धनगढी । धनगढीमा प्रमुख चुनावी एजेन्डा बन्ने छाडा चौपाया व्यवस्थापनको समस्या विकराल बन्दै गएको छ । छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारले लाखौँ खर्च गर्दा पनि समस्या उस्तै छ ।
प्रदेश र स्थानीय तहले आ–आफ्नै तरिकाले छाडा चौपायाको समस्या समाधानका लागि प्रयास गरेका छन् । तर, अधिकांश योजना असफल भएका छन् ।
बजार क्षेत्रमा छोडिएका यस्ता चौपायाले सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको धनगढी उपमहानगरपालिका–२, बैयाबेहेडीका ईरिक्सा चालक हर्ष स्वाँरले बताए । छाडा चौपायाले सडक दुर्घटनाको जोखिम समेत हुने गरेको छ ।
छाडा चौपायाको समस्या समाधानका लागि स्थानीय तहले वार्षिक रूपमा बजेट विनियोजन गरी खर्च गरे पनि समस्या झन् विकराल बन्दै गएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । छाडा पशुचौपायालाई व्यवस्थापन गर्न निजी क्षेत्र सरकारी निकायसँग हातेमालो गरी अगाडि बढ्न तयार रहेको उनले बताए ।
छाडा चौपाया दिउँसो सडक क्षेत्रमा बस्ने र रातिको समयमा किसानले लगाएको अन्नबाली खान जाने हुँदा रातभर जागराम बस्नुपर्ने बाध्यता रहेको धनगढी–६ का स्थानीय धनबहादुर रावलले गुनासो गरे ।
धनगढीका मुख्य व्यापारिक केन्द्र, सडक, गल्ली–गल्लीमा छाडा पशुचौपायाको भिड देखिने गरेको छ । छाडा पशुचौपायाका कारण सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वकिल सिंहले बताए ।
छाडा चौपाया व्यवस्थापनका लागि धनगढी उपमहानगरले नीति तथा कार्यक्रममा कार्यक्रम राखेको र समुदायसँगै सहकार्य गरेर व्यवस्थापन गरिने नगर प्रमुख गोपाल हमालले बताए ।