो कसैबाट लुकेको छैन । तर, राजनीति गर्नेले राजनीतिसँगै संस्कृति, भाषा, साहित्य सबैतिर गाईजात्रा देखाइदिएपछि त छुट्ट्याउनै पो गाह्रो भएको छ, कुन दिन गाईजात्रा हो कुन दिन गाईजात्रा होइन । धन्न, यसको परम्परागत र सांस्कृतिक पक्षमाथि कसैले हमला गर्न सकेका छैनन् ।

जहाँसम्म गाईजात्राका अवसरमा भनिँदै आइएका जति पनि कुरा थिए, त्यसको दर्कार नै रहेन अब । त्यो नेताहरू आफैँले गर्दै हिँडे, भन्दै हिँडे । पोहोरको गाईजात्रा कार्यक्रममा नै हो, सिस्नुपानी नेपालले सबै नेता, कर्मचारी, लब्धप्रतिष्ठित व्यक्तिहरूलाई अगाडि राखेर प्रज्ञा भवनमा हास्यव्यंग्य सुनाएको । तर, तिनले त्यो सुने मात्रै । बाँकी क्यै गरेनन् । लाग्छ, गाईजात्राको उत्सुकतापूर्वक पर्खिने दिन मात्रै होइन, यसको महत्त्व र गरिमा पनि यिनले सिध्याइसके । किनभने, यिनले उद्योगधन्दा, कलकारखाना, कृषि व्यवसाय सबै सिध्याएका त थिए नै । एउटा गाईजात्रा बाँकी थियो, त्यो पनि सिध्याए ।

सांस्कृतिक रूप नै पनि सिध्याउँथे कि ?
त्यो त तिनले नबुझेर सिध्याउन नसकेका हुन् ! गाईजात्राको सांस्कृतिक पक्ष बडो गहिरो र गम्भीर छ । प्रताप मल्लदेखि जोडिएको इतिहास छ, गाईजात्राको । यसमा मनोविज्ञानका कुरा पनि जोडिएका छन् । मृत्यु भएको परिवारका व्यक्तिको सम्झना त गरिन्छ नै यो पर्वमा । त्यसबाहेक थोरै हास्यव्यंग्य मिसाएर घोचपेच पनि गरिन्छ । कतिपय कुरामा मनको भँडास पनि निकालिन्छ ।

प्रजातन्त्रमा त गाईजात्रा हास्यव्यंग्य झन् व्यापक हुनुपर्ने होइन ? 
(हाँसो) अहिले प्रजातन्त्र भनिन्छ । प्रजातन्त्रमा दलहरू हुन्छन् भनिन्छ । तर, आज पाँच/छवटा दलहरू एकै ठाउँमा जुटेका छन् । ठगबन्धन कि गठबन्धन के हो ! यस्तोमा सत्तापक्ष र प्रतिपक्ष भन्ने के नै रह्यो र । सबै दल एकै ठाउँमा गुटमुटिएपछि त्यो निर्दल भएन र ? त्यही निर्दलले दुःख दियो भनेर देशमा बहुदल ल्याएको होइन ? बहुदल–बहुदल सबै एकै ठाउँमा मिसिएपछि त त्यो निर्दल नै भयो नि । अनि, यस्ता निर्दलबाट जनताले के आस गर्ने ?

त्यति बेला दोष लगाउँदा राजालाई मात्रै दोष लगाउँदा पुग्थ्यो । अहिले त कतिवटा दललाई दोष लगाउनु ! दोष लगाउन पनि गाह्रो भइसक्यो । वास्तवमा, राजनीतिमा जिम्मेवार भन्ने नै कोही भएनन् । सबै बिग्रिएको नेताहरूले गर्दा हो ।

सबै बिग्रिएकोले व्यंग्य गर्न पनि गाह्रो भयो ?
उहिले यसो हल्का रूपमा घोचघाच गरेर केही भनेको भन्दै हामी हास्यव्यंग्य प्रस्तुत गर्दथ्यौँ । हास्यव्यंग्यको यस पर्वमा हाम्रो चाहना हुन्थ्यो, हामीले भनेका कुरा अगाडि सुन्न बसेकाहरूले गम्भीर रूपमा लिऊन् । र, लिन्थे पनि । मदनकृष्ण–हरिवंश यसका उदाहरण हुन् । तर, आज त जगल्टा समाएर पिठिउँमै हान्दा पनि केही हुँदैन तिनलाई ! चेतना नै नभएका नेता छन् । चेतना नै नभएका प्रशासक छन् । यस्तोमा के गाईजात्रा गर्ने ? के कल्पना गर्ने ? गाईजात्रा त तिनले नै गरिरहेका छन् । सबै पैसाका पछाडि लागिरहेका छन् । अब अहिलेका अर्थमन्त्री कसरी मन्त्रालयबाट निक्लिए अनि फेरि कसरी फर्किए ! पत्रपत्रिकाहरूबाट हामीले थाहा पाइरहेका नै छौँ । सबैजना गैरजिम्मेवार छन् ।

उता हेर्नुस्, काठमाडौंमा फोहोर उठेको छैन । जबकि, फेसबुकमा हेर्‍यो भने सबैको बुद्धि फुरेको देखिन्छ । बालेनले यस्तो गर्नुपर्छ, बालेनले उस्तो गर्नुपर्छ भन्नेहरूको लर्को छ । अब बालेन एक्लैले के गर्न सक्छन् ? जबकि, वडाध्यक्ष र सदस्यहरू कस्ता–कस्ता छन् लाइभ भिडियोमा सबैले देखेकै हुन् । सबैतिर विकृति नै विकृति । गाईजात्रा त तिनैले देखाएनन् र !

पहिलेजस्तो लेख्न छोडनुभएको छ । यिनै कारणले हास्यव्यंग्य लेखनप्रति वितृष्णा जागेको हो ?
पक्कै हो । वास्तवमा व्यंग्यवाण हान्नु भनेको वैकल्पिक दृष्टिकोण दिनु हो । घुमाउरो शब्दमा वैकल्पिक विचार प्रस्तुत गर्नु हो । तर, आजभोलि विचारको के नै अर्थ छ र ! आज यस्ता मानिस राजनीतिमा छन्, तिनलाई सम्झेर लेख्दा कलमको बेइज्जत होला भन्ने डर भयो । त्यसैले सरस्वतीको प्रेरणाबाट प्राप्त पवित्र लेखन यस्ता प्रवृत्तिका व्यक्तिहरूमाथि कसरी लेख्नु भनेरै पनि नलेखेको हुँ । फेरि, लेखेर सुध्रिने आस भए पो व्यंग्यका माध्यमबाट तिनलाई केही भन्नु । तिनमा सुध्रिने छाँट छैन । साँच्चै भन्ने हो भने गाली गर्न लायक पनि यिनको योग्यता छैन । राजनीति गर्ने नेता भनेको त्यो हो, जसले देशलाई अगाडि डोर्‍याउँछ । जसले देशलाई उन्नति–प्रगतिको बाटो देखाउँछ । यदाकदा त्यसमा कोही चुके भने हास्यव्यंग्यका माध्यमबाट व्यंग्यकारहरूले तिनलाई बाटो देखाउने प्रयास गर्छन् । तर, आज त्यो अवस्था ठ्याम्मै छैन ।

हास्यव्यंग्यको स्थिति खस्कँदै गएको हो त ?
त्यसो पनि होइन । त्यो भन्न मिल्दैन । हास्यव्यंग्य लेख्न अहिले पनि सकिन्छ । त्यसमा अहिले पनि लेखकहरू समर्थ छन् । लेखिरहेका पनि छन् । तर, व्यंग्यले दिने चेतना, वैकल्पिक दृष्टिकोण र विचारप्रति नेता र सरोकारवालाहरूको ध्यान छैन । त्यसैले गर्दा जाँगर नै लाग्दैन । मैले ‘मागने’ शीर्षकमा कविता लेखेको थिएँ । कविताले भन्छ–
मागने 
अब यस्तरी मागने 
विश्व थर्काइ मागने
जति देश र संस्था छन्
एउटै नछोडी मागने  
ऋण, दान, अनुदान 
जे मिल्छ त्यही मागने
माग्दा माग्दा धनी हामी
दिने बन्नेछ मागने ।

यो मैले व्यंग्य लेखेको हो । ए लौन, नमाग हौ, कति माग्छौ भन्नलाई घोचपेच गरेको हो । भइदियो के भने, नेताहरूका लागि यसले गणितको सूत्रको काम गर्‍यो । यो त नेताहरूलाई विदेशीसँग माग्न सिकाएजस्तो पो भयो । अनि त माग्या माग्यै छन् सरकारमा बस्नेहरू । यही कविताअनुसार मागेको मागेकै गरे । अमेरिकासँग मागे, भारतसँग मागे, चीनसँग मागे । मेरो व्यंग्यकवितालाई तिनले गणितको सूत्र बनाए र मागेको मागेकै गरे । हैट ! हामी व्यंग्य लेख्ने, तिनले त्यसलाई सुल्टो बुझेर त्यहीअनुसार काम गर्ने । विडम्बना ।

सबैभन्दा दुःखको कुरो के भने, ‘देश बनाउँछन्, समाज बनाउँछन्’ भनेर ल्याएका नेताले नै राज्यको हितविपरीत, जनताको हितविपरीत काम गरिरहेका छन् ।

हास्यव्यंग्य संसारको जुनसुकै ठाउँमा पनि फस्टाएको पाउनुहुन्छ । तर, नेपालमा नेताले हास्यव्यंग्य पनि सिध्याउन थालिसके । धन्न गाईजात्रा छ, नेपालीको एउटा सांस्कृतिक पर्व । एउटा समुदायबाट आएको चाड अहिले राष्ट्रिय चाडका रूपमा देशभरि मनाइँदै आएको छ । त्यसमा हामीले गर्व गर्नुपर्छ ।

गर्व गर्दागर्दै पनि धेरै कुरा हराएर गयो !
गाईजात्रामा गरिने सामाजिक महत्त्वका व्यंग्य हराएर मात्रै गएन, अपितु त्यसको महत्त्व पनि गुमेको छ । पहिले–पहिले ‘न्यायाधीशले घुस खायो’ भन्नु कडा व्यंग्य हुन्थ्यो । किनभने, न्यायाधीशको स्वच्छताले समाजमा ठूलो अर्थ राख्थ्यो । अहिले त घुसै खाइसके ! यस्तोमा अब के गर्ने भन्नुस् त ! केपी ओली प्रधानमन्त्री हुँदा भयानक व्यंग्य देखाए । उता भएका हेल्थपोस्टहरूमा हेल्थ असिस्टेन्ट छैनन् । यता उनले तीन सयवटा अस्पताल एकैचोटि उद्घाटन गरिदिए । योभन्दा ठूलो व्यंग्य अरू के हुन्छ ? अब त धरातलीय सत्य नै त्यस्तै भइदिएको छ, जसले व्यंग्यलाई पन्छाइदिएको छ । यथार्थ नै बांगो भइदिएपछि व्यंग्यमा बांगो कसरी भन्न सकिएला ।

भाषागत रूपमा पनि व्यंग्य लेख्न गाह्रो भएको हो ?
व्यंग्य लेख्दा प्रायः प्रयोग हुने शब्दहरू नै हराएर गएको छ । कतिपय ठेट र झर्रो शब्द लेख्नै पाइँदैन । कुरो घुमाएर भन्न खोज्दा धेरै ठेट शब्दहरूको आवश्यकता पर्दछ । तर, भाषा पनि प्रयोग गर्न नपाइने भयो ! त्यसैले व्यंग्य लेखनलाई चाहिने धेरै कुरा हराएर गएको छ । त्यस्तोमा कसरी लेख्ने व्यंग्य लेखकले ? शब्दको प्रतिबन्ध, अक्षर हराउनु, यी सबै कारणले व्यंग्य लेखन पनि सिद्धिँदै गएको छ भन्दा हुन्छ । राजाका विषयमा केही लेख्यो कि यो त राजावादी भनेर धुस्नै बनाउँछन् । आफ्नो लेखमा लेखकले ‘रोयल’ शब्द पनि लेख्न सक्दैन । ‘आज मैले रोयल खाना खाएँ’ लेख्दा पनि राजवादी भन्ने टिप्पणी आउन सक्छ । त्यसैले लेखन कठिन भएर गएको छ । व्यंग्यमा छड्के हानिन्छ नै । भोलि यिनले छड्के साहित्य नै पनि बन्द गरिदिन सक्छन् । यिनले के गर्छन् र के गर्दैनन् भन्ने ठेकान नै छैन । यिनलाई मध्यनजर राखेर नेपाल र नेपाली भाषा, संस्कृति, साहित्यबारे केही पनि बोल्न सकिन्न । यिनीहरू नेपाल र नेपालीको हितका लागि आएका नै हैनन् । यिनको व्यवहारबाट देशको माया नै देखिँदैन ।

पुराना हास्यव्यंग्य लेखक हराएर गए । नयाँ पनि नआउनुलाई कसरी हेर्नुहुन्छ ?
ठिक भन्नुभयो । हास्यव्यंग्य लेखक काठमाडौंभित्र पनि थिए, काठमाडौं बाहिर पनि उत्तिक्कै थिए । ऊ बेला सबैले तारन्तार लेखिरहेका पनि थिए । पत्रपत्रिकाले ठाउँ पनि दिएका थिए । तर, अहिले हराएको छ । यसको मूल कारण हो, राजनीतिक अस्थिरता । राजनीति गर्नेहरूको दिमाग नै अस्थिर भएकोले राजनीति स्थिर हुन सकेको छैन । वास्तवमा अस्थिर मनस्थिति भएकाहरूको झुन्डलाई हामी नेता भनिरहेका छौँ । जबकि, यिनीहरू नेता हैनन् । नेता भएको भए यिनले देश बनाइसक्थे । मेरो तीन क्लासमा पढ्ने नातिनीको कापी त्यति केरमेट गरिएको छैन, जति यिनले नेपालको संविधान केरमेट गरेका छन् । संविधान त त्यति मैलो भइसकेको छ भने देशको अवस्था आफैँ विचार गर्नुस् ।

अस्ति सुन्नुभयो प्रचण्डले भनेको, ‘यसपटक माओवादीले जितेन भने देश भयंकर खाल्डोमा जान्छ’ अरे ! बेतर्कका कुरा गर्छन् नेता आफैँ । वास्तवमा तिनलाई तर्क भनेकै थाहा छैन । अनि, आफैँ हास्यव्यंग्य बोल्दै हिँडछन् ।

मैले लेखेको एउटा व्यंग्य कविता सम्झना भयो–
यो देश कसको
जनताको
जनता कसको 
नेताको
नेता कसको 
पैसाको 
पैसा कसको 
विदेशीको
विदेशी कसको 
पैसाको !

त्यस्तै अर्को–
यो देश कसको
जनताको
जनता कसको 
नेताको
नेता कसको 
पैसाको 
पैसा कसको 
विदेशीको
यो देश कसको 
कसको कसको !

देशप्रति जिम्मेवार भएको मान्छे नै कोही भेटिएन भन्ने सन्दर्भमा मैले यो कविता लेखेको थिएँ । तर, आज त यही नै सत्य भएर गएको छ । कसैलाई देशप्रति मतलब छैन ।

यति बेला राजनीतिक व्यंग्य अप्ठेरोमा परेको छ । तथापि, व्यंग्य लेखकहरूले समाजका लागि, देशका लागि, जनताका लागि व्यंग्य लेख्दै जानुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro